बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ

बुधबार, २७ जेठ २०८३, १७ : ००
बुधबार, २७ जेठ २०८३

सारांश

  • पर्वत प्रहरीले फलेवास नगरपालिकाकी सन्तु नेपालीको हत्या र गहना लुटपाटमा संलग्न मुख्य अभियुक्त कुशल पुरी र गहना खरिद गर्ने सुनचाँदी व्यवसायी रमेशकुमार श्रेष्ठलाई पक्राउ गरेको छ।
  • अभियुक्त पुरीले मृतक नेपालीलाई कोदालोले टाउकोमा प्रहार गरी हत्या गरेको र सुनका गहना लुटेर नक्कली सिक्री लगाइदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
  • प्रहरीले अभियुक्त पुरीलाई मोदी गाउँपालिका र गहना खरिद गर्ने श्रेष्ठलाई कुश्माबाट पक्राउ गरी कर्तव्य ज्यान र डाका चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय  पर्वतले फलेवास नगरपालिका–५ खानिगाउँकी ५२ वर्षीया सन्तु नेपाली (सोमकुमारी नेपाली) को हत्या र डाका चोरीमा संलग्न मुख्य अभियुक्तसहित दुई जनालाई पक्राउ गरेको छ।

जेठ ८ गते आफ्नै कोठामा बीभत्स अवस्थामा मृत फेला परेकी नेपालीको हत्या गरी गहना लुटेको अभियोगमा खानिगाउँकै २८ वर्षीय कुशल पुरी र लुटिएका गहना खरिद गर्ने सुनचाँदी व्यवसायी रमेश कुमार श्रेष्ठलाई प्रहरीले सार्वजनिक गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार अभियुक्त पुरी र मृतक नेपालीबिच पुरानो चिनजान रहेको र घटनाको अघिल्लो रात उनीहरूले सँगै बसेर खानपिन गरेका थिए। 

सोही क्रममा नेपालीले लगाएका सुनका गरगहना लुट्ने योजना बनाएका पुरीले राति २ बजे कोदालोले टाउकोमा प्रहार गरी उनको हत्या गरेका थिए। हत्यापछि उनले मृतकका कानका १० वटा मुन्द्रा र सुनको सिक्री निकालेर आफूले साथमा लगेको नक्कली सुनको सिक्री लगाइदिएका थिए। 

कसुर लुकाउनका लागि अभियुक्तले कोठामा मोबिल छर्किएको, ग्यास खुला छाडेको र अण्डाको क्यारेट बालेर आगजनीको प्रयास समेत गरेको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका पुरीलाई प्रहरीले जेठ २६ गते मोदी गाउँपालिकाको पातिचौरस्थित एक होटलबाट पक्राउ गरेको थियो। खानतलासीका क्रममा उनको साथबाट लुटिएका ८ वटा मुन्द्रा बरामद गरिएको छ। 

पुरीको बयानका आधारमा लुटिएको सिक्री र दुई वटा मुन्द्रा खरिद गर्ने कुश्मास्थित स्मृति गहना उद्योगका सञ्चालक रमेशकुमार श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

हाल पर्वत जिल्ला अदालतबाट म्याद थप गरी दुवै अभियुक्तमाथि कर्तव्य ज्यान र डाका चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता राजन कुमार पटेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप