शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
भारतको जनसंख्या

भारतको घट्दो प्रजनन दरः कारण र परिणाम

शनिबार, ३० जेठ २०८३, १४ : ४९
शनिबार, ३० जेठ २०८३

सारांश

  • भारतको कुल प्रजनन दर प्रति महिला १.९ बच्चामा झरेको छ, जुन जनसंख्या स्थिर राख्न आवश्यक २.१ भन्दा कम हो ।
  • शिक्षा, गर्भनिरोधक साधनमा पहुँच, बालबालिका हुर्काउने लागतमा वृद्धि र शिशु मृत्युदरमा आएको कमी जस्ता कारणले प्रजनन दर घटेको छ ।
  • घट्दो प्रजनन दरले भविष्यमा श्रमशक्तिको अभाव र वृद्धवृद्धाको जनसंख्या बढ्ने जस्ता परिणाम निम्त्याउने चिन्ता बढेको छ ।

पहिलोपटक भारतको प्रजनन दर घटेको छ । यो दर मुलुकको जनसंख्या गिर्नबाट रोक्न आवश्यक पर्ने स्तरभन्दा पनि तल छ । यसकै कारण भविष्यमा श्रमशक्तिको अभाव हुने तथा ‘वृद्धवृद्धाले समाज भरिने’ चिन्ता पनि बढेको छ । 

दशकौँदेखि भारतले तीव्र जनसंख्या वृद्धि भग्दै आएको हो । देशको सबैभन्दा ठूलो जनसंख्या सर्वेक्षण (नमूना दर्ता प्रणाली–यसआरयस) लगायत सरकारी तथ्याङ्क अनुसार, भारतमा केही वर्षयता प्रजनन दर घट्दै गएको थियो । तरपनि जनसंख्या बढिरहनका लागि आवश्यक पुनरुत्पादन दर भने उच्च नै रहेको थियो । भारतको गत महिना जारी गरिएको पछिल्लो यसआरयस प्रतिवेदनले, भारतको कुल प्रजनन दर (टिएफआर) प्रति महिला १.९ बच्चामा झरेको जनाएको छ । यो भनेको भविश्यमा जनसंख्या स्थिर राख्न आवश्यक पर्ने बेन्चमार्क स्तर २.१ भन्दा कम हो । टीएफआर भनेको एक महिलाले आफ्नो जीवनकालमा जन्माउने आकलन गरिएको बच्चाहरूको औसत संख्या हो । सन् २००० को दशकमा भारतको टीएफआर प्रतिमहिला लगभग ३.३ थियो । 

घट्दो प्रजनन दरको पछाडि के छ कारण ? 

१९७० को दशकदेखि दशकौँसम्म, भारतीय सरकार र नीति निर्माताहरूले त्यतिबेलाको सापेक्षिक गरिब राष्ट्रका लागि व्यवस्थापन गर्न धेरै थोरै स्रोतहरू भएकाले जनसंख्या वृद्धिविरुद्ध लड्ने प्रयास गरे । १९७० को दशकमा मानिसहरूलाई जबरजस्ती बन्ध्याकरण गर्ने विवादित प्रयास पनि भए । धेरै माथिबाट लादिएका सरकारी पहलहरूले भारतको जनसंख्या नियन्त्रण गर्ने लक्ष्य राखेका थिए । त्यसका बावजुद पनि सन् २०१९ सम्म, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अझै पनि बढेर ‘जनसंख्या विस्फोट’ को चेतावनी दिइरहेका थिए । 

तर पहिलोपटक सन् २०२२ सम्म राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणले भारतको टीएफआर समुदायहरूमा द्रुत गतिमा घटिरहेको संकेत गर्ने तथ्याङ्क बाहिर ल्यायो । यद्यपि, एक वर्षपछि भारत चीनलाई पछि पार्दै विश्वको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र बन्यो । र, घट्दो प्रजनन दरको प्रवृत्ति १.५ अर्ब जनसंख्याको मुख्य समाचारहरूमा ओझेलमा पर्‍यो । 

अहिलेको पछिल्लो सर्वेक्षणले नीति निर्माताहरूले योजना बनाएको भन्दा चाँडै नै जनसंख्या घट्ने सम्भावना बलियो रहेको संकेत गर्छ । 

विज्ञहरूका अनुसार शिक्षा र गर्भनिरोधक साधनहरूमा राम्रो पहुँच हुनु नै प्रजनन दर घट्नुका प्रमुख कारकहरू हुन् । यसका अलावा बालबालिका हुर्काउन लाग्ने लागतमा भएको वृद्धि पनि जिम्मेवार छ । भारतमा सामाजिक नीतिमा काम गर्ने विकास अर्थशास्त्री दीपा सिन्हाका अनुसार जब समाजमा धेरै महिलाहरूको शिक्षा र गर्भनिरोधक साधनहरूमा पहुँच हुन्छ र घरायसी निर्णय प्रक्रियामा उनीहरूको भूमिका बढ्छ, तब अक्सर कुल प्रजनन दर घट्छ । जब अर्थतन्त्र महँगो हुन्छ, बालबालिका हुर्काउन पनि खर्चिलो हुन्छ, तब पनि यसको दर घट्छ । 

india-population

त्यस्तै उनले यसको अर्को कारण पनि रहेको बताइन् । शिशु मृत्युदर घट्दै जाँदा धेरै बच्चा जन्माउने इच्छा पनि कम हुँदै जान्छ । पछिल्लो एसआरएस प्रतिवेदन अनुसार भारतमा शिशु मृत्युदरमा उल्लेखनीय गिरावट आएको छ । 

सन् २०१९ मा प्रतिहजार जीवित जन्ममा ३० को मृत्यु हुने गरेकोमा सन् २०२४ मा प्रतिहजार जीवित जन्ममा २४ को मृत्युमा झरेको छ । यी कारकहरू देशैभरिका प्रजनन दरका फरक–फरक स्तरहरूसँग लगभग पूर्ण रूपमा मेल खान्छन् । 

मेको जनसांख्यिक सर्वेक्षण प्रतिवेदन अनुसार सबैभन्दा कम शिक्षाको स्तर र उच्च शिशु मृत्युदर भएको उत्तर भारतको बिहार जस्तो सबैभन्दा गरिब राज्यले देशमै सबैभन्दा बढी २.९ प्रजनन दर रेकर्ड गरेको छ । 
यसैगरी यो दर उत्तर प्रदेशमा २.६ रहेको छ । यसको विपरीत सबैभन्दा उच्च शिक्षाको स्तर र सबैभन्दा कम शिशु मृत्युदर भएको भारतको राजधानी नयाँ दिल्लीमा प्रतिमहिला औसत १.२ जन्मका साथ सबैभन्दा कम प्रजनन दर देखिन्छ । भारतमा सबैभन्दा राम्रो स्वास्थ्य र शिक्षा प्रणाली भएका तमिलनाडु र केरलाजस्ता दक्षिणी राज्यमा यो दर १.३ छ ।

८० को दशकको सुरुदेखि भारतमा क्षेत्रीय विकाससम्बन्धी गरिएका धेरै अध्ययनहरूले अर्थतन्त्र र समाजमा महिलाको स्थिति दुवै हिसाबले दक्षिणका राज्यहरू द्रुत गतिमा विकास भएको देखाएका छन् । त्यसैले यी कारणहरूले प्रजनन दर कम गर्न योगदान पुर्‍याएका छन् । 

घट्दो प्रजनन दरका परिणामहरू 

सन् २००५ मा भारतको जनसंख्या ‘जनसाङ्ख्यिक लाभांश’ (डेमोग्राफिक डिभिडेन्ड) भनिने चरणमा प्रवेश गर्‍यो । यो यस्तो चरण हो जब देशको काम गर्ने उमेरको जनसंख्या (१५–६४ वर्ष) को अनुपात श्रम शक्तिमा नरहेका वृद्धवृद्धा र बालबालिकाको संख्याभन्दा बढी हुन्छ । 

भारतको जनसाङ्ख्यिक लाभांश सन् २०५५ सम्म रहने अपेक्षा गरिएको छ । जापान, सिङ्गापुर र हङकङ सन् १९६० को दशकमा यस चरणमा प्रवेश गरे र द्रुत रूपमा विकसित अर्थतन्त्र बने । चीन सन् १९८० को दशकमा यस चरणमा प्रवेश गर्‍यो । र, आर्थिक सुधारहरूसँगै द्रुत गतिमा अर्थतन्त्र उदायो । आज यो विश्वको दोस्रो ठुलो अर्थतन्त्र हो । भारतमा पनि जनसांख्यिक लाभांशले अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत गरेको छ । तर लाखौँ मानिस अझै पनि बेरोजगार छन् र भारत विकसित अर्थतन्त्र बन्नबाट अझै धेरै टाढा छ । 

अहिले, घट्दो प्रजनन दरका कारण भारतले जनसांख्यिक लाभांशको फाइदा लिन नसक्ने हुन सक्छ भन्दै विज्ञहरूले चेतावनी दिइरहेका छन् । किनभने, श्रमशक्ति खुम्चिँदै गएको छ । वृद्धवृद्धाको जनसंख्या द्रुत गतिमा बढिरहेको छ । ‘यदि कम बच्चाहरू जन्मिए भने अबको लगभग ३० देखि ४० वर्षमा भारतमा श्रम शक्तिमा सक्रिय सहभागी हुन नसक्ने वृद्धवृद्धाहरूको संख्या हाबी हुनेछ । यसले देशको श्रम शक्तिमा चुनौती खडा गर्नेछ,’ सिन्हा भन्छिन् । 

भारतको जनसंख्या तथ्यांक पछाडिको राजनीति

देशका विभिन्न भागहरूमा व्यापक रूपमा फरक रहेको प्रजनन दरको अर्थ यो हो कि उत्तरी राज्यहरू (जहाँ पहिले नै बढी जनसंख्या छ) आउँदा वर्षहरूमा भारतको जनसंख्याको अझ बढ्दो हिस्सेदार बन्नेछन् । 
दक्षिणी राज्यहरूले हालैका वर्षहरूमा भारतीय संघीय सरकार (विशेष गरी मोदीको नेतृत्व)ले उनीहरूलाई बजेट दिएर ‘दण्डित’ गरिरहेको गुनासो गरिरहेका छन् । मोदीको भारतीय जनता पार्टी (भाजपा) ले ऐतिहासिक रूपमा दक्षिणी भारतमा ठुलो राजनीतिक पहुँच बनाउन संघर्ष  गरेको छ । अनि हालैका वर्षहरूमा केही उपलब्धि पनि हासिल गरेको छ । अहिले देशको सरकारद्वारा राज्य सरकारहरूलाई गरिने वित्तीय स्रोतहरूको वितरण अझ ठुलो राजनीतिक विवादको विषय बन्न सक्छ भन्ने सिन्हाको धारणा छ । 

यसै वर्षको अन्त्यतिर भारत सरकारले संसद्मा ‘निर्वाचन क्षेत्र निर्धारण’ (डिलिमिटेसन) नामक नीति प्रस्तुत गर्नेछ । जसले यसै वर्षको सुरुमा सुरु भई सन् २०२७ मा सम्पन्न हुने उपमहाद्वीपको नयाँ जनगणनामा आधारित जनसंख्याको आँकडाअनुसार प्रत्येक राज्यलाई सिटहरू तोक्नेछ । 

‘जब निर्वाचन क्षेत्र निर्धारण लागु हुन्छ, तब संसद्मा दक्षिणी सिटहरूको हिस्सा घट्ने डर छ,’ सिन्हाले थपिन् । यसबाहेक भारतको सत्ताधारी भाजपाले लामो समयदेखि भारतमा मुस्लिमहरूले हिन्दुले भन्दा बढी बच्चा जन्माइरहेका छन् भन्ने रुढीवादी धारणालाई बढावा दिँदै आएको छ । यसले हिन्दुमाझ कुनै दिन मुस्लिमहरूले संख्याको हिसाबमा उनीहरूलाई उछिन्न सक्छन् भन्ने डर फैलाएको छ । 

20230429_BLP502

हिन्दु कट्टरपन्थीहरूले हिन्दुहरूलाई बढी बच्चा पाउन आग्रह गर्दै आएका छन् । फेब्रुअरीमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतले हिन्दु दम्पतीलाई समुदायको दीर्घकालीन सामाजिक पतन रोक्न कम्तीमा तीनदेखि चार वटा बच्चा जन्माउन आग्रह गरेका थिए । तर वास्तविकता त्यस्तो देखिदैँन, सन् २०११ को पछिल्लो जनगणनामा भारतको मुस्लिम जनसंख्या १३ प्रतिशत थियो । सरकारी तथ्यांकले देखाउँछ कि भारतमा हिन्दुलगायत अन्य कुनै पनि धार्मिक समूहको तुलनामा मुस्लिम प्रजनन दर द्रुत गतिमा घटिरहेको छ । 

मुस्लिमहरूको प्रजनन दर सन् १९९२ र २०२१ को बिचमा ४.४१ बाट घटेर २.३६ मा झरेको छ, जबकि हिन्दुहरूको लागि यो ३.३ बाट घटेर १.९४ मा झरेको छ । पछिल्लो सर्वेक्षणले भारतको प्रजनन दर सबै धर्महरूमा तीव्र रूपमा घटिरहेको कुरालाई थप संकेत गर्छ ।

के भारत आफ्नो घट्दो प्रजनन दरको सामना गर्दै छ ?

भारतीय सरकारले आफ्नो घट्दो प्रजनन दरलाई सम्बोधन गर्न अझै सम्म देशव्यापी नीति घोषणा नगरेको भए तापनि, कतिपय राज्यहरूले मानिसहरूलाई बढी बच्चा जन्माउन प्रोत्साहित गर्ने प्रयास गरिरहेका छन् । 
गत महिना दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशले तेस्रो बच्चाको जन्ममा परिवारले ३० हजार र चौथो बच्चाका लागि ४० हजार रुपैयाँ पाउने बताएको छ । यसआरयस तथ्यांकअनुसार आन्ध्र प्रदेशको कुल प्रजनन दर १.४ रहेको छ । 

पश्चिमको गोवा र दक्षिणका कर्नाटक र तेलङ्गानाजस्ता राज्यहरूले पहिलो पटक आमाबाबु बन्नेहरूका लागि राज्यको अनुदानमा आईभीएफ केन्द्रहरू सुरु गरेका छन् । ताकि मानिसहरूलाई बढी बच्चा जन्माउन प्रोत्साहित गर्न सकियोस् । 

सिन्हाले भारतीय सरकारले मानिसहरूको व्यक्तिगत प्रजनन छनोटको सम्मान गर्नुपर्ने र उनीहरूलाई सहयोग गर्नुपर्ने बताउँछिन् । ‘भारतजस्ता देशहरूका लागि आफ्नो जनसांख्यिक संरचना र भविष्यको आवश्यकताका आधारमा सार्वजनिक नीति बनाउनु महत्त्वपूर्ण हुन्छ । त्यसैले हामी वृद्ध बाहुल्य जनसंख्या हुन गइरहेका छौँ भने, हामीले धेरै वृद्ध मानिसहरूलाई मद्दत गर्न तयार हुनुपर्छ,’ उनी भन्छिन् । देशलाई ‘अहिले नै यस्तो नीति आवश्यक छ, जसले उनीहरूलाई वृद्धावस्थामा राम्रो स्वास्थ्य सेवा, निवृत्तिभरण (पेन्सन) र सामाजिक सुरक्षाको ग्यारेन्टी गरोस् ।’

एसियाका अन्य देशहरूमा प्रजनन दरको नाटकीय गिरावट

चीन, ताइवान र दक्षिण कोरियाजस्ता अन्य एसियाली देशहरूले पनि द्रुत रूपमा घट्दो प्रजनन दरको सामना गरिरहेका छन् । विश्व बैंकका अनुसार चीनको १.० को प्रजनन दर २.१ को प्रतिस्थापन स्तरभन्दा निकै तल छ । ताइवानको गृह मन्त्रालयले यसै वर्षको सुरुमा बताएअनुसार यसको कुल प्रजनन दर लगभग ०.८६ रहेको छ र यो अझै तल झर्ने सम्भावना छ । संयुक्त राष्ट्र सङ्घका अनुसार दक्षिण कोरियाको दर प्रतिमहिला लगभग ०.७५ बच्चा रहेको छ । यो भनेको विश्वभरमै सबैभन्दा कम हो । 

अलजजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप