इप्पानको अधिवेशनमा किन छ विवाद ?
सारांश
- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन नयाँ नेतृत्व चयनको विषयमा विवादका बीच सुरु भएको छ ।
- महासचिव र उपमहासचिवलगायतका केही सदस्यहरूले विधान संशोधन प्रक्रिया पूरा नगरी निर्वाचन गर्न खोजिएको भन्दै प्रश्न उठाएका छन् ।
- असन्तुष्ट पक्षले २३औँ साधारणसभाले अनुमोदन गरेको प्रतिवेदनअनुसार विधान संशोधन गरेर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।
काठमाडौँ । जलविद्युत् प्रवर्द्धकहरूको छाता संस्था ‘स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल’ (इप्पान) मा विवादका बिच २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार बिहान २४औँ वार्षिक साधारणसभाको उद्घाटन गरे । ऊर्जामन्त्रीको उपस्थितिमा उद्घाटन सत्र सकेर अहिले बन्दसत्र सुरु भएको छ ।
तर नयाँ नेतृत्व चयनका विषयमा भने विवाद सिर्जना भएको छ । नयाँ नेतृत्वका लागि प्यानलसहित उम्मेदवारीसमेत दर्ता भइसकेको छ । अर्कोतर्फ भने विधान संशोधन प्रक्रिया पूरा नगरी निर्वाचन गर्न खोजिएको भन्दै महासचिव र उपमहासचिवलगायतले प्रश्न उठाइरहेका छन् ।
केही सदस्यहरूले अघिल्लो साधारणसभाले दिएको विधान संशोधनसम्बन्धी म्यान्डेट पूरा नगरी निर्वाचन प्रक्रिया अघि नबढाउन माग गर्दै आएका छन् । इप्पानका महासचिव बलराम खतिवडासहितका सदस्यहरूले विधान संशोधन नगरी निर्वाचन प्रक्रिया अगाडि नबढाउन माग गर्दै संस्थाको ध्यानाकर्षण गराएका छन् ।
इप्पानको अहिले बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा विधान संशोधन गर्न तथा आफ्ना मागहरूलाई सम्बोधन गर्न असन्तुष्ट समूहले माग गरिरहेको छ । महासचिव खतिवडाले साधारणसभाबाट विधान पारित गरेर मात्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न र निर्वाचन कार्यक्रम अगाडि बढाउन अनुरोध गरेका थिए ।
तर, बिहीबार नै निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकाशित गरिसकेको छ । उद्घाटन सत्रपछि निर्वाचन प्रक्रिया सुरु हुने भनिए पनि अहिलेसम्म मतदान प्रक्रिया भने सुरु हुन सकेको छैन ।
- के हो मुख्य विवाद ?
इप्पानको संशोधित विधान २०७८ मा कार्यसमितिसम्बन्धी गरिएका व्यवस्थाहरूमा २१औँ वार्षिक साधारणसभामा बहुमत सदस्यहरूले व्यापक विरोध जनाएका थिए ।
सो विरोधपछि संस्थालाई थप सहभागितामूलक, प्रतिनिधिमूलक र मर्यादित बनाउन सल्लाहकार भानुभक्त पोखरेलको संयोजकत्वमा ५ सदस्यीय ‘विधान संशोधन तथा पुनर्लेखन मस्यौदा समिति’ गठन गरिएको थियो ।
उक्त समितिले तयार पारेको प्रतिवेदनलाई २३औँ वार्षिक साधारणसभाले सर्वसम्मतिले अनुमोदन गरेको थियो । २३औँ साधारणसभाले अनुमोदन गरेको उक्त प्रतिवेदन र निर्णयानुसार विधान संशोधन नगरी सिधै निर्वाचनमा जानु अवैधानिक हुने तर्क असन्तुष्ट पक्षको छ ।
त्यस्तै, उपमहासचिव प्रकाश दुलालले विधान गायब भएको तथा विधानविपरीत साधारणसभा गर्न लागिएको आरोप लगाएपछि अध्यक्ष गणेश कार्कीले त्यसको खण्डन गर्दै साधारणसभा पूर्ण रूपमा वैधानिक रहेको दाबी गरेका थिए । अध्यक्ष कार्कीले संस्थाको २४औँ वार्षिक साधारणसभा र आठौँ अधिवेशन निर्धारित मितिमै कानुनी रूपमा आयोजना हुन लागेको बताएका छन् ।
दुलाल पक्षले भने संस्थागत निर्णय कार्यान्वयन नगरिएको, विधान संशोधनको प्रक्रिया अपूर्ण रहेको र त्यसबारे सदस्यहरूलाई स्पष्ट जानकारी नदिइएको आरोप लगाउँदै आएको छ । यही विषयलाई लिएर नेतृत्व तहमा सार्वजनिक रूपमा आरोप–प्रत्यारोपसमेत चलेको थियो ।
यही विवादका बिच नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । प्रक्रिया सुरु भएसँगै दुलाल समूहले पनि प्यानल बनाएर उम्मेदवारी दर्ता गरेको छ । तर उम्मेदवारी दर्ता गरे पनि साधारणसभाबाट विधान संशोधन हुनुपर्ने अडान उनीहरूले राखिरहेका छन् । २१औँ र २३औँ साधारणसभाका निर्णयहरूलाई बेवास्ता गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको भन्दै महासचिव खतिवडा समूहले असन्तुष्टि जनाएको छ । उनीहरूले २४औँ साधारणसभाले पहिले विधान संशोधन गर्ने र त्यसपछि मात्र कार्यसमितिको निर्वाचन गर्ने प्रक्रिया अवलम्बन गर्न बन्दसत्रमा पनि माग गरेका छन् ।
२३औँ साधारणसभाले पोखरेल समितिको प्रतिवेदन स्पष्ट रूपमा अनुमोदन गरिसकेको हुँदा, सोहीबमोजिम विधान संशोधन गरेर मात्र निर्वाचन कार्यक्रम अगाडि बढाउनुपर्ने उनीहरूको माग छ ।
यद्यपि, अध्यक्ष गणेश कार्कीलगायत पदाधिकारीको टोलीले वरिष्ठ उपाध्यक्षमा सर्वसम्मतिको प्रयास असफल भएको छ । तर दुई उपाध्यक्ष र दुई सचिव थप गर्ने सहमति भएसँगै निर्वाचन प्रक्रिया अघि बढेको छ । विगतमा पाँच उपाध्यक्ष र पाँच सचिव रहने व्यवस्था थियो । अब वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा र बलराम खतिवडाबिच प्रतिस्पर्धा हुनेछ ।
इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः अध्यक्ष बन्नेछन् । विधान संशोधनका विषयमा धेरै विवाद भएपछि कार्यसमितिले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थालाई यसअघि नै संशोधन गरिसकेको छ ।
यो कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने तर अर्को कार्यकालका लागि भने प्रत्यक्ष रूपमा निर्वाचनबाट चयन हुने व्यवस्था गरिएको छ । उक्त व्यवस्था गरिए पनि आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदलाई नै नेतृत्वको मुख्य प्रतिस्पर्धाका रूपमा हेरिएको छ । यसपटक सहमति नभए वर्तमान उपाध्यक्ष लामा र महासचिव खतिवडाको समूहबिच वरिष्ठ उपाध्यक्ष (भावी नेतृत्व) का लागि प्रतिस्पर्धा हुनेछ ।
इप्पान निर्वाचन समितिका अनुसार ६ जना पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् । उपमहासचिवमा कविता पोखरेल तथा ५ जना सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमन जोशी निर्विरोध निर्वाचित भएका हुन् ।
इप्पानमा ६८३ मतदाता र ७०० भन्दा बढी कम्पनीहरू सदस्य रहेका छन् । इप्पानले लामो समयदेखि ऊर्जा क्षेत्रमा निजी लगानी विस्तार, विद्युत् खरिद सम्झौता (PPA), प्रसारण पूर्वाधार तथा नीतिगत सुधारका विषयमा सरकारसँग संवाद गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ : मस्क
-
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति
-
काभ्रे बस दुर्घटनाको कारण पहिचान गर्न सरकारको निर्देशन
-
शहरी विकासमा सरकारको १ खर्ब १३ अर्बका योजना : सघन सहरीकरण र झोलुङ्गे पुल उच्च प्राथमिकतामा
-
औपचारिक रुपमा सेयर बजार प्रवेश गर्यो स्पेसएक्स, एलन मस्क विश्वकै पहिलो 'ट्रिलियनेयर' बन्ने निश्चित
-
बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण