खेल मैदानबाट खेल प्रशासनमा पूर्व खेलाडी : उपाध्यक्ष विशाल श्रेष्ठसहित ५ जनाले सम्हाले जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्वमा पूर्व राष्ट्रिय खेलाडीहरू भित्रिएका छन्। राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्षमा नियुक्त भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयले उपाध्यक्ष श्रेष्ठसहित पाँच जना पूर्व राष्ट्रिय खेलाडीहरूलाई राखेपको बोर्ड सदस्यमा मनोनयन गरेसँगै उनीहरूले आजैदेखि आफ्नो कार्यभार सम्हाल्दै पदबहाली गरेका हुन्।
_bw7E2f5q3Z.jpg)
राखेपको बोर्ड सदस्यमा मनोनीत हुने अन्य खेलाडीहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व स्पिनर शक्ति गौचन, राष्ट्रिय टेबलटेनिस खेलाडी सिक्का सुवाल, राष्ट्रिय बुद्धिचाल खेलाडी मोनालिसा खम्बू तथा पूर्व फुटबलर पवन शाही रहेका छन्। खेलाडीका रूपमा मैदानमा देशको प्रतिनिधित्व गरिसकेका स्थापित अनुहारहरू खेलकुदको सर्वोच्च प्रशासनिक निकायमा पुगेपछि खेल क्षेत्रमा नयाँ उत्साह थपिएको छ।
पदबहाली गरेपछि आयोजित विशेष कार्यक्रममा नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठले खेल मैदानबाट खेल प्रशासन र नीतिगत तहमा काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे। उनले यस नयाँ भूमिकाले आफूमा खेल र खेलाडीप्रतिको जिम्मेवारी अझ बढाएको महसुस गराएको बताए।
_AcRhaRo2qv.jpg)
जिम्मेवारी सम्हालेपछि आफ्नो धारणा राख्दै उनले भने, ‘खेल मैदानबाट खेल विकास गर्ने स्थानमा आउन पाउँदा निकै हर्षित छु। साथै अझ धेरै जिम्मेवारी बोध भएको छ। हाम्रो अगाडि धेरै कामहरू छन्। समग्र खेलकुद विकासका लागि हामी समर्पित छौँ।’

उपाध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको समग्र विकास र दीर्घकालीन सुधारका लागि अब सबै सरोकारवालाहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले आगामी दिनमा नीतिगत सुधार र खेल पूर्वाधार निर्माणमा जोड दिने सङ्केत गर्दै थपे, ‘हामी खेल विकासका लागि निरन्तर लागिपर्नेछौँ। सबै मिलेर नेपाली खेलकुदलाई अगाडि बढाउनुपर्छ। होस्टेमा हैँसे गर्दै अघि बढौँ। नेपाली खेलकुदलाई राम्रो उचाइमा पुर्याउन सबैको सहकार्य आवश्यक छ।’
मैदानको अनुभवलाई खेल नीति निर्माणमा प्रयोग गर्दै नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता सबै नवनियुक्त पदाधिकारीहरूले व्यक्त गरेका छन्।












तस्बिर : नेपाल फोटो लाइब्रेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण