बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अनुवाद

जसलाई चुनाव हराउन ठुला एआई कम्पनीहरूले अर्बौँ खर्च गर्दैछन्

बिहीबार, २८ जेठ २०८३, १६ : ००
बिहीबार, २८ जेठ २०८३

सारांश

  • एलेक्स बोरस, जो पहिले पालेन्टियरका इन्जिनियर थिए र अहिले न्युयोर्क सभाका लागि डेमोक्र्याटिक पार्टीका सदस्य छन्, उनीहरूलाई ठूला एआई कम्पनीहरूले अर्बौं रकम खर्च गरेर चुनावमा हराउने प्रयास गरिरहेका छन्।
  • बोरसले सन् २०२५ मा न्युयोर्कमा एआईलाई नियमन गर्ने कानुन 'रेस्पोन्सिबल एआई सेफ्टी एन्ड एजुकेसन एक्ट' पारित गर्न खेलेको भूमिकाका कारण उनीहरूलाई निशाना बनाइएको छ।
  • ओपेनएआई र पालेन्टियर जस्ता कम्पनीहरूले बोरस विरुद्ध नकारात्मक प्रचारमा ठूलो रकम खर्च गरिरहेका छन्, जबकि एन्थ्रोपिक जस्ता कम्पनीहरूले उनलाई जिताउन सहयोग गरिरहेका छन्।

आजको दिनमा अमेरिकी राजनीतिलाई गाँजिरहेको कृत्रिम बौद्धिकता अर्थात् एआईको आँधीको केन्द्रमा छन्, एलेक्स बोरस । केही समय अघिसम्म उनी ‘पालेन्टियर’ कम्पनीका इन्जिनियरका रूपमा कार्यरत थिए ।

 अहिले भने न्युयोर्क सभाका लागि डेमोक्र्याटिक पार्टीबाट सदस्य समेत छन् । आफ्नो ट्विटर ‘बायो’मा एलेक्सले ‘शक्तिशालीहरूसँग त्रसित, न्युयोर्कका लागि लडिरहेको’ लेखेका छन् । 

आफ्नो बायोमा उनले लेखेका विषय कुनै बढाई–चढाइ होइन । अमेरिकी राजनीतिमा प्रभावशाली मानिने राजनीतिक समितिहरू अर्थात् ‘पोलिटिकल एक्सन कमिटी’ले निर्वाचन र राजनीतिमा ठुलो प्रभाव पार्ने गरेका छन् । अहिले ठुला प्रविधि कम्पनीहरू अर्थात् ‘बिग टेक’को सहयोग र समर्थन रहेका त्यस्ता समितिहरू एलेक्सलाई रोक्न अर्बौँ रकम खर्च गरिरहेका छन् । 

आउँदो नोभेम्बरमा न्युयोर्कको १२औँ जिल्लामा अमेरिकी कंग्रेस (संसद) सदस्यको निर्वाचन हुँदै छ । एलेक्स त्यही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दैछन् । 

अमेरिकी सञ्चार संस्था सीएनएनसँगको आफ्नो अन्तर्वार्ताको क्रममा एलेक्स भन्छन्, ‘एआई लबिले मलाई हराएर एउटा मानक तय गर्ने कुरा खुलेआम भनिरहेका छन् ।’ यसरी अमेरिकी प्रविधि कम्पनीहरू रहेको क्यालिफोर्नियाको ‘सिलिकन भ्याली’का ठुला कम्पनीहरूले उनलाई निशाना साध्नुको कारण छ । 

उनले सन् २०२५ मा न्युयोर्कमा एआईलाई नियमन गर्ने कानुन अर्थात् ‘रेस्पोन्सिबल एआई सेफ्टी एन्ड एजुकेसन एक्ट’ पारित गर्न सक्रिय भूमिका खेलेका थिए । त्यो कानुनलाई एआई मोडेलहरूको नियमन गर्न तथा प्रयोगकर्ताको सुरक्षा र पारदर्शिता कायम गर्नका लागि असाध्यै महत्त्वपूर्ण मानिएको छ ।

बोरस बिरुद्धको अभियान अनेक स्वरूपमा चलिरहेको छ । सामाजिक सञ्जालमा बोरस विरुद्ध ठुलो सङ्ख्यामा नकारात्मक टिप्पणीहरू फैलाइएका छन् । विश्वकै ठुला कम्पनीहरू ओपेनएआई (च्याट्जीपीटीको स्वामित्व भएको कम्पनी) तथा पालेन्टियर जस्तो प्रविधि र सैन्य दुवै क्षेत्रमा काम गर्ने सबैभन्दा ठुलो कम्पनीको सहयोगमा सञ्चालित ‘लिडिङ द फ्युचर’ नामको राजनीतिक समितिले पनि बोरसलाई निशान बनाएर सामाजिक सञ्जालको विज्ञापनमा खर्च गरिरहेको छ । 

अचम्मको कुरा त के छ भने पालान्टिरले आफै प्रायोजन गरेका विज्ञापन अभियानहरूमै बोरस विरुद्ध विगतमा पालेन्टियरमा काम गरेको तथा आप्रवासीहरू विरुद्ध पालेन्टियरको गतिविधिमा संलग्न भएको भन्दै बदनाम गराउन खोजिएको छ । 

त्यस्ता विज्ञापनमा बोरसको ‘लिंकडिन प्रोफाइल’ बाट उसको विगतबारेका सूचनाहरू झिकेर पालेन्टियरमा काम गरेको अनुभवबारेको खण्डलाई प्रचार गरिएको छ । त्यस्तै एउटा विज्ञापनले भन्छ, ‘बोरसले विगतमा आप्रवासी विरोधी काममा आईसीई र गृह सुरक्षा मन्त्रालयलाई सघाएका थिए । आप्रवासी विरोधी आईसीई नै बोरसको प्रविधिले चलिरहेको छ ।’

बोरसले खासमा आफूले कुनै समय पालेन्टियरमा काम गरेको विगत लुकाएका छैनन् । त्यस्ता कम्पनीहरूले आईसीई तथा इजरायली रक्षा मन्त्रालयसँग मिलेर काम गरेको थाहा पाएपछि आफूले त्यहाँ काम गर्न छोडेको भनेका छन् । बोरसले आफू जनताको पक्षमा उभिन र काम गर्नका लागि नै बिग टेक कम्पनीहरूको ठुलो रकम त्यागेर आएको बताइरहेका छन् ।

एआई कम्पनीहरूको युद्ध मैदान

प्राप्त रिपोर्टहरू अनुसार आसन्न न्युयोर्क निर्वाचन, एआईको विषयलाई लिएर डिजिटल युद्ध मैदानमा परिणत भएको छ । ‘क्युईन्निपियाक’ नामको मत सर्भेक्षण संस्थाले गरेको पछिल्लो अध्ययन अनुसार ८० प्रतिशत अमेरिकीहरू एआईबारे कुनै न कुनै रूपमा धेरथोर चासो राख्ने गर्छन् भन्ने देखिएको छ । 

अब एआईबारे हुने छलफल र आम मानिसको सरोकार राजनीतिक प्रतिस्पर्धाहरूमा देखिन थालेको छ । बोरसका अनुसार उनको एआई मोडेलबारेको ज्ञान तथा त्यसको जोखिम रोक्न आवश्यक नियमनबारे उनको विगतको काममा कारण अहिले उनीमाथि सुनियोजित हमला भइरहेको छ । 

बोरस आफै पनि एआईको निरपेक्ष विरोधी नरहेको बताउँछन् । सीएनएनका अनुसार उनी आफ्नो राजनीति बहसको तयारी गर्न एआईको सहयोग पनि लिने गर्छन् । अनेक प्रकारका विद्यमान कानुनहरूमा पुराना र घातक विषय पत्ता लगाउन एवं हटाउन पनि एआईको मद्दत लिन्छन् । 

एआई सुरक्षाबारे चासो राख्दा राख्दै त्यसको शक्तिबारे पनि आफू जानकार रहेको उनी बताउँछन् । सीएनएनसँग उनले भनेका छन्, ‘यसै कारण हामीले यसलाई उपयुक्त स्वरूप दिनुपर्ने हुन्छ । जम्मा पाँच जना अर्ब पतिहरूलाई यसबारे सबै निर्णय गर्न दिनु हुँदैन ।’

पालेन्टियर र ओपेनएआई जस्ता कम्पनी बोरसलाई हराउन हात धोएर लागिरहँदा ‘एन्थ्रोपिक’ जस्ता एआई कम्पनी भने उनलाई जिताउन लागेका छन् । ‘क्लाउडे एआई’को मालिक संस्था एन्थ्रोपिकले सहयोग गरेको राजनीतिक समिति ‘पब्लिक फर्स्ट’ले पछिल्लो समय मात्रै २० लाख अमेरिकी डलर खर्च गरेको जानकारी सार्वजनिक भएको छ । 

यस्तो खर्च बोरसको पक्षमा विज्ञापन गर्नमा प्रयोग हुने गरेको छ । पछिल्लो समय न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरे अनुसार ओपेनएआई र पालेन्टियरसँग जोडिएको ‘लिडिङ द फ्युचर’ले ४० लाख अमेरिकी डलर बोरस विरुद्ध खर्च गर्दा पब्लिक फर्स्टले भने उनको पक्षमा ३७ लाख डलर खर्च गरिसकेको छ ।’

न्युयोर्क टाइम्सका लागि थियोडर स्लेफर लेख्छन्, ‘राजनीतिमा प्रयोग हुने यस्तो ठुलो धनराशिको सबैभन्दा घिनलाग्दो पक्ष भनेको आपसमा जुधिरहेका दुवै पक्षको एउटै लक्ष्य हो । दुवै पक्ष आखिर कृत्रिम बौद्धिकताकै प्रवर्द्धन चाहन्छन् ।’

(रतन प्रिया/द प्रिन्टबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप