भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित
सारांश
- भारतीय पर्यटकको उल्लेख्य आगमनले पोखराको लेकसाइड क्षेत्रमा चहलपहल बढेको छ ।
- फेवातालमा दैनिक ५ हजारभन्दा बढी पर्यटकले डुङ्गा सयर गर्दा व्यवसायीहरू उत्साहित भएका छन् ।
- गर्मी र बिदाका कारण ठूलो संख्यामा भारतीय पर्यटकहरू नेपाल, विशेषगरी पोखरा र मुक्तिनाथ/पशुपतिनाथ दर्शन गर्न आइरहेका छन् ।
पोखरा । भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै पर्यटकीय नगरी पोखरा यतिबेला भरिभराउ बनेको छ । लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुङ्गा सयरदेखि ट्रेकिङ गतिविधिसम्म अत्यधिक व्यस्त देखिएको हो ।
फेवातालमा एकै दिन ५ हजारभन्दा बढी पर्यटकले डुङ्गा सयर गरेको डुङ्गा व्यवसायीहरूले बताएका छन् । तालमा दिनभर डुङ्गाको आवतजावत बाक्लो रहँदा व्यवसायीहरू उत्साहित बनेका छन् ।
त्यस्तै, अन्नपूर्ण क्षेत्रलगायत आसपासका पदमार्गहरूमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ । पर्यटकको बढ्दो चापसँगै पोखराका अधिकांश होटल भरिभराउ भएका छन् । होटलहरू पर्यटकले भरिएपछि व्यवसायीहरू खुशी देखिएका छन् ।
भारतीय पर्यटकको अत्याधिक चापका कारण लेकसाइड तथा मुख्य पर्यटकीय क्षेत्रमा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सडक किनारमा सवारीसाधनको भीड बढ्दा ट्राफिक व्यवस्थापनमा समेत दबाब परेको छ ।
नेपालमा वर्षातको समय अर्थात ‘अफसिजन’ मानिने मा पनि भारतीय पर्यटकहरूको उल्लेख्य उपस्थिति देखिएको छ । ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रूपमा चित्रण गरे ।
छिमेकी मुलुक भारतमा बढ्दो गर्मी र त्यहाँ भइरहेको बिदाका कारण अहिले ठूलो संख्यामा भारतीयहरूले नेपाललाई आफ्नो प्रमुख गन्तव्य बनाएका छन् । विशेषगरी धार्मिक आस्थाका कारण मुक्तिनाथ र पशुपतिनाथ दर्शन गर्न आउनेहरूको संख्या उल्लेख्य रहेको छ ।
‘हिन्दु धर्ममा जन्मिएपछि एकपटक मुक्तिनाथ दर्शन गर्नुपर्छ भन्ने धार्मिक विश्वास र पछिल्लो समय मिडियाका कारण सिर्जित सकारात्मक सन्देशले पर्यटकको आगमन बढेको हो ।’ अध्यक्ष आचार्यले भने ।
अहिले नेपाल आउने भारतीय पर्यटकहरूमध्ये युवा पुस्ता विशेषगरी शाहसिक पर्यटनतर्फ आकर्षित देखिएका छन् । मर्दी हिमाल, अन्नपूर्ण आधार शिविर (एबीसी) र उपल्लो मुस्ताङ जस्ता क्षेत्रमा भारतीय युवाहरूको बाक्लो उपस्थिति रहेको आचार्यले जानकारी दिए । उनकाअनुसार पदमार्गहरूमा पर्यटकको चाप यति धेरै छ कि ‘अफसिजन’ मा पनि बास बस्नका लागि कोठा पाउन समेत कठिन भइरहेको छ । युवाहरू पदयात्रा र बाइकिङमा रमाउँदा पाको उमेरका पर्यटकहरू भने धार्मिक स्थलहरूको भ्रमणमा केन्द्रित छन् ।
पर्यटकको संख्या बढ्नु उत्साहजनक भएपनि उनीहरूको व्यवस्थापनमा देखिएका केही चुनौतीहरूतर्फ पनि आचार्यले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । विशेषगरी बसमा सामूहिक रूपमा यात्रा गर्ने पर्यटकहरूले सडक किनारमै खाना पकाउने र खानपान गर्ने गर्दा दृश्य छरपस्ट देखिने गरेको उनले बताए ।
यस प्रकारका पर्यटकहरूलाई व्यवस्थित गर्न प्रमुख पर्यटकीय र धार्मिक मार्गहरूमा विश्राम केन्द्र (सेन्टर) हरू निर्माण गर्नुपर्ने उनको सुझाव छ । पर्यटकहरूलाई उचित स्वागत र व्यवस्थापन गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै अध्यक्ष आचार्यले यसबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रबारे सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे । उनले धार्मिक र साहसिक दुवै प्रकारका पर्यटकलाई आवश्यक न्यूनतम पूर्वाधार र सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुनेमा जोड दिए ।
‘धार्मिक पर्यटकहरूका लागि ठाउँ–ठाउँमा उचित व्यवस्थापन भएका केन्द्रहरू निर्माण गर्न सके उनीहरूले त्यहीँ खाना पकाउने, नुहाउने र कपडा धुने जस्ता कार्यहरू व्यवस्थित रूपमा गर्न सक्थे’ उनले भने ।
होटल संघ पोखराका अध्यक्ष लक्षुमण सुवेदीकाअनुसार विगत ३२ वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा बढी भारतीय पर्यटकहरू नेपाल भित्रिएका छन् । नेपाली नयाँ वर्षको आसपासदेखि शुरु भएको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ । यस अवधिमा पोखराका होटलहरूको अकुपेन्सी ९० प्रतिशतको हाराहारीमा पुगेको संघले जनाएको छ ।
पोखरा मात्र नभई गण्डकी प्रदेशका अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै मुक्तिनाथ र विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ । अध्यक्ष सुवेदीकाअनुसार यस वर्ष भारतीय पर्यटक बढ्नुमा प्रवद्र्धन र सामाजिक सञ्जालको प्रभाव रहेको छ । गत वर्षदेखि फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत मुक्तिनाथ र नेपालका अन्य पर्यटकीय क्षेत्रहरूको व्यापक प्रचारप्रसार भएकाले भारतीय पर्यटकहरूमा नेपाल भ्रमणको उत्साह बढेको पाइएको छ । भारतमा बढ्दो गर्मी छल्न र बिदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकहरूले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन् ।
भारत सरकारले विदेशी मुद्रा (डलर) सञ्चितिमा जोड दिँदै भारतीय मुद्रा सहजै चल्ने छिमेकी मुलुकहरूको भ्रमण गर्न आफ्ना नागरिकलाई प्रोत्साहित गरेकाले पनि पर्यटकको संख्या बढेको विश्लेषण गरिएको छ । भारतको बिहार लगायतका सीमावर्ती राज्यहरूबाट एकै दिनमा नेपाल प्रवेश गर्न सकिने र छोटो अवधिमा धेरै ठाउँ घुम्न सकिने भएकाले भारतीय युवा पुस्ता नेपालप्रति आकर्षित भएको देखिन्छ । विशेषगरी बिहारमा मदिरा निषेध गरिएकाले पनि त्यहाँका युवाहरू मनोरञ्जनका लागि नेपाल आउने गरेको पाइएको छ ।
भारत सरकारले ज्येष्ठ नागरिकहरूलाई तीर्थाटनका लागि उपलब्ध गराउने विभिन्न सहुलियतका कारण पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक पर्यटकहरूको संख्या पनि उत्तिकै रहेको छ । समग्रमा, प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र सहज यातायातका कारण भारतीय पर्यटकहरूका लागि नेपाल एक पहिलो रोजाइको गन्तव्य बनेको होटल संघ पोखराले जनाएको छ ।
छिमेकी मुलुक भारतमा बढेको अत्यधिक गर्मी छल्न नेपाल आउने पर्यटकका कारण पर्यटकीय नगरी पोखरामा चहलपहल निकै बढेको हो । विशेषगरी फेवातालमा डुङ्गा सयर गर्ने भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएपछि स्थानीय व्यवसायीहरूले राहत महशुस गरेका छन् ।
फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीकाअनुसार हाल पोखरामा भारतीय पर्यटकको चाप उच्च रहेको छ । भारतबाट आउने पर्यटकहरू पोखरा भ्रमण, फेवातालमा डुङ्गा सयर र मुक्तिनाथ दर्शनका लागि जाने क्रम बढेको उनले जानकारी दिए । अध्यक्ष गिरीकाअनुसार अहिले फेवातालका आठवटै स्टेशनहरूबाट दैनिक ५ हजारदेखि ७ हजार जनासम्मले डुङ्गा सयर गरिरहेका छन् ।
‘पर्यटकको यो बाक्लो उपस्थितिले डुङ्गा व्यवसायीहरूलाई आर्थिक रूपमा ठूलो राहत मिलेको छ र यहाँको चहलपहल पनि निकै उत्साहजनक छ’ गिरीले भने । विगतका वर्षहरूको तुलनामा यस वर्ष भारतीय पर्यटकको आगमनमा वृद्धि भएको व्यवसायीहरूको अनुभव छ । भारतका विभिन्न सहरहरूमा तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियससम्म पुगेका कारण त्यहाँका नागरिकहरू शीतल र रमणीय वातावरणको खोजीमा नेपाल आउने गरेका हुन् ।
पोखरा आइपुग्ने पर्यटकहरू यहाँको हिमालका श्रृङ्खला, पहाडी दृश्य र फेवातालको वातावरणबाट निकै प्रभावित हुने गरेको गिरीले बताए । भारतको अत्यधिक गर्मीबाट उम्किएर पोखराको शीतल मौसममा रमाउन पाउँदा पर्यटकहरूले खुशी व्यक्त गर्ने गरेको व्यवसायीहरूले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण