फ्रान्सेली पत्रकार अल्जेरियाको जेलमा : विश्वकपका हरेक खेलमा एउटा सिट खाली राखेर ऐक्यबद्धता
सारांश
- विश्वकप २०२६ का रंगशालाका प्रेस बक्सहरूमा फ्रान्सेली पत्रकार क्रिस्टोफ ग्लिजेजको रिहाइको माग गर्दै एउटा सिट खाली छोडिएको छ।
- ग्लिजेजलाई अल्जेरियामा आतंकवादलाई सहयोग पुर्याएको अभियोगमा सात वर्षको जेल सजाय सुनाइएको थियो।
- फ्रान्सेली सञ्चारमाध्यमहरूले ग्लिजेजको मुद्दाप्रति विश्वको ध्यानाकर्षण गराउन यो विरोध प्रदर्शन गरिरहेका छन्।
वासिङ्टन डिसी । विश्वकप २०२६ मा फ्रान्सका खेलहरू भइरहेका रंगशालाका प्रेस बक्सहरूमा एउटा सिट सधैँ खाली छोड्ने गरिएको छ।
अल्जेरियाको जेलमा बन्दी बनाइएका फ्रान्सेली खेलकुद पत्रकार क्रिस्टोफ ग्लिजेजको रिहाइको माग गर्दै र उनको मुद्दाप्रति विश्वको ध्यानाकर्षण गराउन फ्रान्सेली सञ्चारमाध्यमहरूले यस्तो फरक शैलीको विरोध प्रदर्शन गरिरहेका हुन्।
पेरिसस्थित ‘सो फुट’ म्यागजिनका लागि अफ्रिकी फुटबलका बारेमा विशेष रिपोर्टिङ गर्ने ग्लिजेजलाई सन् २०२५ मा आतंकवादलाई सहयोग पुर्याएको अभियोगमा अल्जेरियामा सात वर्षको जेल सजाय सुनाइएको थियो। फ्रान्सेली पत्रकारका विभिन्न युनियनहरूले अल्जेरिया सरकारसँग ग्लिजेजलाई तत्काल रिहा गर्न माग गरिरहेका छन्।
मंगलबार फ्रान्स र सेनेगलबिच न्यू जर्सी न्यू योर्क स्टेडियममा हुने खेलको पूर्वसन्ध्यामा सोमबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले यस मुद्दालाई कडा रूपमा उठाए। फ्रान्सेली टोलीका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सको पत्रकार सम्मेलन सुरु हुनुअघि त्यहाँ उपस्थित पत्रकारहरूले ‘फ्री ग्लिजेज’ (ग्लिजेजलाई रिहा गर) लेखिएको स्कार्फ प्रदर्शन गरेका थिए।
आफ्नो छोराको न्यायका लागि क्रिस्टोफकी आमा सिल्भी ग्लिजेज पनि आफैँ विश्वकप खेल भइरहेको स्थानमा पुगेकी छन्। उनले सोमबार बीबीसी स्पोर्ट्ससँग कुरा गर्दै यस विश्वकपका लागि उनको छोराको पत्रकार अनुमति पत्र फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आफैँले व्यक्तिगत रूपमा स्वीकृत गरेको जानकारी दिइन्। जेलमा रहेका उनका छोराले अहिले आफू बाहिरी संसारबाट पूर्ण रूपमा कटेको महसुस गरिरहेको दुःखद वास्तविकता पनि उनले सुनाइन्।

पत्रकार ग्लिजेजलाई सन् २०२४ को मे महिनामा अल्जेरियाको टिजी ओउजोउमा अवस्थित जेएसके फुटबल क्लबका बारेमा एउटा लेख लेख्न त्यहाँ पुगेका बेला नियन्त्रणमा लिइएको थियो। पछि उनलाई अल्जेरियाको काबाइल अल्पसंख्यक समुदायका लागि आत्मनिर्णयको अधिकार माग्ने एक समर्थकका साथमा विचार आदानप्रदान गरेको आरोपमा दोषी ठहर गरियो।
उनको सजायको घोषणा भएलगत्तै फ्रान्सका करिब ४० वटा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो पेशागत जिम्मेवारी पूरा गरिरहेको पत्रकारलाई जेल हाल्नु कहिल्यै काट्न नहुने लक्ष्मणरेखा पार गर्नु जस्तै भएको भन्दै आपत्ति जनाएका थिए।
यस विश्वकपमा खेल चल्ने मुख्य प्रेस बक्समा मात्र नभएर फ्रान्स टोलीको हरेक पत्रकार सम्मेलनमा समेत ग्लिजेजको नाममा एउटा कुर्सी खाली राख्ने गरिएको छ। सोमबारको पत्रकार सम्मेलनमा फ्रान्सेली खेलकुद दैनिक पत्रिका ‘ल इक्विप’ का पत्रकार भिन्सेन्ट डुलुकले खेलका क्रममा दिइने ‘हाइड्रेसन ब्रेक’ का बारेमा ग्लिजेजकै तर्फबाट प्रशिक्षक डेसच्याम्प्सलाई प्रश्न सोधेका थिए।
सो प्रश्नको जवाफ दिँदै प्रशिक्षक डेसच्याम्प्सले भने, ‘म उनको र उनको परिवारको भलाइको कामना गर्दछु र उनी चाँडोभन्दा चाँडो यहाँ उपस्थित भएर आफ्ना प्रश्नहरू आफैँ सोध्न सकुन् भन्ने आशा गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, बुबाले मागे न्याय
-
९ वटा घर खाली गर्ने प्रक्रिया सुरु
-
ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो
-
इरानसँग वार्ताको दोस्रो चरण पहिलो भन्दा सजिलो हुन्छः ट्रम्प
-
विवादास्पद इसारामा भीएआर रेफ्रीलाई फिफाद्वारा सफाइ
-
पाकिस्तानका लागि इतिहास रच्दै यी इराकी खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण