मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

नेपाल–भारत सीमा स्तम्भ संरक्षणबारे दुवै देशका अधिकारीहरूबिच के भयो छलफल ?

मङ्गलबार, ०२ असार २०८३, १२ : ०७
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • नेपाल र भारतका अधिकारीहरू सीमा स्तम्भहरूको संरक्षण, मर्मत तथा पुनर्निर्माण कार्यलाई थप तीव्रता र प्रभावकारिताका साथ अघि बढाउन सहमत भएका छन्।
  • चालू आर्थिक वर्षमा सुदूरपश्चिमका पाँच जिल्लामा ११ वटा सीमा स्तम्भको पुनर्निर्माण र ५२ वटाको मर्मत कार्य सम्पन्न भएको छ।
  • बैठक सीमा विवाद समाधानभन्दा पनि जीर्ण बनेका स्तम्भहरूको भौतिक व्यवस्थापन र संरक्षणमा केन्द्रित रहेको थियो।

धनगढी । नेपाल र भारतका अधिकारीहरू सीमा स्तम्भहरूको संरक्षण, मर्मत तथा पुनर्निर्माण कार्यलाई थप तीव्रता र प्रभावकारिताका साथ अघि बढाउन सहमत भएका छन्।  कञ्चनपुरको महेन्द्रनगरमा सोमवार बसेको ‘नेपाल–भारत संयुक्त सीमा सर्वे फिल्ड टोली नम्बर–४’ को बैठकमा दुवै पक्षले सीमा संरचनाको भौतिक अवस्था सुधार गर्ने विषयमा ऐक्यबद्धता जनाएका हुन्।

बैठकमा संयुक्त सीमा सर्वे टोलीका प्रमुख ज्ञानेन्द्र विष्टले चालू आर्थिक वर्षमा भएका कामहरूको प्रगति विवरण प्रस्तुत गरे।

उनका अनुसार, यस अवधिमा सुदूरपश्चिमका पाँच जिल्लामा ११ वटा सीमा स्तम्भको पुनर्निर्माण र ५२ वटाको मर्मत कार्य सम्पन्न भएको छ। साथै, ४०२ वटा सीमा स्तम्भको स्थलगत निरीक्षण गरिएकोमा अधिकांश स्तम्भहरू जीर्ण अवस्थामा पाइएकाले आगामी दिनमा थप मर्मत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले यो बैठक सीमा विवाद समाधानभन्दा पनि वर्षौँदेखि जीर्ण बनेका स्तम्भहरूको भौतिक व्यवस्थापन र संरक्षणमा केन्द्रित रहेको स्पष्ट पारे।

‘दुवै देशका प्रशासन, सुरक्षा, नापी र वन क्षेत्रका अधिकारीहरूबिच सीमा स्तम्भको प्रभावकारी व्यवस्थापन गर्ने विषयमा महत्त्वपूर्ण छलफल र सहमति भएको छ,’उनले भने।

यस्तै नेपाली पक्षको नेतृत्व गरेका कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विगत तीन महिनाको कार्य समीक्षा गर्दै हराएका स्तम्भहरूको खोजी गर्ने र भत्किएका संरचनाहरूको मर्मत कार्यलाई अझ तीव्र बनाइने जानकारी दिए।

त्यसैगरी, भारतीय टोलीको नेतृत्व गरेका उत्तराखण्ड राज्यको उधमसिंह नगरका जिल्ला अधिकारी डीएम नितिन सिंह भदौरियाले संयुक्त टोलीको कार्यलाई थप परिणाममुखी बनाउन भारतको तर्फबाट पूर्ण सहयोग र प्रतिबद्धता रहने विश्वास दिलाए।

बैठकमा नेपालका तर्फबाट कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका अधिकारीहरू सहभागी थिए भने भारतका तर्फबाट उत्तर प्रदेशको पिलिभित, लखिमपुर खिरी र उत्तराखण्डको उधमसिंह नगर, चम्पावत तथा धार्चुला जिल्लाका सुरक्षा र प्रशासनिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप