बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरान युद्धले महँगी बढारहँदा ट्रम्पले भने – मलाई मुद्रास्फीति मन पर्छ

बिहीबार, २८ जेठ २०८३, १६ : ५७
बिहीबार, २८ जेठ २०८३

वासिङ्टन डीसी । अमेरिकामा मुद्रास्फीति ४ प्रतिशतभन्दा माथि पुगेको सरकारी तथ्यांक सार्वजनिक भएको छ ।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई महँगी मन पर्ने भन्दै इरान युद्ध छिट्टै अन्त्य भएर महँगी घट्ने दाबीसमेत दोहोर्‍याए । ट्रम्पले पछिल्लो सरकारी तथ्यांकअनुसार उपभोक्ता मूल्यवृद्धि पछिल्ला तीन वर्षयताकै उच्चस्तरमा पुगेको विषयमा सोधिएको प्रश्नमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘मलाई इन्फ्लेसन मन पर्छ।’ इरानसँगको युद्धका कारण महत्त्वपूर्ण तेल आपूर्ति मार्ग स्ट्रेट अफ होर्मुज बन्द हुँदा लागत बढेको स्वीकार गर्दै त्यसले मूल्यवृद्धि बढाएको ट्रम्पले बताए । उनका अनुसार अमेरिकी सरकारले तेलको आपूर्ति सहज बनाउन गोप्य रूपमा तेल ट्यांकरहरू सुरक्षित मार्गबाट सञ्चालन गर्ने योजना अघि बढाएको थियो । उनले भने, ‘युद्ध सकिएपछि तेलको मूल्य पहिलेको जस्तै तल झर्नेछ । यो ढुंगाजस्तै खस्नेछ।’

अमेरिकामा बढ्दो मूल्यवृद्धिले आगामी मध्यवधि चुनावमा रिपब्लिकन पार्टीलाई असर गर्न सक्ने चिन्ता बढेको छ । विश्लेषकहरूका अनुसार खाद्यान्न, इन्धन र अन्य वस्तुको मूल्य बढ्दा मतदातामा असन्तोष बढ्न सक्छ । ट्रम्पले २०२४ को चुनावमा महँगाइ नियन्त्रण गर्ने बाचा गरेका थिए, तर हाल उनीमाथि जनसमर्थन घट्दै गएको रिपोर्टहरू आएका छन् ।

इरानसँगको तनाव र स्ट्रेट अफ होर्मुजमा अवरोधका कारण तेल, मल (फर्टिलाइजर) र अन्य वस्तुको मूल्य बढेको बताइएको छ । यसले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ लाई ब्याजदर घटाउने निर्णयमा पनि दबाब पार्न सक्ने विश्लेषण आइरहेको छ ।

ट्रम्पले पहिलेको एक बयानमा इरानसँगको कूटनीतिक प्रयासमा ‘अमेरिकी आर्थिक अवस्थालाई ध्यानमा राख्दिनँ’ भनेर भनेका थिए । आफ्नो मुख्य ध्यान इरानलाई परमाणु हतियार बनाउनबाट रोक्नु भएको उनले भनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप