शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा

निःसन्तान समस्या २० प्रतिशतले बढेको दाबी
शनिबार, ३० जेठ २०८३, १३ : १०
शनिबार, ३० जेठ २०८३

सारांश

  • जलवायु परिवर्तनले मानव जीवन र प्रजनन स्वास्थ्यमा गम्भीर चुनौती खडा गरेको छ ।
  • प्रजनन विशेषज्ञ डा. रश्मी श्रीशका अनुसार विश्वभर निःसन्तानपन बढ्नुमा जलवायु परिवर्तन प्रमुख कारण हो ।
  • जलवायु परिवर्तनले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा असर पार्छ, जसले महिनावारी अनियमितता, मेनोपज छिटो हुने, शुक्राणुको गुणस्तरमा कमी जस्ता समस्या निम्त्याउँछ ।

काठमाडौँ । जलवायु परिवर्तनका कारण मानव जीवन, जीविकोपार्जन र समग्र पर्यावरणीय सन्तुलनमा गम्भीर चुनौती खडा भएको छ । पछिल्ला अध्ययनहरूले जलवायु परिवर्तनले प्रकृति र जीवजन्तुमा मात्रै नभई प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्‍याएको देखाएका छन् ।

प्रजनन तथा आईभीएफ विशेषज्ञ डा.रश्मी श्रीशले पछिल्लो समय विश्वभर निःसन्तानपनको दर बढ्दै गएको र यसको पछाडि जलवायु परिवर्तन तथा वातावरणीय असन्तुलन प्रमुख कारणका रूपमा देखा पर्न थालेको बताएकी हुन् । 

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै डा. श्रीशले प्रजनन स्वास्थ्यसम्बन्धी समस्यामध्ये करिब २० प्रतिशतमा जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव रहने गरेको अध्ययनले देखाएको बताइन् । 

चीनमा गरिएको पछिल्लो अध्ययनले निःसन्तानपनको समस्यामा २० प्रतिशत जलवायु परिवर्तनको भूमिका रहेको देखाएको उनले बताइन् । जलवायु परिवर्तनले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा बराबर असर पार्ने गरेको पनि अध्ययनले देखाएको छ ।

डा. श्रीशले जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनले मानिसमा बढ्ने तनाव, थकान र जीवनशैलीमा आउने परिवर्तनले यौन स्वास्थ्य र प्रजनन क्षमतामा असर पारिरहेको बताइन् । जलवायुजन्य विपद्को समयमा प्रभावितले समयमै स्वास्थ्य उपचार गराउन नपाउने व्यवहारिक कठिनाइका कारण समेत प्रजनन स्वास्थ्यमा गम्भीर समस्या देखिने गरेको उनको भनाइ छ ।

डा. श्रीशका अनुसार वातावरणीय असन्तुलनको कारण बढ्दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थको प्रभाव तथा प्लास्टिकजन्य सामग्रीको प्रयोगले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ । महिलामा महिनावारीमा अनियमितता र छिटो मेनोपज हुने समस्या देखिने गरेको तथा पुरुषमा शुक्राणुको गुणस्तर र सङ्ख्यामा कमी तथा डीएनए क्षति हुनसक्ने जोखिम बढाएको बताइन् ।

विश्व तथ्यांकअनुसार, प्रत्येक ६ दम्पतीमध्ये १ दम्पती निःसन्तानपनको समस्याबाट प्रभावित हुने गरेका छन् । नेपालमा यसबारे अध्ययन नभए पनि सोही अनुपातमा समस्या रहेको डा.श्रीशले बताइन् । डा.श्रीशले निःसन्तानको समस्याले दीर्घकालीन रूपमा सिङ्गो देश र विश्वलाई नै प्रभाव पार्ने भएकाले व्यक्तिको स्वास्थ्य समस्याको रूपमा नभई पब्लिक हेल्थको रूपमा लिनुपर्नेमा जोड दिइन् ।

जलवायु परिवर्तनले महिला र पुरुषको प्रजनन स्वास्थ्यमा कस्तो असर पार्छ ?

डा.श्रीश निःसन्तानको समस्या महिला र पुरुष दुवैमा बराबर हुने बताउँछिन् । नेपाली समाजमा कुनै दम्पतीमा निःसन्तान देखिएमा महिलालाई मात्र दोष दिने प्रवृत्ति रहेको भए पनि समस्या पुरुषमा पनि समान रहेको उनले बताइन् । महिलाहरूमा वातावरणीय जोखिमको कारण  अण्डाणुको गुणस्तर कमजोर हुँदै जाने तथा प्रजनन क्षमतामा समेत ह्रास आउने गर्दछ ।

उनले वायु प्रदूषण र प्लास्टिकजन्य वस्तुको अधिकतम प्रयोगको कारण समेत दम्पतीहरूमा उपचारको नतिजामा प्रभाव पर्ने गरेको देखिएको बताइन् । जलवायुजन्य प्रभावका कारण बदलिएको मौसमी चक्र, प्रदूषण, तापक्रम लगायतले शुक्रकीटको सङ्ख्या घटाउने तथा शुक्रकीटको गतिशीलतामा कमी ल्याउने समस्या देखिएको डा. श्रीशले बताइन् । उनले विश्वभर पुरुषहरूमा शुक्रकीटको सङ्ख्या क्रमशः घटिरहेको र यसो हुनुको मुख्य कारणका रूपमा जलवायु परिवर्तनलाई हेरिएको उल्लेख गरिन् ।

उनले भनिन्, ‘हाम्रो समाजमा निःसन्तान महिलाको कारण मात्र हुन्छ भन्ने भाष्य बनाएर ट्याग लगाइदिने भएर मात्र हो । तर विश्वव्यापी अनुसन्धान र अध्ययनले भने  निःसन्तानपन हुनुमा महिला र पुरुष दुवैमा उत्तिकै समस्या भएको कारण हुने गरेको छ । अहिले महिला र पुरुषको कारणले भन्दा पनि अज्ञात कारणले पनि निःसन्तानपनको समस्या बढिरहेको हुन्छ ।

हाम्रो समाजमा निःसन्तान महिलाको कारण मात्र हुन्छ भन्ने भाष्य बनाएर ट्याग लगाइदिने भएर मात्र हो । तर विश्वव्यापी अनुसन्धान र अध्ययनले भने  निःसन्तानपन हुनुमा महिला र पुरुष दुवैमा उत्तिकै समस्या भएको कारण हुने गरेको छ । अहिले महिला र पुरुषको कारणले भन्दा पनि अज्ञात कारणले पनि निःसन्तानपनको समस्या बढिरहेको हुन्छ ।’

‘जलवायु परिवर्तन र प्रजनन स्वास्थ्यको विषयमा एकीकृत अध्ययन आवश्यक’

डा.श्रीशले निःसन्तानपनको समस्यालाई व्यक्तिको समस्याको रूपमा मात्र सार्वजनिक स्वास्थ्यको रूपमा हेर्नुपर्नेमा जोड दिइन् । त्यसैले नेपाल सरकारले पनि पर्यावरणीय असन्तुलन र प्रजनन स्वास्थ्य बारे एकीकृत अध्ययन गर्न आवश्यक रहेको तर्क डा.श्रीशले गरिन् । उनले सरकारले जलवायु परिवर्तनका कारण प्रजनन स्वास्थ्यमा परेको असरबारे अध्ययन गरी सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा आवश्यक नीति निर्माण गर्नुपर्ने तर्क गरिन् ।

उनले भनिन्, ‘जलवायु परिवर्तनको विषयलाई केबल वातावरण संरक्षण, सरसफाइ र वृक्षारोपण गर्ने मात्रै नभई त्यसले प्रजनन स्वास्थ्यमा पार्ने असरका विषयलाई पनि एकीकृत रूपमा हेर्नुपर्ने देखिएको छ । किनभने महिला स्वस्थ भयो र प्रजनन क्षमता बलियो भने बच्चा स्वस्थ हुन्छ । स्वस्थ बच्चा जन्मेपछि हाम्रो भविष्य पनि राम्रो हुन्छ ।

हाम्रा हरेक क्रियाकलाप जलवायु परिवर्तनसँग सम्बन्धित छ र यसले कहीँ न कहीँ हाम्रो प्रजनन स्वास्थ्यमा असर गरिरहेको छ । स्वस्थ आमा, स्वस्थ बच्चा र स्वस्थ भविष्यमा हामी सबैले ध्यान दिन जरुरी रहेको छ । किनभने आमा स्वस्थ भयो भने मात्रै बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने मात्रै हाम्रो भविष्य पनि स्वस्थ हुन्छ । त्यसैले जलवायु परिवर्तनको कारण प्रजनन स्वास्थ्यमा देखिने समस्याको बारेमा सरकार र सम्बन्धित निकाय मिलेर अध्ययन–अनुसन्धान गर्न जरुरी छ ।’

उनले जलवायु परिवर्तनको असर मानिसको प्रजनन स्वास्थ्यमा पर्न नदिन पर्यावरणमैत्री जीवनशैलीको अभियानको थालनी गर्नुपर्नेमा जोड दिइन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप