एमालेको ऐना पुछ्ने प्रवृत्ति र चुनावी समीक्षाको यथार्थ
सारांश
- नेकपा (एमाले) ले विगतको निर्वाचनमा अप्रत्याशित पराजयको सामना गरेको छ, जसलाई पार्टीको नेतृत्वले वस्तुनिष्ठ रूपमा समीक्षा गर्नुपर्ने आवश्यकता छ।
- पार्टी नेतृत्वले आफ्ना कमजोरी र नीतिगत विचलनलाई स्वीकार्नुको सट्टा बाह्य शक्तिहरूमाथि दोष थोपरेर समस्यालाई ढाकछोप गर्ने प्रयास गरिरहेको छ।
- निर्वाचनमा पराजयको प्रमुख कारणहरूमा आन्तरिक लोकतन्त्रको सङ्कुचन, अपारदर्शी उम्मेदवार चयन प्रक्रिया, परम्परागत प्रचार शैली र नेतृत्वको व्यक्तिपूजा जस्ता विषयहरू रहेका छन्।
‘उम्र भर गालिब यही भूल करता रहा
धूल चेहरे पे थी आइना साफ करता रहा’
प्रसिद्ध शायर गालिबको यो नज्म निकै चर्चित छ । यो सानो नज्मले धेरै कुरा भन्छ र एउटा खास प्रवृत्तिमाथि कडा व्यङ्ग्य पनि गर्छ ।
कुनै राजनीतिक दल वा आन्दोलनको वास्तविक आन्तरिक सामर्थ्य तब मात्र परीक्षण हुन्छ, जब उसले अप्रत्याशित पराजय वा गम्भीर धक्काको सामना गर्छ । राजनीतिमा हार र जित स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हुन् । तर हारपछिको आत्ममन्थन र प्रतिक्रियाले उक्त दलको भविष्य, परिपक्वता र चेतनाको स्तर निर्धारण गर्छ ।
एउटा स्थापित मनोवैज्ञानिक सत्य के हो भने हरेक कमजोरले पछिल्तिर बढी ध्यान दिन्छ । हारेपछि मात्र गम्भीर हुनुले त्यही देखाउँछ । विगतको निर्वाचन परिणामलाई वस्तुनिष्ठ ढङ्गले हेर्ने हो भने नेपाली राजनीतिमा एउटा ठुलो र गम्भीर तरङ्ग आएको प्रस्ट देखिन्छ ।
विगतको निर्वाचनमा वर्षौँदेखि जरा गाडेर बसेका र देश सञ्चालन गरिसकेका पुराना राजनीतिक दलहरूले सोचेजस्तो र अपेक्षित जित हासिल गर्न सकेनन् । यो परिणाम केवल अङ्कगणितीय आँकडाको फेरबदल मात्र थिएन, बरु परम्परागत राजनीतिक शैली, एकाधिकार र व्यवहारप्रति आम मतदाताले शान्त विद्रोहमार्फत दिएको एउटा बलियो धक्का हो ।
यसमा लोकप्रिय र बलियो दाबी गर्दै आएको नेकपा (एमाले) ले समेत ठुलो धक्का महसुस गरेको देखिन्छ । यो धक्का यति गम्भीर छ कि यसले पार्टीको साङ्गठनिक दम्भदेखि वैचारिक निरन्तरतासम्मलाई पुनरावलोकन गर्न बाध्य तुल्याएको छ ।
अहिलेसम्म सतहमा आएका बहस, नेतृत्वका सार्वजनिक अभिव्यक्ति र जवाफहरू हेर्ने हो भने निकै सतही, ओँठे र जवाफदेहिताविहीन देखिन्छन् ।
निर्वाचन परिणाम पूर्ण रूपमा सार्वजनिक भएसँगै पार्टीभित्र र बाहिर एउटै प्रश्न सघन र पेचिलो रूपमा उठिरहेको छ– पार्टीले चुनाव किन हार्यो ? लोकतन्त्रमा कुनै पनि साङ्गठनिक वा राजनीतिक असफलताको निर्मम, वस्तुनिष्ठ र पारदर्शी समीक्षा हुनु अनिवार्य सर्त मानिन्छ । यस पराजयको विषयमा पनि पार्टीभित्र यसको गम्भीर समीक्षा हुनुपर्छ । पक्कै पनि भइरहेकै होला ।
तर, अहिलेसम्म सतहमा आएका बहस, नेतृत्वका सार्वजनिक अभिव्यक्ति र जवाफहरू हेर्ने हो भने निकै सतही, ओँठे र जवाफदेहिताविहीन देखिन्छन् ।
नेतृत्व र जिम्मेवार निकायहरूले आफ्ना कमजोरी र नीतिगत विचलनलाई खुला हृदयले स्वीकार्नुको साटो जसरी विषयान्तर गरिरहेका छन्, त्यसले समस्याको चुरोलाई समाधान गर्नुको साटो झन् ढाकछोप गर्ने काम मात्र गरेको छ । तसर्थ जस्तालाई त्यस्तै भन्ने हो भने, ‘भोट कम आयो, चुनाव हारियो ।’ अझ भनौँ, ‘सबै प्रतिस्पर्धीले जित्न मिल्दैन, अरूले जितेको हुनाले हामीले हार्यौँ’ अर्थात् चुनाव हार्नुमा हाम्रो केही जिम्मेवारी छैन जस्तो ।
यस्तो गैरजिम्मेवार, हलुका र आत्मरतिले भरिएको तर्कले न त अहोरात्र खट्ने इमानदार कार्यकर्ताको चित्त बुझाउन सक्छ, न त आगामी निर्वाचनका लागि कुनै सही साङ्गठनिक मार्गचित्र नै तय गर्न सक्छ ।
नेपाली कम्युनिस्ट आन्दोलन र समग्र राजनीतिक वृत्तमा एउटा स्थापित खराब संस्कार छ– आफ्ना आन्तरिक कमजोरी लुकाउन अमूर्त, अदृश्य र बाह्य शक्तिहरूमाथि दोष थुपारेर आफू पानीमाथिको ओभानो बन्ने । एमालेको यो अप्रत्याशित हारलाई पनि कतिपय शीर्ष नेतृत्वले आफ्नै कार्यशैली, व्यक्तिवादी अहङ्कार र अपारदर्शिताको परिणाम मान्नुको साटो एउटा परम्परागत राजनीतिक थेगोको सहारा लिएर पन्छाउन खोजेका छन् ।
राजनीतिक थेगोमा भन्ने हो भने, ‘भूराजनीतिक प्रभाव अर्थात् देशी–विदेशी शक्ति कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन चाहन्छन्, त्यसैको प्रभाव हो ।’ यो भनाइले जनताप्रति अविश्वास गरेको ठहर्दैन र ? होला, तर यो कुनै नयाँ कुरा होइन, यसलाई रोक्ने उपाय कस्ता थिए भन्ने सवाल महत्त्वपूर्ण हो ।
जब पराजयको मुख्य कारण ‘बाहिरी शक्ति’ वा ‘विदेशी चलखेल’ लाई मात्र मानिन्छ भने परोक्ष रूपमा आफ्नै देशका सार्वभौम नागरिकको चेतना, विवेक र निर्णय क्षमतामा गम्भीर प्रश्न उठाइएको ठहर्छ । आम मतदाता, बहुसङ्ख्यक नेपाली नागरिक नै पार्टीका विरुद्ध छन्, सिधै अन्य बाहिरी शक्तिबाट परिचालित छन् भन्ने निष्कर्षमा पुग्नु जनमतको अपमान होइन र ? मतदातालाई विवेकहीन र परिचालित साधन मात्र ठान्ने यस्तो मानसिकताले पार्टी र जनताबीचको भावनात्मक सम्बन्धलाई झन् कमजोर र टाढा बनाउने काम गर्छ ।
यदि जनमत र आम नागरिक बाहिरी शक्तिबाट मात्रै परिचालित भएका हुन् भन्ने भाष्यलाई साँचो मान्ने हो भने वडा र टोलसम्म फैलिएको पार्टीको विशाल सङ्गठन, कमिटी र कार्यकर्ताको फौजको उपादेयता र अस्तित्वमाथि नै प्रश्न खडा हुन्छ । टोलसम्म क्रियाशील रहेका सङ्गठन, तिनमा परिचालित कार्यकर्ता र परिचालक नेताहरू के गर्थे ? कार्यकर्ता अबुझ हुन् कि नेता अक्षम ? के यी प्रश्न गम्भीर छैनन् र ? एउटा जीवन्त र गतिशील पार्टीका कार्यकर्ता र नेतृत्वले जनताको असन्तोष र बदलिँदो मनोविज्ञानलाई समयमै छाम्न सक्नुपर्ने होइन र ?
यदि गाउँ, टोल र वडामा रहेका कमिटीहरूले जनताको असन्तुष्टि र नयाँ पुस्ताको भावनालाई बुझ्न सकेनन् भने त्यो सङ्गठनको समग्र पराजय हो । घात, अन्तर्घात, मत परिवर्तन आदि जे भने पनि मूलतः नेतृत्वको कमजोरी हो । समीक्षामा यी र यस्ता विषय पर्छन् कि पर्दैनन् ? यथार्थ समीक्षा गर्ने हो भने यिनमा गम्भीर हुनैपर्छ । आन्तरिक कलह, गुटबन्दी र अन्तर्घातको बीजारोपण पनि वास्तवमा दोषपूर्ण नेतृत्व र विभेदकारी व्यवस्थापनकै उपज हो भन्ने तथ्यलाई लुकाउन मिल्दैन ।
पार्टीका स्थापित मापदण्ड र स्थानीय कमिटीको सिफारिसलाई लत्याएर केन्द्रबाट लाद्ने प्रवृत्तिले कार्यकर्तामा निराशा पैदा गर्यो । कतिपय स्थानमा त टिकट नै ‘हाइज्याक’ भएको अनुभूति भयो ।
निर्वाचनमा पराजयको अर्को एउटा प्रमुख र बिझाउने कारण आन्तरिक लोकतन्त्रको सङ्कुचन र उम्मेदवार चयन प्रक्रियामा देखिएको चरम अपारदर्शिता हो । चुनावअघि चुनाव लड्न इच्छुक आकाङ्क्षी धेरै हुन सक्छन् । सबैले टिकट पाउने कुरा भएन । तर टिकट पाउनेले किन पाए र नपाउनेले किन पाएनन् भन्नेबारे पारदर्शी विधि र चित्तबुझ्दो जवाफ दिइएको देखिएन । टिकट वितरणमा भएका अदूरदर्शी र अपारदर्शी निर्णयका कारण तीव्र असन्तोष र विद्रोह चुलिएको थियो ।
पार्टीका स्थापित मापदण्ड र स्थानीय कमिटीको सिफारिसलाई लत्याएर केन्द्रबाट लाद्ने प्रवृत्तिले कार्यकर्तामा निराशा पैदा गर्यो । कतिपय स्थानमा त टिकट नै ‘हाइज्याक’ भएको अनुभूति भयो । यस विषयमा नेतृत्व मौन र रमिते जस्तो देखियो । टिकट वितरणको यो भद्रगोल र स्वेच्छाचारिताले पार्टीभित्र एउटा कृत्रिम र बिझाउने विभाजन रेखा कोरिदियो । टिकट पाउने विजयी र नपाउने पराजित जस्तो अवस्था सिर्जना भयो । यसले कार्यकर्ताको मनोविज्ञानमा गहिरो नकारात्मक असर पार्यो ।
यति मात्र होइन, पार्टीको चुनावी नारा, एजेन्डा र प्रचार शैली पनि पूर्णतः परम्परागत, रुढ र नयाँ युगको आकाङ्क्षासँग असान्दर्भिक देखियो । चुनाव प्रचार भविष्यदर्शी थिएन । विगतको असल कामको गीत गाइयो, त्यही भाषण दोहोरियो ।
एमाले चुनावी मैदानमा ओर्लिँदा नयाँ युगको मागअनुसारको भिजन पस्कनुको साटो दशकौँ पुराना उपलब्धिलाई मात्रै राजनीतिक भोट ब्याङ्कका रूपमा भजाउन खोजियो । मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका जनहितकारी र सकारात्मक विषय उठाइए, जुन आजभन्दा ३२ वर्षअघिका विषय थिए । यसले आजका १८ वर्षे मतदातालाई प्रभाव पार्ने अपेक्षा गर्नु कल्पनातीत थियो ।
आजको नयाँ पुस्ता, जसले इन्टरनेट, डिजिटल प्रविधि र विश्वव्यापीकरणको खुला युगमा आँखा खोलेको छ, उसलाई ३२ वर्षअघिको ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ वा वृद्धभत्ताको पुरानो कथाले मात्र बाँधेर राख्न सम्भव थिएन । नयाँ पुस्ताले वर्तमानमा सुशासन र भविष्यमा रोजगारीको ठोस सुनिश्चितता खोजेको थियो, जुन पार्टीको प्रचारमा कतै देखिएन ।
त्यस्तै, राष्ट्रवादको मुद्दालाई पनि केवल भावनात्मक नारा र चुनावी भोट सङ्कलन गर्ने साधनमा मात्र सीमित गरियो, त्यसको व्यावहारिक र दीर्घकालीन पाटोलाई पूर्णतः उपेक्षा गरियो । भारतद्वारा अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको ‘चुच्चे नक्सा’ राष्ट्रभक्तिको प्रतीकका रूपमा प्रस्तुत गरियो । तर ती भूभागमा रहेका नागरिकहरूको जीवनस्तर उकास्ने भरोसायोग्य नीति र योजना प्रस्तुत गरिएन ।
नक्सा पास गर्नु ऐतिहासिक कदम भए तापनि सीमावर्ती क्षेत्रका जनताको आधारभूत शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका सवालमा ठोस योजना नआउँदा, त्यो मुद्दा केवल सङ्कीर्ण राजनीतिक स्वार्थका लागि मात्र प्रयोग गरिएको त होइन भन्ने गम्भीर आशङ्का जन्मियो ।
विगतको आफ्नै सरकारको पालामा भएका भौतिक विकासका कामहरूलाई पार्टीले आफ्नो मुख्य सफलताको कडी बनायो । भूकम्पले ध्वस्त पारेका धरहरा, रानीपोखरी, दरबार हाइस्कुल तथा अन्य संरचनाहरूको पुनर्निर्माणको गीत गाइयो । सुरुङमार्ग र मरिण डाइभर्सनको चर्चा गरियो । तर, यी भौतिक संरचनाहरूले राजधानी र केही सीमित क्षेत्रलाई उज्यालो देखाए पनि दूरदराजका विपन्न नागरिकको दैनिक जीवन र चुलोमा कुनै तातो थपेनन् । तर ती ठाउँहरूमा समेत त्यसको अपेक्षित प्रभाव देखिएन भने दूरदराजका जनताका लागि त त्यो ‘लङ्कामा सुन छ, मेरो कान बुच्चै’ वा ‘आकाशको फल, आँखा तरी मर’ भनेझैँ भयो ।
टिकट नपाउनेलाई राजनीति नै नबुझेका ‘अदना’ पात्रका रूपमा हेरियो । कार्यकर्ता र सचेत मतदातालाई समेत मेसिनका पार्टपुर्जाजस्तै व्यवहार गरियो ।
भौतिक विकासको यही आत्मरति र चुनावी टिकट प्राप्तिको उन्मादमा उम्मेदवारहरूमा एक किसिमको चरम अहङ्कार र दम्भ देखियो, जसले सचेत मतदातालाई झन् चिढ्याउने काम गर्यो । चुनावमा उम्मेदवारका रूपमा टिकट पाएकाहरूले आफूलाई विजेता, सर्वोत्कृष्ट, सर्वज्ञ जस्तै ठाने । समग्रमा उनीहरू आफूलाई ‘अलेक्जेन्डर द ग्रेट’ सरह सम्झिरहेको आभास हुन्थ्यो । यो दम्भ र अहङ्कार यति कुरूप थियो कि टिकट नपाउने आफ्नै पुराना सहयोद्धा र समकक्षीहरूलाई उनीहरूले तुच्छ ठाने ।
टिकट नपाउनेलाई राजनीति नै नबुझेका ‘अदना’ पात्रका रूपमा हेरियो । कार्यकर्ता र सचेत मतदातालाई समेत मेसिनका पार्टपुर्जाजस्तै व्यवहार गरियो । यस प्रकारको मानवीय संवेदनाहीन राजनीतिले दल र जनताबीचको जीवन्त संवादलाई ठप्प पारिदियो । देशको भविष्य के हुन्छ, कस्तो हुन्छ, समृद्धि र सुख कसरी प्राप्त हुन्छ भन्ने विषयमा कहीँ गम्भीर बहस भएन ।
खादा, माला, बाजागाजासहित ‘घरदैलो’ भ्याइनभ्याइ भयो । जनताले पार्टी नेतृत्व, आन्दोलन र भावी योजनाबारे सम्भावित प्रतिनिधि (उम्मेदवार) सँग खुलेर छलफल गर्ने अवसर पाएनन् । बहस र विचारको ठाउँ कृत्रिम तडकभडक र चाकरीले लियो । उम्मेदवारहरू प्रायोजित रूपमा तयार पारिएका खादा–मालाको सम्मानले मतदातालाई प्रभावित पार्न सकिन्छ भन्ने भ्रममा देखिए ।
साङ्गठनिक व्यवस्थापन र चुनाव परिचालनको पाटो त झन् निराशाजनक, सङ्कुचित र गुटगत प्रतिशोधबाट ग्रसित देखियो । अवस्था यस्तो रह्यो कि महाधिवेशनका प्रतिस्पर्धी नेताहरूलाई चुनाव प्रचारप्रसार व्यवस्थापनमा समेत समुचित रूपमा प्रयोग गरिएन । उम्मेदवार नबनेका पार्टी पदाधिकारी तथा ‘अर्को गुट’का स्थापित र सक्षम नेताहरूलाई पनि चुनावी अभियानमा पूर्ण सक्रिय हुने वातावरण बनाइएन । पार्टीभित्रको आन्तरिक लोकतन्त्र र सहअस्तित्वलाई बलियो बनाउनुको साटो चुनावकै मुखमा गुटगत हिसाबकिताब मिलान गर्न खोज्नु अन्ततः पार्टीका लागि आत्मघाती साबित भयो ।
पार्टीको प्रचार शैली पनि विचार, नीति र आन्दोलनप्रधान हुनुको साटो चरम व्यक्तिपूजा र देवत्वकरणतर्फ मोडियो, जसले समाजमा उल्टो र नकारात्मक परिणाम दियो । पार्टी अध्यक्ष केपी ओलीलाई ‘बोकेर हिँड्न नसकिने’ गरी गरिएको दानवीकरणलाई चिर्नु त परको कुरा, ‘केपी ओलीको विकल्प नै छैन’ भनेर देवत्वकरण गर्नेहरूले समेत उहाँको फोटो राखेका ब्यानर बोक्न सकेको देखिएन ।
यहाँसम्म कि पार्टीले भर्खरै तोकेको नारा पनि प्रयोग गरिएन । विचारको विशाल आन्दोलनलाई व्यक्तिको वरिपरि मात्र केन्द्रित गर्दा सङ्गठनमा सङ्कुचन आउँछ र आम जनतामा वितृष्णा जाग्छ भन्ने कुरा नेतृत्वले बुझ्न सकेन ।
राष्ट्रिय स्तरको चुनावी बहस र शीर्ष नेतृत्वको दौडधुपलाई हेर्दा पार्टी कति सङ्कुचित घेरामा फसेको थियो भन्ने कुरा प्रस्ट हुन्छ । राष्ट्रिय बहसहरू हेर्दा झापाको निर्वाचन क्षेत्र नं. ५ बाहेक अन्यत्र चुनाव नै छैन कि जस्तो देखियो । अध्यक्षलगायत वरिष्ठ नेतृत्व आफ्नै निर्वाचन क्षेत्रभन्दा बाहिर गएर व्यापक चुनावी अभियानमा सक्रिय भएको देखिएन । जब राष्ट्रिय कदका शीर्ष नेताहरू आफ्नै क्षेत्रमा असुरक्षित महसुस गरेर त्यहीँ मात्र केन्द्रित हुन्छन्, तब देशैभरिका कार्यकर्तामा रक्षात्मक र कमजोर मनोविज्ञान सिर्जना हुनु स्वाभाविकै हो ।
आखिर, ‘धूल चेहरे पे थी आइना साफ करता रहा’ यस्तो विगत दोहोरियो भने के होला ? सम्बन्धितले सोच्ने विषय हो । अरूले त ‘राम राम’ मात्र भन्ने त हो ।
विगतलाई सम्मान गर्ने परिपाटी, वर्तमानप्रति विश्वास जगाउने आधार र भविष्यको सुनौलो सपना— यी तीनै पक्ष कमजोर भएको अवस्थामा सम्पन्न निर्वाचनको परिणाम यसभन्दा फरक आउला भन्ने अपेक्षा गर्न गाह्रो थियो । एउटा जीवन्त राजनीतिक दलसँग इतिहासको गौरव, वर्तमानको ठोस कार्ययोजना र भविष्यको स्पष्ट मार्गचित्र हुनुपर्छ । तर, यसपटक एमालेसँग इतिहासको केवल अमानत र ब्याज मात्र थियो, वर्तमान र भविष्यका लागि नयाँ पुस्तालाई तान्न सक्ने कुनै नयाँ र गतिलो दृष्टिकोण वा कार्यक्रम थिएन ।
सबैभन्दा चिन्ता र विडम्बनाको विषय त, यति ठुलो धक्का खाँदा र जनमत खस्किँदा पनि पार्टी नेतृत्वले अझै जमिनको यथार्थलाई छाम्न चाहँदैन । अहिले पनि यथार्थ वर्तमान र सुनौलो भविष्यप्रति पर्याप्त ध्यान दिइएको देखिँदैन । दोष जति अन्यत्र पन्छाएर आफू सुध्रिन सकिँदैन । जबसम्म हारको दोषको भारी अरूको थाप्लोमा हालेर आफू पवित्र बन्ने आत्मरतिबाट नेतृत्व मुक्त हुँदैन, तबसम्म सुधारको प्रक्रिया सुरु नै हुन सक्दैन ।
आखिर, ‘धूल चेहरे पे थी आइना साफ करता रहा’ यस्तो विगत दोहोरियो भने के होला ? सम्बन्धितले सोच्ने विषय हो । अरूले त ‘राम राम’ मात्र भन्ने त हो ।
राजनीति र समाजको विकासक्रममा ढिलोचाँडो हुन सक्छ, तर सच्चिनै नसकिने र रूपान्तरण हुन नसकिने भन्ने केही हुँदैन । सच्चिनै नसकिने त कहाँ हो र ? पुग्नै नसकिने त कहाँ हो र ? प्रश्न यति मात्र हो— दृष्टि र कदम कता केन्द्रित गर्ने ?
अबको ऐतिहासिक बाटो ऐना पुछ्ने अर्थात् बाहिरी शक्ति, विपक्षी वा मतदातालाई सरापेर बस्ने होइन; बरु आफ्नै अनुहारको धुलो सफा गर्ने अर्थात् आन्तरिक लोकतन्त्र, पारदर्शी कार्यशैली, सामूहिक नेतृत्व र जनमुखी समाजवादी कार्यदिशातर्फ दृष्टि र कदम दुवैलाई दृढताका साथ केन्द्रित गर्नुपर्ने हो । राजनीतिको गुमेको साख र जनविश्वास पुनर्स्थापित गर्नु त्यति सहज भने छैन ।
(लेखक एमालेका पूर्वसचिव तथा केन्द्रीय पार्टी स्कुल विभाग सदस्य हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, बुबाले मागे न्याय
-
९ वटा घर खाली गर्ने प्रक्रिया सुरु
-
ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो
-
इरानसँग वार्ताको दोस्रो चरण पहिलो भन्दा सजिलो हुन्छः ट्रम्प
-
विवादास्पद इसारामा भीएआर रेफ्रीलाई फिफाद्वारा सफाइ
-
पाकिस्तानका लागि इतिहास रच्दै यी इराकी खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण