बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अफ्रिकाबाट निष्क्रिय एमपक्स भाइरस अमेरिका ल्याएको आरोपमा दुई वैज्ञानिकमाथि मुद्दा

बुधबार, २० जेठ २०८३, १२ : ०३
बुधबार, २० जेठ २०८३

सारांश

  • अमेरिकाको एक सरकारी अनुसन्धान प्रयोगशालामा कार्यरत दुई वैज्ञानिकमाथि अफ्रिकाबाट निष्क्रिय एमपक्स भाइरसका नमुना अमेरिका ल्याएको आरोपमा मुद्दा दायर गरिएको छ ।
  • मिसिगन राज्यको डेट्रोइटस्थित संघीय अदालतमा मोन्टाना राज्यको रकी माउन्टेन प्रयोगशालाका प्रमुख भिन्सेन्ट मन्स्टर र उनका सहकर्मी क्लाउड क्वेविरुद्ध फौजदारी अभियोग लगाइएको हो ।
  • उनीहरूले भन्सार अधिकारीलाई झूटो जानकारी दिएको र आवश्यक सरकारी अनुमति नलिई जैविक नमुना लुकाएर अमेरिका भित्र्याएको आरोप छ ।

वासिङ्टन डीसी । अमेरिकाको एक सरकारी अनुसन्धान प्रयोगशालामा कार्यरत दुई वैज्ञानिकमाथि अफ्रिकाबाट निष्क्रिय पारिएको एमपक्स भाइरसका नमुना अमेरिका ल्याएको तथा भन्सार अधिकारीलाई झूटो जानकारी दिएको आरोपमा मुद्दा दायर गरिएको छ । 

मिसिगन राज्यको डेट्रोइटस्थित संघीय अदालतमा दर्ता गरिएको उजुरीअनुसार मोन्टाना राज्यको ह्यामिल्टन नगरस्थित रकी माउन्टेन प्रयोगशालाको भाइरस पारिस्थितिकी विभागका प्रमुख भिन्सेन्ट मन्स्टर  र उनका सहकर्मी क्लाउड क्वेविरुद्ध फौजदारी अभियोग लगाइएको हो ।

फ्रान्सको पेरिस हुँदै मध्य अफ्रिकास्थित कंगो गणतन्त्रको नौ दिने भ्रमण सकेर अमेरिका फर्किरहेका बेला जनवरी महिनामा मिसिगन राज्यको डेट्रोइट महानगर विमानस्थलमा दुवै वैज्ञानिकलाई रोकिएको थियो । संघीय अनुसन्धान ब्युरो (एफबीआई)का अनुसार मन्स्टरले आफूहरूसँग कुनै जैविक नमुना वा अनुसन्धान सामग्री नरहेको दाबी गरेका थिए । तर त्यसपछि गरिएको परीक्षणमा उनीहरूको साथमा निष्क्रिय एमपक्स भाइरस भएका सिसीहरू फेला परेका थिए ।

उनीहरूले ती नमुनाबारे भन्सार अधिकारीलाई जानकारी नदिएको र आवश्यक सरकारी अनुमति पनि नलिएको एफबीआईले जनाएको छ । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको महानिरीक्षक कार्यालयका अधिकारी मार्कस साइक्सले उचित अनुमति बिना जैविक सामग्री लुकाएर अमेरिका भित्र्याउने कार्यले सार्वजनिक विश्वासमा आघात पुर्‍याउने र जनस्वास्थ्यलाई जोखिममा पार्न सक्ने बताएका छन् । दुवै वैज्ञानिकले हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । उनीहरू बुधबार मोन्टाना राज्यको मिसौला नगरस्थित संघीय अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच)ले घटनाको अनुसन्धान जारी रहेको र आफूहरूले कानुन कार्यान्वयन निकायहरूसँग पूर्ण सहयोग गरिरहेको जनाएको छ । सरकारी कागजातमा वैज्ञानिकहरूले किन निष्क्रिय एमपक्स भाइरस आफ्नो प्रयोगशालामा ल्याउन खोजेका थिए भन्ने स्पष्ट गरिएको छैन । तर एफबीआईका अनुसार उनीहरू दुवै भाइरोलोजिस्ट हुन र एमपक्ससम्बन्धी अनुसन्धानमा लामो समयदेखि संलग्न छन् । एफबीआईका अनुसार मन्स्टरले विमानस्थलमा अधिकारीहरूलाई आवश्यक कागजात आफ्नो ल्यापटपमा भएको तर त्यसको आवश्यकता नपर्ने अनि आफूले सधैँ यस्तै गर्ने गरेको बताएका थिए । उक्त भनाइ भ्रामक र असत्य भएको आरोप अनुसन्धानकर्ताहरूले लगाएका छन् । 

के हो एमपक्स ?

एमपक्सलाई पहिले मंकीपक्स भनिन्थ्यो । यो एउटा भाइरल रोग हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार यसको प्रमुख लक्षण शरीरमा दाना देखिनु र ज्वरो आउनु आदि पर्छ । अधिकांश सङ्क्रमित व्यक्ति निको भए पनि केही अवस्थामा रोग गम्भीर बन्न सक्छ । यो भाइरस पहिलो पटक सन १९५८ मा बाँदरहरूमा देखिएको थियो । 

धेरै वर्षसम्म यसको सङ्क्रमण मुख्यतः मध्य र पश्चिम अफ्रिकामा सङ्क्रमित जनावरसँग सम्पर्कमा आएका मानिसहरूमा मात्र देखिन्थ्यो । तर सन २०२२ मा पहिलो पटक यो भाइरसको सङ्क्रमण यौन सम्पर्कमार्फत पनि सर्न सक्ने पुष्टि भयो । त्यतिबेला विश्वका ७० भन्दा बढी देशमा यसको सङ्क्रमण फैलिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप