९ वर्षपछि फेरि पलेँटीमा गुन्जँदै गायक विधान श्रेष्ठ
सारांश
- गायक विधान श्रेष्ठ ९ वर्षपछि पुनः नेपालयको पलेँटी कार्यक्रममा प्रस्तुत हुने भएका छन् ।
- लोक तथा देशभक्तिपूर्ण गीतहरूका लागि परिचित श्रेष्ठले आफ्ना पिता विजय श्रेष्ठको मार्गदर्शनमा साङ्गीतिक यात्रा अगाडि बढाएका हुन् ।
- २६ र २७ जुनमा कालिकास्थानस्थित नेपालयको 'आर'शालामा आयोजना हुने पलेँटी कार्यक्रममा उनी श्रोतामाझ प्रस्तुत हुनेछन् ।
काठमाडौँ । अङ्ग्रेजी महिनाको अन्तिम सप्ताहान्त नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यसपटक गायक विधान श्रेष्ठ प्रस्तुत हुने भएका छन् । विधानले आजभन्दा ९ वर्ष पहिले पनि यस मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए ।
कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा हुने पलेँटी कार्यक्रमका निम्ति गायक विधान पलेँटीका वाद्यवादकसँग अभ्यासमा जुटिरहेका छन् । विधान श्रेष्ठ लोक तथा देशभक्तिपूर्ण गीतहरूका लागि परिचित गायक हुन् । श्रेष्ठ साङ्गीतिक परिवारमा हुर्किएका गायक हुन् । उनले सुनसरीका चर्चित सङ्गीतकार तथा गीतकार आफ्ना पिता विजय श्रेष्ठको मार्गदर्शनमा आफ्नो साङ्गीतिक व्यक्तित्व विकास गरेका हुन् । विजय श्रेष्ठ जसले प्रसिद्ध गायक दीप श्रेष्ठका निम्ति पनि गीति सृजना गरेका छन् ।
विधानको स्वरमा गुन्जेका ‘माछी मार्न जाऊँ दाँजै कालापानीमा’, ‘बुहारी झारझैँ लजालु...’, ‘आज नाच्छे मेरी गौरी...’, ‘कान्छीको अल्लारे जोबन...’ जस्ता थुप्रै लोकप्रिय गीत छन् ।
पलेँटीको मञ्चमा नौ वर्षपछि फेरि गाउन पाउँदा अत्यन्त खुसी लागेको गायक श्रेष्ठले बताए ।
‘मैले सम्मान गर्ने धेरै अग्रज कलाकारहरूले यस मञ्चलाई गौरव लाग्दो बनाइसक्नु भएको छ । त्यसैले यो मञ्च मेरो निम्ति साङ्गीतिक मन्दिर जस्तै हो’ विधान भन्छन्, ‘मेरो झन्डै तीन दशक लामो साङ्गीतिक यात्रामा यो कार्यक्रमले थप उचाइ दिने आशा लिएको छु ।’
विधानका गीतहरूमा मौलिकताको छुट्टै पहिचान छ । पलेँटीमा विधानलाई फेरि निम्त्याउन पाउँदा रमाइलो लागेको पलेँटीका संयोजक सङ्गीतकर्मी आभास भन्छिन् ।
पलेँटी नेपालयद्वारा आयोजित एउटा लघु र विशिष्ट सांगीतिक शृङ्खला हो, जहाँ गायक, सङ्गीतकार र रचनाकारहरू श्रोतासँग निकटतम रहेर प्रस्तुत हुने गर्छन् । नेपाली आधुनिक सङ्गीतलाई पुनर्जीवित गर्ने तथा कलाकार र श्रोताबिचको दूरी कम गर्ने उद्देश्यले पलेँटी २१ वर्षदेखि आयोजना हुँदै आएको छ ।
यसपालिको पलेँटी यही जुन महिनाको सप्ताहान्त अर्थात् २६ र २७ तारिख शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण