आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा

आइतबार, २४ जेठ २०८३, ०९ : २५
आइतबार, २४ जेठ २०८३

सारांश

  • कास्कीमा आपराधिक घटना, दुर्घटना, चोरी र गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले 'स्वीप अप्रेसन' तीव्र पारेको छ।
  • प्रहरीले पछिल्लो २४ घण्टामा नियम विपरीत गुड्ने ४० वटा सवारी साधनलाई कारबाही गरेको छ।
  • लागूऔषध तथा मापसे गरी सवारी चलाउने कार्यको रोकथाम र अवैध वस्तुको ओसारपसार नियन्त्रण गरी शान्ति सुरक्षा सुदृढ बनाउन यो अभियान चलाइएको हो।

पोखरा । कास्कीमा सम्भावित आपराधिक घटना, सवारी दुर्घटना, चोरी लुटपाट तथा गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले ‘स्वीप अप्रेसन’ लाई तीव्र पारेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले पछिल्लो २४ घण्टामा नियम विपरीत गुड्ने ४० वटा सवारी साधनलाई कारबाही गरेको छ।

लागूऔषध तथा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने कार्यको रोकथाम र अवैध वस्तुको ओसारपसार नियन्त्रण गरी शान्ति सुरक्षा सुदृढ बनाउन प्रहरीले यो अभियान चलाएको हो। यस अप्रेसनका लागि गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ।

जिल्लाका विभिन्न चार स्थानमा गरिएको विशेष चेकिङका क्रममा ठूलो संख्यामा चालकहरू कारबाहीमा परेका हुन्। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका वडा नम्बर १७ दोबिल्लामा कुकुरसहित चेकजाँच गर्दा मापसे गरेर सवारी चलाउने २ जना र ट्राफिक नियम उल्लंघन गर्ने ८ जना गरी १० जनालाई कारबाही गरेको छ। बैदामकै अर्को टोलीले पोखरा–२३ र २४ स्थित घाँटीछिनामा मापसे गरेका ९ जना र अन्य नियम उल्लंघन गर्ने २ जना गरी ११ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ।

यसैगरी, वडा प्रहरी कार्यालय बगरको टोलीले पोखरा–१६ अकलामा गरेको चेकिङका क्रममा लागूऔषध सेवन गरेर सवारी चलाउने १ जना चालक फेला परेका छन्। सोही स्थानबाट मापसे गरेका ३ जना र अन्य ट्राफिक नियम मिच्ने ४ जना गरी ८ जना कारबाहीमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको आफ्नै टोलीले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ भेडाबारीमा चलाएको चेकिङमा मापसे गर्ने ४ जना, स्वरूप परिवर्तन गरी सवारी चलाउने १ जना र अन्य नियम उल्लंघन गर्ने ६ जना गरी ११ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार जिल्लाको सुरक्षा व्यवस्था चुस्त राख्न र सडक अनुशासन कायम गराउन यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप