ठमेलको होटलमा बसेर विदेशी युवतीको फेक अकाउन्ट बनाएर ब्ल्याकमेल, १५ बंगलादेशी नागरिक पक्राउ
सारांश
- काठमाडौँको ठमेल र आसपास अवैध गतिविधिमा संलग्न १५ बंगलादेशी नागरिक पक्राउ परेका छन्।
- उनीहरूले फेसबुकमा विदेशी युवतीको नक्कली अकाउन्ट बनाएर बंगलादेशी र भारतीय नागरिकहरूलाई ब्ल्याकमेल गरी रकम असुल्ने गरेका थिए।
- पक्राउ परेका सबैलाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धानका लागि अध्यागमन विभागमा पठाइएको छ।
काठमाडौँ । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेल र आसपासलाई केन्द्रबिन्दु बनाएर अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई काठमाडौँ महानगरपालिका वडा नं. १६ पकनाजोलस्थित होटल एसबाट पक्राउ गरेको हो।
भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत शङ्कास्पद रूपमा बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले जेठ १५ गते उक्त होटलमा छापा मारेको थियो। अनुसन्धानका क्रममा पक्राउ परेका बंगलादेशी नागरिकहरूले होटल एसको चौथो, पाँचौँ र छैटौँ तल्लाका कोठाहरू भाडामा लिएर अवैध धन्दा चलाइरहेको खुलेको छ।
उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा विदेशी मोडल तथा युवतीहरूको नक्कली अकाउन्ट बनाएर बंगलादेशी र भारतीय नागरिकहरूलाई तारो बनाउने गरेका थिए। युवतीका नामबाट सर्वसाधारण पुरुषहरूलाई साथी बनाउने, कुराकानी गर्ने र पछि विभिन्न बहानामा ब्ल्याकमेल गरी मोटो रकम माग गर्ने जस्ता साइबर अपराध र अवैध गतिविधिमा उनीहरू संलग्न रहेको अवस्थामा फेला परेका हुन्।
पक्राउ पर्नेहरूमा २५ वर्षका एमडी मजिदुल इस्लाम रेदोय, २२ वर्षका सफिउल इस्लाम, २२ वर्षका अपोन चन्दा साहा, २६ वर्षका अब्दुल्लाह अल जोबाएर, २६ वर्षका अबुल हस्नाई र २४ वर्षका अल शाहरियार रहेका छन्। यसैगरी ३० वर्षका फैसल, २५ वर्षका आजाद हुसेन, १९ वर्षका एमडी अजमैन, २० वर्षका एमडी तमिम हसन सौरभ, २० वर्षका एमडी जकारिया जन्नात, २४ वर्षका साकिल अनवर, २१ वर्षका हरजोत बिल्लाल राफत, २५ वर्षका ओमित हसन शेकात र ३० वर्षका एमडी इस्माम हसन स्वाधीन पनि पक्राउ परेका छन्। पक्राउ परेका यी सबै बंगलादेशी नागरिकहरू हाल काठमाडौँ महानगरपालिका वडा नं. १६ मा बस्दै आएका थिए।
अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका सबै विदेशी नागरिकहरूलाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण