शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

शुक्रबार, २२ जेठ २०८३, १२ : ५८
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • नेकपा एमालेले राष्ट्रिय मानवअधिकार आयोगको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको भन्दै अदालत जाने भएको छ ।
  • एमालेले अदालत जानुअघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानुनी उपचारका सबै विकल्प प्रयोग गर्ने जनाएको छ ।
  • विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणलाई केन्द्रमा राखेर आगामी रणनीति तय गर्ने एमालेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ । नेकपा एमाले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने भएको छ । एमाले महासचिव शङ्कर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गते भएको घटनाबारे तयार पारेको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेकोमा आपत्ति जनाउँदै आवश्यक परे अदालतसम्म जाने तयारीमा रहेको जनाएका छन् ।

अदालत जानुअघि प्रतिवेदन पुनरावलोकन गर्न एमालेले आयोगलाई आग्रह गर्ने भएको छ । महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा निष्कर्षका रूपमा विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणलाई केन्द्रमा राखेर आगामी रणनीति तय गर्ने उल्लेख छ ।

‘मुलुकमा विकसित विभिन्न प्रकारका राजनीतिक, संवैधानिक तथा लोकतान्त्रिक आयामबारे विभिन्न राजनीतिक पार्टी तथा सरोकारवालासँग छलफल, संवाद र सहकार्यमार्फत साझा धारणा निर्माण गर्न वातावरण बनाउने’, एमालेले भनेको छ ।

त्यस्तै, आवश्यक परे मर्का परेको पक्षको तर्फबाट आयोगसमक्ष आपत्ति वा पुनरावलोकनको माग गर्ने तथा संवैधानिक प्रश्न उठेमा न्यायिक पुनरावलोकनका लागि अदालत जाने तयारी गर्ने र आवश्यक परे उपलब्ध कानुनी उपचारका सबै विकल्प प्रयोग गर्ने एमालेले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप