बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

घातक डेंगु संकट अब मनसुनमा मात्र सीमित रहेन

बिहीबार, २८ जेठ २०८३, १५ : १२
बिहीबार, २८ जेठ २०८३

सारांश

  • भारतमा डेंगु अब मनसुनको समयमा मात्र सीमित नभई वर्षभरि फैलिरहेको छ, जसले गर्दा यसलाई एक मौसमी रोगबाट सार्वजनिक स्वास्थ्य संकटको रूपमा परिवर्तन गरेको छ ।
  • बढ्दो तापक्रम, अनियमित वर्षा र तीव्र सहरीकरणले डेंगु सार्ने लामखुट्टेलाई लामो समयसम्म बाँच्न र टाढासम्म फैलिन मद्दत गरिरहेको छ, जसले गर्दा संक्रमणको समयसीमा विस्तार भएको छ ।
  • भारतले डेंगु विरुद्ध खोप विकासका प्रयासहरू तीव्र पारेको छ, तर विज्ञहरूका अनुसार खोप मात्र समाधान नभई लामखुट्टे नियन्त्रण, सरसफाइ र जनचेतना जस्ता उपायहरू पनि उत्तिकै महत्वपूर्ण छन् ।

गुरुग्राम, भारत । मे महिनामा नितिन शर्मालाई उच्च ज्वरो आएपछि सुरुमा त उनलाई यो डेंगी हो भन्ने लाग्दै लागेन । मनसुन भित्रिन अझै केही हप्ता बाँकी थियो । अधिकांश भारतीयमा झैँ नयाँ दिल्लीबाहिरको व्यावसायिक केन्द्र गुरुग्रामका ३२ वर्षीय सफ्टवेयर इन्जिनियर शर्मामा पनि डेंगी वर्षासँगै आउने र मनसुन सकिएपछि हराउने रोग हो भन्ने थियो । 

त्यसैले जब टाउको दुखाइ, शरीरका मांसपेशीमा तीव्र पीडा र थकानले उनलाई गुरुग्रामको एक निजी अस्पताल जान बाध्य बनायो, उनले आफू सामान्य भाइरल सङ्क्रमणबाट पीडित भएको ठाने । ‘मैले यसलाई कुनै मौसमी ज्वरो होला भन्ने सोचेको थिएँ,’ शर्माले भने । ‘मेरो परिवारका कसैले पनि डेंगीबारे सोचेनन्, किनभने त्यो बेला मनसुन सुरु भएकै थिएन ।’ 

तर रगत परीक्षणले फरक नतिजा देखायो । चिकित्सकहरूले उनलाई डेंगी ज्वरो भएको पुष्टि गरे । ज्वरो निको भइसकेपछि पनि कमजोरी र थकान कायम रहेकाले शर्मा करिब दुई हप्ता काममा जान सकेनन् । ‘मलाई सबैभन्दा धेरै चकित बनाउने कुरा यसको समय थियो,’ उनले भने । ‘पहिले कसैलाई अप्रिलमा ज्वरो आयो भने डेंगी भन्ने हाम्रो दिमागमै आउदैँन थियो ।’ 

रोगको स्वरूपमा बढ्दो परिवर्तन 

भारतभरका चिकित्सकहरूका अनुसार शर्माको अनुभव अहिले झन् सामान्य बन्दै गएको छ । देशका विभिन्न राज्यका अस्पतालहरूले गत साता मनसुन आधिकारिक रूपमा दक्षिणी राज्य केरलामा प्रवेश गर्नुभन्दा केही साताअघि नै डेंगी सङ्क्रमणका घटनाहरू देखिन थालेका थिए । वैज्ञानिकहरूका अनुसार यसले देशका सबैभन्दा व्यापक रूपमा फैलिएका लामखुट्टेबाट सर्ने रोग डेंगीको व्यवहारमा आएको परिवर्तनलाई प्रतिबिम्बित गर्छ ।

स्वास्थ्य विज्ञहरू चेतावनी दिन्छन् कि बढ्दो तापक्रम, अनियमित वर्षा र तीव्र सहरीकरणले डेंगी सार्ने लामखुट्टेलाई पहिलेभन्दा लामो समय बाँच्न र टाढासम्म फैलिन मद्दत गरिरहेको छ । यसले एक समय मौसमी मानिएको रोगलाई क्रमशः वर्षैभरि रहने सार्वजनिक स्वास्थ्य संकटका रुपमा  रूपान्तरण गरिरहेको छ । 

‘डेंगी अब मनसुनपछिको अवधिमा मात्र सीमित छैन,’ हरियाणास्थित महर्षि मार्कण्डेश्वर मेडिकल कलेज तथा अस्पतालका सामुदायिक चिकित्सा विभाग प्रमुख डा. हर्षदीप जोशीले भने । ‘हामी परम्परागत मौसमबाहिर पनि बढ्दो सङ्ख्यामा केसहरू देखिरहेका छौँ । सङ्क्रमण फैलिने समयावधि विस्तार भइरहेको देखिन्छ,’ उनी भन्छन् । 

दशकौँसम्म भारतमा डेंगी प्रकोपलाई अपेक्षाकृत पूर्वानुमान गर्न सकिन्थ्यो । यसको चक्र त्यस्तै थियो । मनसुनका बेला सङ्क्रमण बढ्न सुरु हुन्थ्यो, भारी वर्षापछि चरम बिन्दुमा पुग्थ्यो र तापक्रम घटेसँगै कम हुँदै जान्थ्यो । तर अब त्यस्तो स्वरुप देखिन छाडेको छ । यस वर्षको मनसुन औपचारिक रूपमा सुरु हुनुअघि नै धेरै शहरका अस्पतालहरूले शंकास्पद डेंगीका बिरामी बढेको बताएका थिए । 

भेक्टर जन्य रोग नियन्त्रणका लागि राष्ट्रिय केन्द्र (एनसीभीबीडीसी) का अनुसार सन् २०२६ को फेब्रुअरी अन्त्यसम्म भारतमा ६ हजार ९२७ डेंगीका केस दर्ता भएका थिए । यो तथ्याङ्क वर्षका पहिलो दुई महिनाको मात्र हो, यसले असामान्य रूपमा चाँडै सङ्क्रमण फैलिन थालेको संकेत गर्छ । तुलना गर्दा, फ्रन्टियर्स इन पब्लिक हेल्थमा प्रकाशित एक अध्ययनले उद्धृत गरेको एनसीभीबीडीसीसम्बद्ध तथ्याङ्कअनुसार सन् २०२१ को जनवरीदेखि मेसम्म जम्मा ६ हजार ८३७ केस र सन् २०२२ को सोही अवधिमा १० हजार १७२ केस दर्ता भएका थिए । 

यसको अर्थ सन् २०२६ को तथ्याङ्कले दुई महिनामै सन् २०२१ को जनवरीदेखि मे (पाँच महिनाको) अवधिको कुल सङ्ख्या पार गरिसकेको छ र सन् २०२२ को प्रारम्भिक मौसमको स्तर नजिक पुगिरहेको छ । यो पूर्ण रूपमा समान अवधिका आधारमा गरिएको तुलना होइन । तरपनि महामारीविद्हरूका अनुसार यो प्रवृत्ति बुझ्न महत्वपूर्ण छ । किनभने ऐतिहासिक रूपमा भारतमा जनवरीदेखि मेसम्म डेंगी सङ्क्रमण न्यून रहने गरेको थियो । तर हालका वर्षहरूमा त्यो मौसमी अन्तर साँघुरिँदै गएको छ । 

यस वर्ष सबैभन्दा धेरै सङ्क्रमण दक्षिणी राज्य तमिलनाडुमा देखिएको छ, जहाँ २ हजार ८७३ केस दर्ता भएका छन् । त्यसपछि महाराष्ट्र (७८६), केरला (६७०) र कर्नाटक (५६०) रहेका छन् । न्यानो मौसम, लामो प्रजनन अवधि र केही हदसम्म राम्रो परीक्षण तथा रिपोर्टिङ प्रणालीका कारण दक्षिणी राज्यहरूमा प्रारम्भिक सङ्क्रमण निरन्तर उच्च रहने गरेको छ । 

समग्रमा हेर्दा यी तथ्याङ्कहरूले डेंगी सङ्क्रमण पहिलेभन्दा चाँडै सुरु हुन थालेको र वर्षभरि निरन्तर फैलिन थालेको देखाउँछन् । 

दीर्घकालीन प्रवृत्ति र राष्ट्रिय संक्रमण दर

आधिकारिक तथ्याङ्कले भारतमा हालका वर्षहरूमा डेंगी संक्रमणको दर उच्च नै रहेको देखाउँछ । सन् २०२३ मा २ लाख ८९ हजार २३५ सङ्क्रमण र ४८५ मृत्यु दर्ता भएका थिए, जुन हालका वर्षहरूकै सबैभन्दा उच्च वार्षिक दर हो । सन् २०२४ मा २ लाख ३३ हजार ५१९ केस र २९७ मृत्यु दर्ता भए भने सन् २०२५ मा १ लाख २१ हजार ८२४ केस र १३१ मृत्यु रिपोर्ट भएका थिए । 

सार्वजनिक स्वास्थ्य विज्ञहरूका अनुसार यी उतारचढाव डेंगी प्रकोपको चक्रीय प्रकृतिको परिणाम हुन् । ठुलो महामारी भएका वर्षहरूमा प्रमुख भाइरसका प्रकारविरुद्ध जनस्तरमा प्रतिरक्षा बढ्ने भएकाले त्यसपछिका वर्षहरूमा सङ्क्रमण अस्थायी रूपमा घट्न सक्छ । 

तर उनीहरू चेतावनी दिन्छन् कि डेंगीको भौगोलिक र मौसमी विस्तारको सदावहार प्रवृत्तिलाई भने यसले प्रभाव पार्दैन । जलवायु परिवर्तन, शहरीकरण र लामखुट्टेको बदलिँदो पारिस्थितिकीका कारण यसको विस्तार निरन्तर बढिरहेको छ । 

चिकित्सकहरूका अनुसार वर्षायामको आसपास मात्र सुरु गरिने निगरानी कार्यक्रम अब धेरै पहिलाबाट सुरु गर्नुपर्ने आवश्यकता देखिएको छ । 

‘पहिले हामी मुख्यतः मनसुनका महिनामा तयारी गथ्र्यौँ,’ हरियाणाका पूर्व निगरानी अधिकारी तथा सार्वजनिक स्वास्थ्य परामर्शदाता डा. एस. एम. कादरीले भने । ‘अब अस्पताल र स्वास्थ्यकर्मीहरू वर्षको अधिकांश समय सतर्क रहनुपर्छ ।’

श्रीनगरस्थित चिकित्सक डा. औबैर हुसेनका अनुसार, ‘सन् २०२५ मा देखिएको गिरावटलाई भाइरस पछि हटेको रूपमा बुझ्नु हुँदैन । भारतमा डेंगीको सङ्क्रमण जनस्तरको प्रतिरक्षा, भाइरसका विभिन्न प्रकारमा हुने परिवर्तन तथा लामखुट्टेको प्रजननलाई असर गर्ने स्थानीय वातावरणीय अवस्थाका कारण वर्षेनी निकै उतारचढावपूर्ण हुन्छ ।’ 

उनले थपे, ‘उच्च सङ्क्रमण भएका वर्षपछि प्रभावित जनसमूहमा आंशिक प्रतिरक्षा विकास हुँदा अस्थायी रूपमा केस घट्न सक्छन्, तर यसले दीर्घकालीन सङ्क्रमणको प्रवृत्तिलाई रोक्दैन ।’ ‘वर्षाको वितरण, तापक्रममा हुने भिन्नता र शहरी क्षेत्रमा पानी भण्डारण गर्ने तरिकाले पनि केही स्थानमा लामखुट्टेको प्रजनन प्रभावित हुन सक्छ, जसले अल्पकालीन रूपमा केस घटाउन योगदान पुर्‍याउँछ,’ उनले भने । 

जलवायु, प्रदूषण र रोगको गम्भीरता

सन् २०२६ मा इन्भाइरोन्मेन्टल पोल्युसन (एल्सेभियर) मा प्रकाशित एक अध्ययनले सन् २०२० देखि २०२४ सम्मका २० डेंगी प्रभावित देशहरूको तथ्याङ्क विश्लेषण गर्दै सूक्ष्म कणयुक्त वायु प्रदूषणको दीर्घकालीन सम्पर्क र डेंगीबाट हुने मृत्युदरबीच बलियो सम्बन्ध रहेको निष्कर्ष निकालेको थियो । 

अध्ययनले पीएम २.५ मा ध्यान केन्द्रित गरेको थियो, जुन फोक्सोसम्म पुगेर रगतमा मिसिन सक्ने अत्यन्त सूक्ष्म कण हो । यसले उच्च पीएम २.५ प्रदूषण भएका देशहरूमा डेंगीबाट हुने मृत्युदर स्वच्छ हावा भएका देशहरूको तुलनामा तीनदेखि पाँच गुणासम्म बढी रहेको देखायो । 

विश्व स्वास्थ्य संगठनले वार्षिक पीएम २.५ सम्पर्कको सीमा प्रति घनमिटर ५ माइक्रोग्राम सिफारिस गरेको छ, जुन अध्ययनमा समावेश धेरै उच्च–तह भएका देशहरूको स्तरभन्दा निकै कम हो । अनुसन्धानकर्ताहरूले आयस्तर, जनघनत्व, वर्षा, तापक्रम तथा आधारभूत स्वास्थ्य अवस्थालाई नियन्त्रणमा राख्दा पनि वायु प्रदूषणले पनि डेंगीलाई थप गम्भीर बढाउने स्वतन्त्र सूचकका रूपमा कायम रहन्छ । यसले शरिरको प्रतिरक्षा प्रणालीमाथि दबाब दिन्छ र रोगलाई अझ गम्भीर बनाउन सक्छ । 

‘सूक्ष्म कणयुक्त वायु प्रदूषणले प्रतिरक्षा र रक्तनली प्रणालीलाई कमजोर बनाउन सक्छ । र, डेंगी प्रभावित क्षेत्रमा जलवायु तथा सामाजिक–आर्थिक तनाव समेत मिसिदा सङ्क्रमणको गम्भीरता र मृत्युदर उल्लेखनीय रूपमा बढाउन सक्छ,’ अध्ययनका प्रमुख लेखक साकिरुल खानले भने । 

साइेन्टिफिक रिपोट्र्समा जनवरी २०२५ मा प्रकाशित अर्को अध्ययनले भारतमा डेंगीको प्रसार तापक्रम, वर्षाको स्वरुप र आद्र्रताजस्ता जलवायुका बदलिँदा अवस्थाबाट गहिरो रूपमा प्रभावित हुने देखाएको थियो ।
पुणेको सन् २००४–२०१५ को तथ्याङ्कमा आधारित अध्ययनले २७ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम, ६० देखि ७८ प्रतिशत आद्र्रता तथा मध्यम र समान रूपमा वितरित मनसुनी वर्षाले डेंगी फैलिन अनुकूल अवस्था सिर्जना गर्ने देखायो । 

अत्यधिक वर्षाले भने लामखुट्टेको प्रजननस्थल बगाएर लैजाने भएकाले सङ्क्रमण घटाउन सक्ने पनि अध्ययनले जनाएको छ । जलवायु परिवर्तनका विभिन्न परिदृश्यअन्तर्गत भविष्यका दशकहरूमा डेंगीको जोखिम उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ । 

परीक्षणमा रहेका खोपहरू

यसैबीच भारतले रोकथामका उपाय विकास गर्ने प्रयास तीव्र बनाएको छ । यस वर्षको सुरुआतमा सरकारले ताकेडाको डेंगीविरुद्धको खोप ‘क्युडेङ्गा’ लाई स्वीकृति दिएको थियो । ताकेडा टोकियोस्थित जापानी बहुराष्ट्रिय औषधि कम्पनी हो र विश्वका अग्रणी खोप विकासकर्तामध्ये एक मानिन्छ । यसले स्थानीय उत्पादनका लागि हैदराबादस्थित भारतीय खोप निर्माता बायोलोजिकल ईसँग साझेदारी गरेको छ । 

त्यसैगरी भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) र नयाँ दिल्लीस्थित जैवप्रविधि कम्पनी पानासिया बायोटेकले भारतकै पहिलो र  प्ररिक्षणमा रहेको डेंगी खोप ‘डेङ्गीअल’ को तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि १० हजार ३३५ स्वयंसेवकको भर्ना प्रक्रिया पूरा गरेका छन् । 

तेस्रो चरणको क्लिनिकल परीक्षण भनेको खोपको प्रभावकारिता पुष्टि गर्न, दुष्प्रभाव अनुगमन गर्न तथा नियामक स्वीकृतिपूर्व त्यसको सुरक्षा सुनिश्चित गर्न गरिने मानवमाथिको ठुलो स्तरको अध्ययन हो । भारतको सिरम इन्स्टिच्युटले पनि आफ्नो ‘टेट्राभ्याक्स–डीभी’ खोपको तेस्रो चरणको परीक्षण सञ्चालन गरिरहेको छ । 

अनुसन्धानकर्ताहरूले यी प्रयासहरूले डेंगीका चारै प्रकारका भाइरस ( डीईएनभी–१, डीईएनभी–२, डीईएनभी–३ र डीईएनभी–४) विरुद्ध सुरक्षा प्रदान गर्ने सुलभ खोप विकासमा सहयोग पुग्ने आशा गरेका छन् । यी चारै प्रकारका डेंगी भारतमा एकसाथ फैलिने भएकाले पुनः सङ्क्रमण रोक्न यि सबै विरुद्ध काम गर्ने खोप आवश्यक हुन्छ । 

तर विज्ञहरूका अनुसार खोप मात्र समाधान होइन

‘प्रभावकारी खोप उपलब्ध भए पनि लामखुट्टे नियन्त्रण र निगरानी अत्यन्त महत्वपूर्ण रहनेछ,’ भेल्लोरस्थित क्रिश्चियन मेडिकल कलेजकी पूर्व प्राध्यापक डा. गगनदीप काङले भनिन् । कादरी पनि यस कुरामा सहमत छन् । ‘यस समस्याको एउटा मात्रै समाधान छैन,’ उनले भने । ‘लामखुट्टे नियन्त्रण, सरसफाइ, रोग निगरानी, जनचेतना र बलियो स्वास्थ्य प्रणाली सबै उत्तिकै आवश्यक छन् ।’ 

गुरुग्रामका शर्मा भन्छन्, उनले भोगेको बिरामका कारण डेंगीप्रतिको सोच नै बदलिदिएको छ । उनले अहिले वर्षभरि घरमा लामखुट्टे भगाउने सामग्री राख्छन् र मौसम जुनसुकै किन नहोस्, फूलका गमला, छतका पानी ट्याङ्की तथा अन्य पानी जम्ने भाँडाहरू नियमित रूपमा जाँच गर्छन् । 

अलजजिराको रिपोर्ट

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप