बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
'टक फर्वार्ड'मा गायक प्रमोद खरेल

‘एआईले स्वर त निकाल्ला तर गायक-गायिकाको मुटुबाट निस्कने फिल दिन सक्दैन’

हरेक शैलीमा ‘फिल’सहित फिट हुने गायक, जो खेलकुदमा हुन्छन् हुरुक्कै
बिहीबार, २८ जेठ २०८३, १७ : ००
बिहीबार, २८ जेठ २०८३

काठमाडौँ । गाउनु आफैंमा अद्भूत कला हो, त्यससँगै महत्त्वपूर्ण हुन्छ गीतमा ‘फिल’ । गायक प्रमोद खरेलको हकमा यी दुवै कुरा एकाकार भएर आउँछन् । उनी जति अब्बल ढंगले गाउँछन्, त्यति नै गीतमा हृदयबाटै ‘फिल’ दिन्छन् । चाहे ‘म बिना कसैकसैलाई होस्’ वा ‘किन शंका गर्छौं’, ‘ओए झुम्मा’ होस् कि ‘यो कुरा गोप्य’ । अनि ‘म बाँचेकै’ नै किन नहोस् र भर्खरै सार्वजनिक ‘सलल कर्णाली’मा । हरेक शैलीका गीतमा उनी फिट छन् ‘फिल’सहित । 

प्रमोद खरेल स्टेजमा कति हो कति चढे । गाउँका कुना-कन्दरादेखि देश-विदेशका भव्य कन्सर्टमा उनी जबरजस्त गुन्जिन्छन् । यसबेला उनी आफू मात्रै होइन, दर्शक-श्रोतालाई गीतका भावमा डुबाउँछन्, नचाउँछन् । पछिल्लो समय स्टेजका यी ‘पर्याय’ले आफ्नो प्रस्तुतिमा थप जीवन्तता ल्याउने कोसिस गरिरहेका छन् ब्यान्डमार्फत । ‘प्रमोद एन्ड परम्परा’ नाम दिएर उनले आफ्नै सांगीतिक ब्यान्ड निर्माण गरेका छन् । यससँगै उनले आफ्नो अठोटलाई पनि तीव्र ढंगले कार्यान्वयन गरिरहेका छन् । यसको अर्थ, अहिले कुनै पनि कन्सर्ट वा मेला-महोत्सवमा प्रमोद खरेल एक्लै प्रस्तुति दिन जाँदैनन्, ‘प्रमोद एन्ड परम्परा’कै त्यहाँ उपस्थिति हुनुपर्छ । 

रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा अन्तरर्वार्ताका क्रममा प्रमोदलाई सोधियो- लाइभ ब्यान्ड बिना कन्सर्ट गर्दिनँ भन्दा अफरहरू कम आउने जोखिम त हुँदैन ? 

उनको सटिक जवाफ छ, ‘ब्यान्ड लिएर जाँदा खर्च बढ्छ, व्यवस्थापन गाह्रो हुन्छ र साना स्टेजहरूमा सहज नहुन पनि सक्छ । तर म अहिले व्यावसायिक पाटोभन्दा पनि सांगीतिक गुणस्तर र सन्तुष्टिलाई प्राथमिकता दिन्छु । मेरा ८-९ जना टिमका साथीहरूको भविष्य पनि यसैमा जोडिएको छ ।‘

Pramod Kharel (3)

करिब एक घण्टा लामो कुराकानीमा प्रमोदले संगीत मात्रै होइन, समाज, राजनीति र खेलकुदसम्मका विषयमा आफ्ना धारणा सेयर गरेका छन् । राजनीतिमा किन आउनु भएन ? पछि आउने सोच छ कि ? भन्ने प्रश्नमा उनले निकै सुझबुझपूर्ण जवाफ दिएका छन् । प्रमोदको खेलकुदप्रतिको लगाव औधी छ । फुटबल र क्रिकेट भनेपछि उनी हुरूक्कै हुन्छन् । विश्वकपको पूर्वसन्ध्यामा उनले आफ्नो मनपर्ने टिम र खेलकुदमा कसरी रुचि जाग्यो भन्ने कुरा पनि अन्तर्वार्ताका क्रममा बाँडेका छन् । 

प्रस्तुत छ ‘भर्सटाइल’ गायक प्रमोद खरेलसँग गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :

भर्खरै सार्वजनिक भएको तपाईंको नयाँ गीत 'सलल कर्णाली' बाटै कुरा सुरू गरौँ । कर्णाली भाकाको यो गीत कसरी बन्यो ? 

'सलल कर्णाली' मेरो विशेष प्रोजेक्ट हो । अहिले म मेरो ब्यान्ड 'प्रमोद एण्ड परम्परा' मार्फत सक्रिय छु । करिब एक वर्षपछि हाम्रो ब्यान्डले नयाँ गीत ल्याएको हो । हाम्रो ब्यान्डको नाम 'परम्परा' राख्नुको मुख्य उद्देश्य नै हाम्रो मौलिक संस्कृति र परम्परालाई कायम राख्दै त्यसलाई आधुनिकतासँग जोड्नु थियो । हामीले व्यावसायिक गीतहरूका साथै मौलिक र कल्चरल बेस भएका गीतहरू पनि गर्नुपर्छ भन्ने सोच्यौँ । कर्णाली भेगको त्यो टिपिकल सुगन्धलाई एउटा नयाँ फ्लेभरमा ल्याउने प्रयासस्वरूप यो गीत जन्मिएको हो ।

यो गीतकी को-सिङ्गर सृष्टि बुढा गायन र स्वरको पनि निकै चर्चा छ । उहाँलाई कसरी भेट्नुभयो ? 

हामीले यो गीतका लागि कुनै प्रोफेसनल सिंगरभन्दा पनि त्यो भेगकै 'रअ भोइस' खोजिरहेका थियौँ । जुम्ला-हुम्लातिरकै मौलिक आवाज भयो भने गीतमा अझ बढी जीवन्तता आउँछ भन्ने हामीलाई लागेको थियो । खोज्ने क्रममा माननीय ज्ञानेन्द्र शाही (सांसद) जीमार्फत सृष्टिको बारेमा थाहा भयो । उहाँको आवाज सुनेपछि मलाई लाग्यो— यो गीतका लागि उहाँ नै फिट हुनुहुन्छ । उहाँको त्यो मौलिकताले गीतलाई छुट्टै उचाई दिएको महसुस हुन्छ । 

तपाईंका गीतहरू त बाक्लै गरी सार्वजनिक भइरहेका छन् । तर आफ्नै प्रोजेक्ट चाहिँ अलि ढिलो आएजस्तो लाग्छ । यसको कारण गीत-संगीत उत्पादन महँगो भएर हो ? 

म अरूका लागि निरन्तर गाइरहेको हुन्छु, जसले गर्दा कामबाट ग्याप भएको महसुस हुँदैन । तर आफ्नै सोलो प्रोजेक्ट गर्दा अलि समय लाग्छ । अहिलेको समयमा गीत-संगीत निर्माण निकै खर्चिलो भएको छ । फिल्म चलाउन बरु सजिलो होला, तर गीतमा गरिएको लगानी उठ्ने निश्चित प्राय: हुँदैन । 

Pramod Kharel (4)

अहिले डिजिटल युग आयो, यो राम्रो पनि हो । तर एआईको बढ्दो प्रयोगले संगीत क्षेत्र अस्तव्यस्त बनाएको छ । कसैले पनि कसैको स्वर कपी गरेर एआई भर्सन बनाइदिन सक्छ । यसलाई नियमन गर्ने कुनै निकाय छैन । यसले गर्दा सर्जकहरूको सिर्जनशीलतामाथि प्रहार भएको छ । एउटा कम्पोजर वा एरेन्जरले वर्षौँ साधना गरेर एउटा धुन बनाउँछ, तर एआईले त्यसलाई क्षणभरमै कपी गरिदिन्छ । यो हाम्रो इन्डस्ट्रीका लागि ठुलो चुनौती हो ।

पहिले क्यासेट, सीडी, पेनड्राइभ हुँदै अहिले हामी युट्युब र टिकटकको युगमा छौँ । अबको पाँच वर्षमा मान्छेले कसरी गीत सुन्छन्, थाहा छैन । तर एउटा कुरा के हो भने जतिसुकै प्रविधि आए पनि 'लाइभ कन्सर्ट' र 'ह्युमन फिल' लाई त्यसले प्रतिस्थापन गर्न सक्दैन । एआईले स्वर त निकाल्ला, तर गायक-गायिकाको मुटुबाट निस्कने ‘फिल' ल्याउन सक्दैन । यसको नियमनका लागि सरकारले कदम चाल्न ढिला गर्नु हुँदैन । 

तपाईंका गीतहरूमा जुन 'फिल’ (एकदमै गहिराइमा डुबेर गाउने) पाइन्छ । कन्सर्ट वा स्टुडियोमा गाउँदा कतिसम्म भावनामा डुब्नुभएको छ ? 

गाउँदै जाँदा दिमागले आफैँ बाटो खोज्दै जान्छ । मेलोडीमा डुबेपछि शब्दहरू आफैँ टिलपिलाउन थाल्छन् । मलाई स्टेजमा गाउँदा साउन्ड सिस्टम र माहोल राम्रो भयो भने छुट्टै मुड आउँछ । एउटा निकै अविस्मरणीय क्षण म सुनाउन चाहन्छु । नवलपरासीको कन्सर्टमा 'उसले जति माया तिम्लाई' गाउँदै गर्दा मैले स्टेजमा एउटा गुलाफको फूल देखेँ र टिपेँ । त्यसमा काँडा पनि रहेछ, जसले मेरो हातमा बिझ्यो र रगत बग्न थाल्यो । तर म गीतमा यति डुबेको थिएँ कि मलाई त्यो दुखाइ महसुस नै भएन । गीत गाइसकेपछि मात्र मैले हात रगताम्य भएको देखेँ । पछि आयोजक टिमले मेरो हातमा रुमाल बाँधिदिनुभयो । 

अहिले तपाईं आफ्नो ब्यान्ड बिना कन्सर्ट गर्नुहुन्न । यसो हुँदा खर्च बढ्ने र अफरहरू नै कम आउने जोखिम त हुँदैन ? 

ब्यान्डसँग गाउँदा जुन सन्तुष्टि मिल्छ, त्यो ट्रयाकमा गाउँदा मिल्दैन । नेपालमा ब्यान्ड भनेको 'रक' मात्रै हो भन्ने भ्रम छ, तर वास्तवमा लोकगीत र भजनका लागि पनि ब्यान्ड उत्तिकै आवश्यक छ । हो, ब्यान्ड लिएर जाँदा खर्च बढ्छ, व्यवस्थापन गाह्रो हुन्छ र साना स्टेजहरूमा सहज नहुन सक्छ । तर म अहिले व्यावसायिक पाटोभन्दा पनि सांगीतिक गुणस्तर र सन्तुष्टिलाई प्राथमिकता दिन्छु । मेरा ८-९ जना टिमका साथीहरूको भविष्य पनि यसैमा जोडिएको छ । हामी अहिले एउटा 'बोन्डिङ' मा छौँ र यसलाई अझै परिष्कृत गर्दै लैजाने योजनामा छौँ । 

'भ्वाइस अफ नेपाल' मा तपाईं प्रिय कोचको रूपमा चिनिनुहुन्छ । किनकि तपाईं एउटा बाहेक यो गायन रियालिटी शोका सबै सिजनमा कोचका रूपमा रहनुभयो । कुनै रियालिटीको शोको कोच वा जज बन्दा व्यक्तिगत र सांगीतिक करिअरमा के-कस्तो प्रभाव पार्ने रहेछ ? 

म ‘भ्वाइस अफ नेपाल’मा कोचको रूपमा बस्दा निकै इन्जोय गर्छु । यसले मलाई फरक पुस्तासँग जोड्ने काम गरेको छ । मैले सुन्दै नसुनिएका जनराहरू सुन्ने र बुझ्ने मौका पाएँ । दूरदराजबाट आएका नयाँ ट्यालेन्टहरूका सपना र उनीहरूको संघर्ष देख्दा म आफैँ पनि प्रेरित हुन्छु । उनीहरूका लागि म कोच हुँला, तर उनीहरूबाट मैले पनि धेरै कुरा रिसर्च गर्ने अवसर पाएको छु । यो मेरो लागि एउटा ठुलो सिकाइको विश्वविद्यालय जस्तै भएको छ ।

Pramod Kharel (6)

तपाईंको खेलकुदमा पनि औधी रुचि छ । फुटबल र क्रिकेट भनेपछि अझ हुरूक्कै हुनुहुन्छ । विश्वकप फुटबल पनि सुरु हुँदैछ, तपाईं समर्थन कुन टिमलाई हो ?  

म सानैदेखि खेलकुदमा रुचि राख्थेँ । म गायक नभएको भए सायद खेल समीक्षकसम्म चाहिँ हुन्थेँ होला । मलाई फुटबल र क्रिकेटको अपडेट लिन निकै मन पर्छ ।

विश्वकप फुटबलको कुरा गर्दा सुरूमा म ब्राजिलको फ्यान थिएँ, तर जब मेसीको उदय भयो, म अर्जेन्टिनाको फ्यान बनेँ । मेसीको खेल शैलीले मलाई निकै प्रभावित पार्छ । त्यसैले यसपटक पनि अर्जेन्टिनालाई नै मेरो समर्थन छ । 

समाज र राजनीतिलाई पनि तपाईं गहिरोगरी केलाउनुहुन्छ । अहिले त धेरै कलाकार राजनीतिमा आएका छन् । कतिपय अहिले सांसदको भूमिकामा छन् । तपाईंलाई चाहिँ यसपालि राजनीतिमा आउने सोच आएन ? 

राजनीति र इतिहासमा म सानैदेखि रुचि राख्थेँ । रेडियोमा 'घटना र विचार' कार्यक्रम नसुनी म पढ्नै बस्दैनथेँ । २०४६ सालको परिवर्तनपछि बनेका सबै सरकार र प्राय: मन्त्रीहरूको नाम नै भन्न सक्छु । मेरो त्यतिबेला झापा क्षेत्र नम्बर १ (हाल क्षेत्र नम्बर ३) मा जित्ने उम्मेदवारको मत समेत मलाई याद छ । यसको अर्थ म राजनीतिक विषयमा सानैदेखि रुचि राख्थें । 

यसपालिको राजनीतिक परिवर्तनपछि भएको आम निर्वाचनमा उम्मेदवार बन्नका लागि मलाई पनि अफरहरू नआएका होइनन् । तर राजनीतिमा आउनका लागि म आफूलाई योय व्यक्ति मान्दिनँ । राजनीति भनेको कुनै 'साइड बिजनेस' होइन, यो देशको नीति नियम बनाउने र जनताको भविष्य कोर्ने ठाउँ हो । फुटबल खेल्ने खेलाडीले क्रिकेट पनि राम्रो खेल्छ भन्ने आशा राख्नु हुँदैन । मेरो योग्यता संगीतमै भएका त्यसमै फोकस्ड हुन चाहन्छु । शरीरले धानुन्जेल र दर्शक-श्रोताको माया पाइन्जेल म सांगीतिक कर्म गरिरहनेछु ।

संगीत क्षेत्रका लागि सरकारले के गरिदियोस् भन्ने लाग्छ ?

अहिले सरकारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री बालेन्द्र शाह आफैँ कला-संगीत बुझेको व्यक्तित्व हुनुहुन्छ । सत्तारुढ पार्टी सभापतिले पनि यो क्षेत्रका रेसा-रेसा बुझ्नुभएको छ । स्रष्टाको सिर्जनाको संरक्षण होस्, एआई र अन्य प्रविधिले सर्जकहरूलाई जुन मार परिरहेको छ, त्यसका लागि कडा नीति र नियमनको आवश्यकता छ । लगानीकर्ता र कलाकार दुवै सुरक्षित हुने वातावरण बनाइदिन सरकारले भूमिका खेलोस् भन्न चाहन्छु ।  

भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप