इरान युद्धले लाखौँ मानिसमा चरम भोकमरीको जोखिम
सारांश
- विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले इरानमा जारी युद्धका कारण विश्वभरका अति संवेदनशील समुदायमा भोकमरीको जोखिम तीव्र रूपमा बढेको चेतावनी दिएको छ ।
- स्टेट अफ होर्मुज बन्द भएपछि इन्धनको मूल्य बढ्दा डब्लुएफपीका राहत तथा खाद्य वितरण कार्यक्रमहरू सञ्चालन गर्न लाग्ने खर्च बढेको छ र विश्वभर खाद्यान्नको मूल्यसमेत बढेको छ ।
- युद्धले खाडी क्षेत्रबाट हुने मलखाद आपूर्ति प्रभावित गर्दा सुडानजस्ता देशहरूमा कृषि उत्पादनमा कठिनाइ सिर्जना भएको छ ।
न्युयोर्क । इरानसँग जारी युद्धका कारण विश्वभरका अति संवेदनशील समुदायमा भोकमरीको जोखिम तीव्र रूपमा बढेको भन्दै विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले चेतावनी दिएको छ । डब्लुएफपीका कार्यकारी निर्देशक कार्ल स्काउले अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै युद्धका प्रभावले लाखौँ थप मानिस सङ्कटपूर्ण खाद्य अभावको अवस्थामा पुग्न सक्ने बताएका छन् ।
उनका अनुसार स्टेट अफ होर्मुज बन्द भएपछि इन्धनको मूल्य अत्यधिक बढेको छ, जसले डब्लुएफपीका राहत तथा खाद्य वितरण कार्यक्रमहरू सञ्चालन गर्न लाग्ने खर्च उल्लेखनीय रूपमा बढाएको छ । इन्धन महँगिँदा विश्वभर खाद्यान्नको मूल्यसमेत बढिरहेको छ ।
युद्धका कारण खाडी क्षेत्रबाट निर्यात हुने मलखाद आपूर्तिसमेत प्रभावित भएको छ । यसले विशेष गरी सुडान जस्ता देशहरूमा कृषि उत्पादनका लागि आवश्यक मल उपलब्ध गराउन कठिनाइ सिर्जना गरेको डब्लुएफपीले जनाएको छ ।
यसअघि नै वित्तीय अभावसँग जुधिरहेको डब्लुएफपीका लागि यो अवस्था थप चुनौतीपूर्ण बनेको छ । डब्लुएफपीक विभिन्न सरकारहरूको सहयोगमा सञ्चालन हुन्छ । तर पछिल्ला वर्षहरूमा यसको दातृ सहयोगमा ठुलो गिरावट आएको जनाएको छ । विशेष गरी यसको सबैभन्दा ठुलो दाता अमेरिकाबाट प्राप्त हुने सहयोग उल्लेखनीय रूपमा घटेको छ ।
डब्लुएफपीका अनुसार सन् २०२६ का लागि अमेरिकाको सहयोग करिब ७३ करोड १० लाख अमेरिकी डलर मात्रै छ । सन २०२४ मा यो रकम ४ अर्ब अमेरिकी डलरभन्दा बढी थियो । कार्ल स्काउका अनुसार गरिब राष्ट्रहरूमा खाद्यान्नको मूल्य २०–३० प्रतिशतले बढ्दा मानिसहरूले खाने परिमाण पनि लगभग त्यत्तिकै घटाउन बाध्य हुन्छन् । यसले कुपोषण र भोकमरीको अवस्था झन् गम्भीर बनाउने जोखिम रहेको उनले बताए ।
डब्लुएफपीले गत मार्चमै तेलको मूल्य प्रतिव्यारेल १०० अमेरिकी डलरभन्दा माथि कायम रहे जुलाईसम्म थप ४ करोड ५० लाख मानिस तीव्र खाद्य संकटको सामना गर्न सक्ने चेतावनी दिएको थियो ।
स्काउका अनुसार स्टेट अफ होर्मुज तत्काल खुलिहाले पनि अहिलेको संकटका असरहरू दीर्घकालसम्म कायम रहनेछ । उनका अनुसार आपूर्ति शृङ्खला, कृषि उत्पादन र खाद्य बजारमा परेको प्रभाव छिट्टै हट्ने अवस्था छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण