होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
सारांश
- कीर्तिपुरको राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरू सोमबार भोकभोकै बस्न बाध्य भए, खाना खुवाउने टोली नै निस्किएपछि उनीहरू आन्दोलित बनेका छन् ।
- थापाथलीको बागमती किनारबाट उठीबास लगाइएपछि विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी परिवारहरूले न खाने सुविधा छ न सुरक्षित बास, जसले गर्दा उनीहरू भोकै मर्नुपर्ने अवस्थामा पुगेका छन् ।
- सुकुमबासी अधिकारकर्मी र महिला एकता समाजले राज्यले कानुनको प्रक्रिया पालना नगरी जबरजस्ती निष्काशन गरेको र मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको भन्दै तत्काल गाँस, बास र कपासको ग्यारेन्टी गर्न माग गरेका छन् ।
काठमाडौँ । कीर्तिपुरको राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरू सोमबार भोकभोकै बस्न बाध्य भए । खाना खुवाउने टोली नै भाँडाकुँडा बोकेर निस्किएपछि होल्डिङ सेन्टरमा बसेका सुकुमबासी आन्दोलित बनेका छन् ।
राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा ६७ परिवारका २५० जना सुकुमबासी आन्दोलित बनेका हुन् । २१ वर्ष थापाथलीको सुकुमबासी बस्तीमा बसेका कुमार राई हाल कीर्तिपुरको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । सोमबार मध्याह्न ४ कक्षा पढ्ने छोरीका साथमा उनी माइतीघर मण्डलामा भेटिए ।
कीर्तिपुरदेखि मजदुरी गर्न कोटेश्वर पुग्ने राईले आइतबारदेखि नै खाना नपाएको गुनासो गरे । खाना पकाउने टोलीले किन भाँडा लगे भन्ने उनले बुझ्न सकेका छैनन् ।
उनकी छोरी रेश्मा स्कुल नगई माइतीघरमा आन्दोलनमा भेटिइन् । होल्डिङ सेन्टरबाट एकछिन बाहिर निस्किन पनि नपाइने, निस्किनै परे कडा निगरानी हुने गरेको सुकुमबासीको गुनासो छ । कडा निगरानीबिच सोमबार निस्किएका केही सुकुमबासीले माइतीघरमा आन्दोलन गरेका थिए ।
शिशु र दमका रोगी थप जोखिममा
काठमाडौँको थापाथलीस्थित बागमती किनारबाट उठीबास लगाइएपछि विभिन्न ‘होल्डिङ सेन्टर’ मा आश्रय लिइरहेका सुकुमबासी परिवारहरू यतिबेला दोहोरो मारमा परेका छन् । सरकारले व्यवस्थापनको आश्वासन दिएर राखेका ती परिवार अहिले न घर, न घाटको अवस्थामा पुगेका छन् ।

सरकारले व्यवस्थापनका लागि केही राहत उपलब्ध गराउने भनिए पनि होल्डिङ सेन्टरमा खाना खुवाउँदै आएका संस्थाहरूले हात झिकेपछि सुकुमबासीको बिचल्ली भएको हो ।
कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका पीडित डम्बर बहादुर तामाङका चार जनाको परिवार छ । ‘हामीलाई न खाने सुविधा छ, न सुरक्षित बास । अब त खाना पनि खोसियो,’ दुई पटक आँखाको अप्रेसन गरेका तामाङले भने, ‘भोकै मर्नुपर्ने अवस्था आइसकेको छ ।’
मुटुको रोगी पत्नीको उपचार गराउनु पर्ने पीडा एकातिर छ भने भोको पेटको चिन्ता अर्कोतिर छ । ‘खाना बन्द गर्नुको कारण के हो ? उहाँहरूको उद्देश्य के हो ? मान्छेलाइ बाँच्नै नसक्ने अवस्था किन सिर्जना गरियो ?’ उनले सरकारलाई प्रश्न गरे ।
सुकुमबासी अधिकारकर्मी दल मर्दन कामीका अनुसार होल्डिङ सेन्टरमा रहेका गर्भवती महिला, बालबालिका, बिरामीहरूको बिचल्ली भएको छ । २४ घण्टाको म्याद दिएर हतार–हतार उठीबास लगाउँदा धेरैको सम्पत्ति नष्ट भएको उनले बताए ।

‘राज्यले कानुनको प्रक्रिया पालना नगरी जबरजस्ती निष्काशन गर्यो,’ उनले भने, ‘अहिले ६७ घर परिवारका २५० जनाभन्दा बढी मानिस सडकको बास र होल्डिङ सेन्टरको कैदी जीवन बाँच्न बाध्य छन् ।’
सरकारले आर्थिक सहायता दिएको दाबी गरिरहँदा होल्डिङ सेन्टरको वास्तविकता भने भिन्न छ । पीडितहरूका अनुसार, त्यति थोरै रकमले काठमाडौँमा व्यवस्थापन सम्भव छैन ।
सुकुमबासी महिलाहरूको क्षेत्रमा काम गरिरहेको महिला एकता समाजले सरकारको यो कदमलाई ‘मानव अधिकारको गम्भीर उल्लङ्घन’ भनेको छ ।
अहिले होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरूले तुरुन्त गाँस, बास र कपासको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् । होल्डिङ सेन्टरमा खाना बनाउने टोली किन एकाएक हिँड्यो भन्नेबारे सरकारको कुनै पनि निकायले हालसम्म स्पष्ट जबाफ दिएको छैन ।
२६ दिने शिशु भेन्टिलेटरमा
नेपाल महिला एकता समाजकी अध्यक्ष बीना बुद्धाचार्यले थापाथलीको प्रसूति गृहमा सुकुमबासी परिवारकै २६ दिनको एक शिशु भेन्टिलेटरमा छटपटाइरहेको सुनाइन् । ‘सरकारको जिम्मामा रहेका नागरिकहरूलाई गाँस र बासको व्यवस्था गर्न नसक्नु राज्यको गैरजिम्मेवारीपन हो,’ बुद्धाचार्यले आक्रोश पोख्दै भनिन्, ‘मान्छे मर्न बाध्य बनाउने गरी राज्यले व्यवहार गरिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
नेपाल–भारत सीमा स्तम्भ संरक्षणबारे दुवै देशका अधिकारीहरूबिच के भयो छलफल ?
-
धादिङ र प्युठानबाट १७ थान भरुवा बन्दुक बरामद
-
जबरजस्ती करणीको अभियोगमा तीन जना पक्राउ
-
स्पेसएक्सको आईपीओबाट अपेक्षाभन्दा १० अर्ब डलर बढी रकम सङ्कलन
-
जवाफका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न प्रतिपक्षी सांसदको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण