बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिफाले हाइटीलाई बनायो जर्सी फेर्न बाध्य

बिहीबार, २८ जेठ २०८३, १५ : २३
बिहीबार, २८ जेठ २०८३

मेक्सिको । फिफा विश्वकप २०२६ को उद्घाटन खेल सुरु हुन केही दिनअघि हाइटीको राष्ट्रिय फुटबल टोली आफ्नो जर्सीको डिजाइन परिवर्तन गर्न बाध्य बनेको छ । फिफाले जर्सीमा युद्धको झल्को दिने चित्र समावेश गरिएको भन्दै त्यसलाई प्रतिबन्ध लगाएको छ । 

बुधबार इन्स्टाग्राममार्फत जारी विज्ञप्तिमा खेल सामग्री निर्माता साएटाले जर्सी परिवर्तनको पुष्टि गरेको हो । फिफाले सन् १८०३ को भेर्टिएर्सको युद्ध झल्काउने चित्रणप्रति आपत्ति जनाएको थियो । उक्त युद्धले हाइटीलाई स्वतन्त्रता दिलाएको थियो । खेलाडीहरूले फ्लोरिडा राज्यमा खेलेका दुई अभ्यास खेलमा लगाएको जर्सीमा हाइटीको राष्ट्रिय झण्डासहितको त्यो चित्र प्रस्टसँग देखिएको थियो । 

साएटाले विज्ञप्तिमा भनेको छ, ‘त्यस डिजाइन हाइटीको भविष्य निर्माणमा योगदान पुर्‍याउने महिला र पुरुषहरूप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले बनाइएको थियो । यसको उद्देश्य कुनै राजनीतिक सन्देश दिनु थिएन ।’
हाइटीका खेलाडीहरूले जुन पाँचमा पेरु र जुन दुईमा न्युजिल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलमा उक्त जर्सी लगाएका थिए । 

फिफाको खेल सामग्रीसम्बन्धी नियमावलीअनुसार जर्सीमा कुनै पनि ‘राजनीतिक, धार्मिक वा व्यक्तिगत सन्देश अथवा नारा’ प्रयोग गर्न पाइँदैन । 

कोलम्बियाली निर्माता साएटाले फिफाका नियमअनुसार जर्सी परिमार्जन गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘फिफाले केही दृश्यहरूलाई आफ्नो फरक ढंगले व्याख्या गर्न सकिने निष्कर्ष निकाल्यो र अन्ततः डिजाइनमा परिवर्तन गर्न आग्रह गर्‍यो ।’ 

हैटीले ५२ वर्षपछि विश्वकपमा पुनरागमन गर्दै जुन १३ मा बोस्टनमा स्कटल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । त्यसपछि उसले जुन १९ मा फिलाडेल्फियामा दक्षिण अमेरिकी शक्तिशाली टोली ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । पाँच दिनपछि अमेरिकाको एटलान्टामा बलियो अफ्रिकीे टोली मोरक्कोको सामना गर्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप