शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
पुस्तक समीक्षा

समयको कठघरामा उभिएका स्वर

शनिबार, ३० जेठ २०८३, ११ : ३४
शनिबार, ३० जेठ २०८३

सारांश

  • गजलकार पार्वती ज्ञवालीको 'परीक्षामा समय' नामक गजलसङ्ग्रहले सामाजिक यथार्थ, राजनीतिक चेतना, प्रेम, विद्रोह र मानवीय संवेदनालाई समेटेको छ ।
  • यस कृतिमा ६४ वटा गजलहरू समावेश छन्, जसमा अधिकांश पाँच शेरका रहेका छन् र केही गजलहरू सङ्गीतबद्ध पनि भएका छन् ।
  • सङ्ग्रहले जनपक्षीय चेतना, राजनीतिक व्यङ्ग्य, ग्रामीण जीवनको चित्रण, प्रेमको गहिराई र मानवीय कमजोरीहरूको मार्मिक प्रस्तुति गरेको छ ।

नेपाली गजलको समकालीन यात्रामा सामाजिक यथार्थ, राजनीतिक चेतना, प्रेम, विद्रोह र मानवीय संवेदनालाई एउटै संरचनाभित्र समेट्ने प्रयत्नहरू उल्लेखनीय रूपमा देखिएका छन् । यिनै प्रयत्नहरूमध्ये गजलकार पार्वती ज्ञवालीको गजलसङ्ग्रह परीक्षामा समय विशेष ध्यानाकर्षण कृति हो । 

बुटवलमा जन्मेकी ज्ञवाली साहित्य र सञ्चार क्षेत्र दुवैमा सक्रिय स्रष्टा हुन् । उनका अनुभव, सामाजिक अवलोकन र समयप्रतिको आलोचनात्मक दृष्टि यस सङ्ग्रहका गजलहरूमा विविध स्वरूपमा अभिव्यक्त भएका छन् । चौसट्ठी वटा गजल सङ्गृहीत यस कृतिले आकारगत रूपमा चारदेखि सात सेरसम्मका गजललाई समेटेको छ । 

अधिकांश गजल पाँच सेरमा संरचित छन् । केही गजलहरू सङ्गीतबद्ध भई रेकर्डसमेत हुनु यस कृतिको अर्को विशेषता हो ।

‘परीक्षामा समय’ शीर्षक आफैँमा प्रतीकात्मक छ । यहाँ समय केवल घडीको गति होइन, समाज, राजनीति, संस्कृति, नैतिकता र मानवीय अस्तित्वलाई जाँच्ने कठघराको रूपमा उपस्थित छ । समयले मानिसलाई मात्र परीक्षा लिँदैन, विचार, व्यवस्था, नेतृत्व, मूल्य र चेतनालाई समेत मूल्याङ्कन गर्छ । यस अर्थमा कृतिको शीर्षकले सम्पूर्ण सङ्ग्रहको भावदर्शनलाई प्रतिनिधित्व गरेको छ ।

सङ्ग्रहको प्रारम्भ सरस्वती वन्दनाबाट भएको छ । गजल विधामा मङ्गलाचरणको प्रयोग सामान्यतः कम देखिन्छ । ज्ञवालीले यस परम्परालाई आत्मसात् गर्दै ज्ञान, विवेक र सृजनाशीलताको प्रतीक देवी सरस्वतीप्रति श्रद्धा अर्पण गरेकी छन् । यसले कृतिलाई सांस्कृतिक धरातल प्रदान गरेको छ । आरम्भिक गजलले सर्जकको विनम्रता र साहित्यप्रतिको आस्थालाई उद्घाटित गर्छ ।

यस सङ्ग्रहको मूल शक्ति यसको जनपक्षीय चेतना हो । अधिकांश गजलहरू प्रगतिशील विचारधाराबाट प्रभावित देखिन्छन् । समाजमा श्रम गर्ने वर्ग र त्यसको श्रममाथि जीविका चलाउने शोषक वर्गबिचको अन्तर्विरोध गजलकारको दृष्टिमा स्पष्ट रूपमा उपस्थित छ । उनले जनताको पसिना लुट्ने, श्रमको मूल्य नबुझ्ने र सत्ताको आडमा स्वार्थ पूरा गर्ने प्रवृत्तिप्रति तीव्र असन्तोष व्यक्त गरेकी छन् । 

उनका गजलहरूमा वर्गीय विभाजनको चित्रण घोषणात्मक शैलीमा नभई अनुभूत यथार्थका रूपमा प्रकट भएको छ । यसले गजललाई नारा बन्नबाट जोगाएर साहित्यिक गरिमा प्रदान गरेको छ ।

राजनीतिक चेतनाका दृष्टिले पनि यो सङ्ग्रह सशक्त देखिन्छ । समकालीन नेपाली राजनीतिभित्र व्याप्त आडम्बर, आश्वासन, भ्रम र अवसरवादमाथि गजलकारले व्यङ्ग्यात्मक प्रहार गरेकी छन् । लोकतन्त्रका नाममा दोहोरिने आश्वासन, निर्वाचनका बेला देखाइने सपना र जनताको जीवनमा नआउने परिवर्तन उनका गजलका प्रमुख विषय बनेका छन् । राजनीतिज्ञका भाषण र व्यवहारबिचको दूरीलाई उनले तीक्ष्ण दृष्टिले केलाएकी छन् । यस्ता गजलहरू पढ्दा नेपाली समाजको पछिल्लो राजनीतिक इतिहासका अनेक विसङ्गति पाठकको स्मृतिमा एकपछि अर्को गर्दै खुल्न थाल्छन् ।

गजलकारको राजनीतिक चेतना केवल आलोचनामा सीमित छैन । राष्ट्रियता र सार्वभौमिकताको प्रश्नप्रति पनि उनी गम्भीर देखिन्छिन् । मुलुकको अस्मिता कमजोर बनाउने सम्भावित गतिविधिप्रति उनले चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रिय स्वाभिमानको रक्षा जनताको सचेत सहभागिताबाट मात्र सम्भव हुने सन्देश उनका कतिपय गजलमा अन्तर्निहित छ । यसले गजललाई व्यक्तिगत अनुभूतिबाट उठाएर सामूहिक चेतनाको स्तरमा पुर्‍याएको छ ।

सङ्ग्रहको अर्को उल्लेखनीय पक्ष ग्रामीण जीवनको जीवन्त चित्रण हो । नेपाली समाजको मूल आधार गाउँ हो । गाउँका पँधेरा, गोठाला, चौतारा, खेतबारी, मेलापात, श्रम र आत्मीय सम्बन्धका दृश्यहरू गजलकारका शब्दमा संवेगात्मक चित्र बनेर आएका छन् । यहाँ गाउँ केवल भौगोलिक स्थान होइन, सांस्कृतिक स्मृतिको केन्द्र बनेर उपस्थित छ । आधुनिकताको तीव्र प्रभावले परिवर्तन हुँदै गएको ग्रामीण परिवेशप्रति एक प्रकारको आत्मीय चिन्ता पनि अभिव्यक्त भएको देखिन्छ ।

ग्रामीण जीवनका दृश्यहरू वर्णन गर्दा ज्ञवालीले कृत्रिमता अपनाएकी छैनन् । उनका शब्दहरू प्रत्यक्ष अनुभवबाट जन्मिएका जस्ता लाग्छन् । पँधेरामा पानी भर्ने युवती, गोठालोको दिनचर्या, गाउँको सामुदायिक जीवन र प्रकृतिसँगको निकट सम्बन्धले गजललाई दृश्यात्मक बनाएको छ । पाठकले शब्द मात्र पढ्दैन, दृश्य पनि देख्न थाल्छ । यही गुणले कृतिको भावसम्प्रेषण शक्ति बढाएको छ ।

प्रेम पनि यस सङ्ग्रहको महत्त्वपूर्ण विषय हो । नेपाली गजल परम्परामा प्रेमको स्थान सदैव केन्द्रमा रहँदै आएको छ । ज्ञवालीका प्रेमसम्बन्धी गजलहरूमा केवल प्रणयभाव छैन, स्मृति, प्रतीक्षा, विछोड र आत्मीयताको गहिरो अनुभूति पनि छ । उनका प्रेमका स्वर भावुक छन्, भावविह्वल छैनन् । प्रेममा आत्मसमर्पण छ, आत्मविस्मृति छैन । यसले प्रेमलाई गरिमामय बनाएको छ ।

संस्मरणात्मक भावले भरिएका कतिपय गजलहरूले विगतका मधुर क्षणलाई पुनर्जीवित गर्छन् । स्मृतिले वर्तमानलाई कसरी प्रभावित गर्छ भन्ने मनोवैज्ञानिक पक्ष यस्ता गजलहरूमा सुन्दर रूपमा अभिव्यक्त भएको छ । विगतप्रतिको मोहले वर्तमानलाई नकार्दैन । बरु जीवनको निरन्तरताबोध गराउँछ ।

मानवीय कमजोरीहरूको चित्रण पनि कृतिमा भेटिन्छ । विशेष गरी मदिरापानसम्बन्धी गजलहरू उल्लेखनीय छन् । खुसी खोज्ने प्रयासमा मानिस कसरी झन् दुःखको गर्तमा पुग्छ भन्ने यथार्थलाई गजलकारले मार्मिक ढङ्गले प्रस्तुत गरेकी छन् । यहाँ मदिरा केवल पेय पदार्थ होइन, पलायनवादी मानसिकताको प्रतीक बनेर उभिएको छ । जीवनका समस्याबाट भाग्न खोज्दा मानिसले झन् ठुलो समस्या निम्त्याउने यथार्थ गजलहरूमा प्रकट भएको छ ।

विषयवस्तुको विविधता यस कृतिको विशेष उपलब्धि हो । एउटै भावभूमिमा सीमित रहने प्रवृत्तिबाट मुक्त भई गजलकारले समाज, राजनीति, प्रेम, प्रकृति, स्मृति, राष्ट्रियता, नैतिकता र मानवीय सम्बन्धजस्ता अनेक क्षेत्रलाई स्पर्श गरेकी छन् । यस विविधताले सङ्ग्रहलाई एकरस हुन दिएको छैन । प्रत्येक गजलले नयाँ अनुभूति प्रदान गर्ने प्रयास गरेको देखिन्छ ।

शिल्पगत दृष्टिले हेर्दा ‘परीक्षामा समय’ महत्त्वपूर्ण कृति हो । गजलको परम्परागत संरचना, रदीफ–काफियाको प्रयोग तथा सेरगत स्वतन्त्रतालाई गजलकारले आत्मसात् गरेकी छन् । चारदेखि सात सेरसम्मका गजलको प्रयोगले लघुता र विस्तारबिच सन्तुलन कायम गरेको छ । पाँच सेरका गजलहरूको बाहुल्यताले कृतिमा एक प्रकारको संरचनात्मक एकरूपता पनि देखिन्छ ।

बहरको दृष्टिले भने सङ्ग्रह पूर्ण रूपमा अनुशासित देखिँदैन । गजलहरू शास्त्रीय बहरभन्दा बाहिर छन् । यद्यपि यसलाई कमजोरी मात्र मान्न सकिँदैन । नेपाली गजलको विकासक्रममा लोकलय र स्थानीय छन्द परम्परालाई आत्मसात् गर्ने प्रयास निरन्तर हुँदै आएको छ । 

ज्ञवालीका कतिपय गजल नेपाली लोकछन्दको लयमा आधारित छन् । केही गजल सवाई छन्दमा संरचित छन् । यसले गजललाई नेपालीपन प्रदान गरेको छ । उर्दु गजलको कठोर अनुशासन र नेपाली लोकलयबिचको समन्वय गर्ने प्रयत्न यहाँ देखिन्छ ।

भाषाशैली सरल, सम्प्रेषणीय र भावानुकूल छ । गजलकारले जटिल बिम्ब र दुर्बोध प्रतीकको अत्यधिक प्रयोग गरेकी छैनन् । यस कारण सामान्य पाठकले पनि गजलको भाव सजिलै ग्रहण गर्न सक्छ । जनपक्षीय साहित्यका लागि सम्प्रेषणीयता महत्त्वपूर्ण गुण हो । यस दृष्टिले कृति सफल देखिन्छ ।

प्रतीक र विम्बको प्रयोगमा पनि गजलकार सचेत छिन् । समय, पसिना, पँधेरा, गोठालो, बाटो, आँधी, उज्यालो, अँध्यारो, घाउ, सपना जस्ता शब्दहरू केवल वस्तुगत अर्थमा सीमित छैनन्। यिनले सामाजिक र मनोवैज्ञानिक अर्थसमेत वहन गरेका छन् । यस्ता प्रतीकहरूले गजललाई बहुअर्थी बनाएका छन् ।

व्यङ्ग्यात्मक चेतना यस कृतिको अर्को प्रभावकारी पक्ष हो । व्यङ्ग्य यहाँ मनोरञ्जनका लागि प्रयोग भएको छैन, सामाजिक विकृति र राजनीतिक विसङ्गतिमाथि प्रश्न उठाउने माध्यम बनेको छ । गजलकारले कटु यथार्थलाई कलात्मक व्यञ्जनाद्वारा प्रस्तुत गरेकी छन् । यसले पाठकलाई हँसाउँदैन, सोच्न बाध्य बनाउँछ ।

नारी स्रष्टाका रूपमा ज्ञवालीको उपस्थिति पनि अर्थपूर्ण छ । उनका गजलहरू प्रत्यक्ष रूपमा नारीवादी घोषणापत्र नबने पनि संवेदनाको तहमा महिला अनुभवको छाया देखिन्छ । जीवनका सूक्ष्म अनुभूति, सम्बन्धका भावात्मक पक्ष र आत्मीयताको अभिव्यक्ति यसैको परिणाम मान्न सकिन्छ । यसले कृतिलाई कोमल संवेगात्मक आयाम प्रदान गरेको छ ।

कृतिको समग्र मूल्याङ्कन गर्दा केही सीमाहरू पनि देखिन्छन् । भाषिक दृष्टिले कतिपय गजलमा व्याकरणीक परिमार्जनको आवश्यकता अनुभूत हुन्छ । वाक्यसंरचना, पदविन्यास र शब्दचयनका केही पक्ष अझ निखारिन सक्थे । सूक्ष्म सम्पादन गरिएको भए अभिव्यक्ति थप प्रभावकारी बन्ने सम्भावना थियो । कतिपय स्थानमा भावको शक्ति उच्च भए पनि भाषिक कसावट अपेक्षित देखिन्छ ।

गजलका केही सेरमा अर्थघनत्वभन्दा कथनात्मकता बढी भएको अनुभूति हुन्छ । गजलको मूल शक्ति सङ्क्षिप्त अभिव्यक्तिभित्र गहिरो अर्थ सिर्जना गर्नु हो । केही स्थानमा यस पक्षमा अझ ध्यान दिन सकिन्थ्यो । यद्यपि यी सीमाहरूले कृतिको मूल मूल्यलाई कमजोर बनाउँदैनन् । बरु भविष्यमा सर्जकले अझ परिष्कृत सिर्जना गर्ने सम्भावनाको सङ्केत दिन्छन् ।

समग्रमा ‘परीक्षामा समय’ समकालीन नेपाली गजलको जनमुखी, यथार्थवादी र चेतनामूलक स्वर बोकेको महत्त्वपूर्ण सङ्ग्रह हो । यसमा समयको नाडी छाम्ने दृष्टि छ, समाजका घाउ देख्ने संवेदना छ, अन्यायविरुद्ध बोल्ने साहस छ, प्रेमको कोमलता छ, गाउँको गन्ध छ, राष्ट्रिय चिन्ता छ । 

गजलकार पार्वती ज्ञवालीले जीवनका अनेक पाटालाई एउटै कृतिभित्र समेट्ने सफल प्रयास गरेकी छन् । कृतिले पाठकलाई केवल भावुक बनाउँदैन, सोच्न पनि बाध्य बनाउँछ । यही गुणले यस सङ्ग्रहलाई समयको परीक्षामा उभिएको मात्र होइन, समयलाई नै प्रश्न गर्ने कृतिका रूपमा स्थापित गरेको छ ।

(सिर्जनाकुञ्ज, बालकोट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जीवनाथ अधिकारी
जीवनाथ अधिकारी
लेखकबाट थप