शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप

शुक्रबार, २२ जेठ २०८३, ०९ : ४०
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • मोदी जलविद्युत् कम्पनीको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेको छ ।
  • अपर मोदी ए र अपर मोदी हाइड्रो परियोजनाको ठेक्का पाएको कम्पनीले अनुभवको प्रमाणपत्र किर्ते गरेको आरोप छ ।
  • उजुरीमा एचएनएसी–केईएम जेभीले योग्यता पूरा नगरेको र नक्कली कागजात प्रयोग गरेको दाबी गरिएको छ ।

काठमाडौँ । विद्युत् प्राधिकरणको सहायक कम्पनी मोदी जलविद्युत् कम्पनीको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेको छ । कम्पनीले सञ्चालन गरेको अपर मोदी ए र अपर मोदी हाइड्रो परियोजनाको ठेक्काको अवार्ड पाएको कम्पनीले पेस गरेको विड डकुमेन्टमा उल्लेखित अनुभवको प्रमाणपत्र नक्कली भएको भन्दै यस्तो उजुरी परेको हो ।

मोदी जलविद्युत्ले गत महिना स्वीकृत गरेको दुईवटा प्याकेजको टेन्डरको स्वीकृत गरेको थियो । उक्त ठेक्का पाएको एचएनएसी–केईएम जेभीले टेन्डरमा उल्लेखित शर्त पूरा गर्न गलत डकुमेन्ट प्रयोग गरेको दाबीसहित कम्पनीका प्रबन्ध निर्देशकसँग यसको छानबिन गर्न माग गरिएको छ । उक्त निवेदनको बोधार्थ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल विद्युत् प्राधिकरणलाई समेत गराइएको छ ।

उजुरीमा गरिएको दाबी अनुसार मोदी जलविद्युत् कम्पनीले खुलाएको पहिलो प्याकेजको ठेक्का प्रक्रियामा सहभागी हुन पछिल्लो १० वर्षमा कम्तीमा १६ मेगावाट क्षमताको पेल्टोन टर्वाइनको डिजाइन, उत्पादन, सप्लाई, इन्टलेसन, परीक्षण र सञ्चालनको अनुभव हुनुपर्ने तय गरिएको थियो ।

त्यस्तै, पछिल्लो १० वर्षभित्र कम्तीमा २.३ मिलियन अमेरिकी डलरको परियोजना सफलतापूर्वक सम्पन्न भएको हुनुपर्ने व्यवस्था गरिएको थियो । यस्तो कार्य इलेक्ट्रोकेमिकल कार्यसँग सम्बन्धित हुनुपर्ने समेत उक्त डकुमेन्टमा उल्लेख थियो ।

दोस्रो ठेक्काका लागि पछिल्लो १० वर्षमा कम्तीमा ७ मेगावाट क्षमताको फ्रान्सिस टर्वाइनको डिजाइन, उत्पादन, सप्लाई, इन्टलेसन, परीक्षण र सञ्चालनको अनुभव हुनुपर्ने र समस्यारहित तरिकाले सञ्चालन भइरहेको प्रमाण समेत पेस गर्नुपर्ने तय गरिएको थियो ।

त्यस्तै, जेभीको सन्दर्भमा मुख्य ठेकेदार, व्यवस्थापन ठेकेदार वा सहायक ठेकेदारले पछिल्लो १० वर्षभित्र कम्तीमा २.३ मिलियन अमेरिकी डलरको परियोजना सफलतापूर्वक सम्पन्न भएको हुनुपर्ने व्यवस्था गरिएको थियो । यस्तो कार्य इलेक्ट्रोकेमिकल कार्यसँग सम्बन्धित हुनुपर्ने समेत उक्त डकुमेन्टमा उल्लेख थियो ।

तर, एचएनएसी–केईएम जेभीले यो योग्यता पूरा नगरेको र यसका लागि फेक डकुमेन्टको सहारा लिइएको उजुरीमा दाबी गरिएको छ ।

टेन्डरमा डिजाइनकर्ता र उत्पादनकर्ता समेत भएको हुनुपर्ने व्यवस्था रहेकोमा कुमिङले सेल्स टेन्डर मात्रै गरेको र इन्स्टलेसन र टेस्टिङको कुनै अनुभव तथा मर्ज भएर फेरि डिमर्ज भइसकेको कम्पनीको डकुमेन्ट प्रस्तुत गरेको दाबी गरिएको छ ।

२०१० सम्म कुमिङ एउटा कम्पनीको रुपमा रहेको थियो । तर, हार्विन इलेक्ट्रिकल कर्पोरेसनसँग मर्ज भएको थियो । २०१७ मा दुई कम्पनीहरू फेरि डिमर्ज भएको थियो । त्यसपछि कुमिङ नामक कम्पनी फेरि सुरु गरिएको थियो । तर, नयाँ स्थापना भएको कम्पनीले पुरानो अनुभवको प्रमाणपत्र देखाएको उजुरीकर्ताको दाबी छ । यी सबै विषयको स्वतन्त्र परीक्षण गर्न माग समेत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप