ट्रम्पको बहुलठ्ठीपनः अमेरिकी साम्राज्यवादको संकट
सारांश
- ट्रम्पको तथाकथित 'बहुलठ्ठीपन'लाई अमेरिकी साम्राज्यवादको गहिरो संरचनात्मक संकटको अभिव्यक्तिका रूपमा विश्लेषण गरिएको छ ।
- ट्रम्पको नेतृत्वले विश्व अर्थतन्त्र, मध्यपूर्वको भूराजनीति, र सर्वहारा वर्गमाथि पारेको प्रभावको वामपन्थी कोणबाट विश्लेषण गरिएको छ ।
- अमेरिकी साम्राज्यवादले कूटनीति, अन्तर्राष्ट्रिय कानुन, र नेतृत्वको आभा गुमाइसकेको छ र ट्रम्पको उदय यसै क्षयको अभिव्यक्ति हो ।
डोनाल्ड ट्रम्पको नाम लिनासाथ अधिकांश विश्लेषकले ‘अप्रत्याशित’, ‘उच्छृङ्खल’, ‘बहुलठ्ठे’ जस्ता विशेषणहरू जोड्ने गरेको पाइन्छ । मार्क्सवादी र वामपन्थी कोणबाट विश्लेषण गर्दा यी चरित्रगत विशेषतालाई मात्र केन्द्रबिन्दु बनाउनु हुँदैन । बरु, ट्रम्पको तथाकथित ‘बहुलठ्ठीपन’लाई अमेरिकी साम्राज्यवादको गहिरो संरचनात्मक संकटको अभिव्यक्तिका रूपमा लिनुपर्ने हुन्छ ।
यसले एकाधिकार पुँजीपति वर्गको हित, घट्दो प्रभुत्व र बढ्दो आन्तरिक अन्तर्विरोधले विश्वलाई अशान्ति, युद्ध र आर्थिक असन्तुलनतर्फ धकेलिरहेको वास्तविकता छर्लङ्ग पार्छ । हालै समाप्त भएको अमेरिका–इरान युद्ध (जसलाई ट्रम्पले आफ्नो ८०औँ जन्मदिनको अवसर पारेर घोषणा गरे) यसको ज्वलन्त उदाहरण हो ।
यस आलेखमा हामी ट्रम्पको उच्छृङ्खल नेतृत्वले विश्व अर्थतन्त्र, मध्यपूर्वको भूराजनीति, र सर्वहारा वर्गमाथि पारेको प्रभावको वामपन्थी कोणबाट विश्लेषण गर्ने प्रयास गर्नेछौँ ।
बहुलठ्ठीपनको द्वन्द्वात्मक भौतिकवादी व्याख्या
मार्क्सवादी दृष्टिमा कुनै पनि सत्तासीन व्यक्तित्वको व्यवहार उत्पादन सम्बन्ध र वर्ग सङ्घर्षको उपज हो । ट्रम्पको ‘बहुलठ्ठीपन’ केवल उनको मनोविज्ञानको विशेषता मात्र होइन, यो अमेरिकी साम्राज्यवादको सङ्क्रमणकालीन अवस्थाको प्रतिबिम्ब हो ।
सन् १९७० पछि अमेरिकी अर्थतन्त्रमा उत्पादनको वास्तविक क्षेत्रको तुलनामा वित्तीय क्षेत्रको प्रभुत्व बढ्दै गयो । वित्तीयकरणको यो प्रक्रियाले अल्पकालीन नाफा, उच्च जोखिम र आवेगात्मक निर्णयलाई प्रोत्साहन दियो । ट्रम्प स्वयं एक वित्तीय पुँजीपति हुन्, जसको व्यावसायिक शैली दिवालिया हुने र पुनः उठ्ने, ऋणको राजनीति, र बजारलाई हेरफेर गर्ने तरिकाले भरिपूर्ण छ ।
यही शैली जब उनी राष्ट्रपति बने, त्यसले विश्वराजनीतिमा ‘बहुलठ्ठीपन’को रूप लियो । तर यो व्यक्तिगत असफलता होइन । यो अमेरिकी पुँजीवादको विकासको एउटा चरण हो, जहाँ उत्पादन शक्ति र उत्पादन सम्बन्धबिचको अन्तर्विरोध अत्यन्त तीव्र भएको छ ।
ट्रम्पले इरानमाथि युद्ध छेड्नुको मुख्य कारण ‘तेलको मूल्य नियन्त्रण’ वा ‘इजरायलको सुरक्षा’ मात्र थिएन, यो अमेरिकी हैकमवाद कायम राख्न र घट्दो एकध्रुवीय विश्व व्यवस्थालाई हिंसाको बलमा टिकाइराख्ने यत्न थियो ।
हर्मुज नाकाबन्दी र विश्व अर्थतन्त्रमा त्यसको असर
ट्रम्पले इरानसँग युद्ध सुरु गर्दा स्ट्रेट अफ हर्मुज बन्द हुने जोखिमलाई पूर्वानुमान गरेनन् । पूर्वानुमान गर्ने मित्रहरूको सुझाव पनि उनले बेवास्ता गरे । मार्क्सवादी कोणबाट हेर्दा यो ‘बहुलठ्ठीपन’ पुँजीवादी योजनाको असफलता होइन, बरु वित्तीय पुँजीको अल्पकालीन नाफाका लागि दीर्घकालीन आपूर्ति शृङ्खलालाई जोखिममा राख्ने प्रवृत्तिको पराकाष्ठा हो ।
हर्मुज जलमार्ग बन्द हुँदा विश्वको २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत ग्यासको आपूर्ति प्रभावित भयो । यसको तत्कालीन असर, तेलको मूल्य आकासियो, जसले सिधै उत्पादन लागत बढायो । ढुवानी, र मलखाद सबै पेट्रोलियममा निर्भर भएकाले कृषि उत्पादन ह्रास भयो खाद्यान्नको मूल्य बढ्यो । तेल आयात गर्ने (नेपाल, श्रीलङ्का, बङ्गलादेश) जस्ता साना राष्ट्रहरू सङ्कटमा परे ।
ती देशको व्यापार घाटा डरलाग्दो रूपमा चुलियो । तेलको मूल्य वृद्धिले पुँजीपति वर्गको एउटा वृत्त (तेल कम्पनी, हेज फन्डहरू)लाई भने प्रचण्ड नाफा गरायो । अमेरिका आफैँ तेल निर्यातकर्ता भएकाले ट्रम्प प्रशासन र उनको पुँजीपति समर्थक वर्गलाई समग्रमा फाइदा भयो । तर विश्वको सर्वहारा वर्ग मात्र नभई महँगी, बेरोजगारी र बढ्दो शोषणको मारमा लुम्पेन वर्ग पनि पर्यो ।
यसरी एक वर्गले अर्को वर्गको हानिबाट नाफा कमायो । ट्रम्पले ‘आमेरिका फस्ट’ भन्दै गरेको नीति वास्तवमा अमेरिकी एकाधिकार पुँजीलाई पहिलो बनाउने भन्ने नै हो । उनको बहुलठ्ठीपनले यो वर्गीय सत्यलाई हाँस्यास्पद पारिदियो । तर निहित स्वार्थ कहिल्यै बदलिएन ।
उपनिवेशित बुर्जुवा वर्गको दुविधा
माक्र्सवादले उपनिवेश र अर्धउपनिवेश राष्ट्रहरूको ‘बफर’ भूमिकालाई विशेष महत्व दिन्छ । खाडी राष्ट्र (साउदी, युएई, कतार) आफ्नो सम्पूर्ण अर्थतन्त्र तेल निर्यातमा आधारित र अमेरिकी सैन्य सुरक्षामा टेकेर बसेका थिए । ट्रम्पले इरानविरुद्ध युद्ध छेड्दा ती राष्ट्रलाई पूर्वसूचना नदिनु र युद्धका क्रममा तिनका सार्वजनिक संरचनामा इरानी आक्रमण हुँदा पनि अमेरिकाले इजरायललाई मात्र जोगाउनुले खाडी राष्ट्रलाई गरिएको उपेक्षा उदाङ्गो पार्छ ।
मार्क्सले ‘दुई प्रकारका बुर्जुवा’को कुरा गरेका थिए– मेट्रोपोलिसको पुँजीपति, जसले हतियार, प्रविधि, कर्जा नियन्त्रण गर्छ । र, अर्को खाले पुँजीपति, जसले कच्चा पदार्थ र श्रम उपलब्ध गराउँछ । ट्रम्पको बहुलठ्ठीपनले मेट्रोपोलिस पुँजीपतिको अहंकारलाई यति तीव्र बनायो कि उसले प्रव्धििको बुर्जुवालाई अपमान पनि सहन बाध्य पार्यो ।
खाडी राष्ट्रका शासकहरूले आफ्नो भूमिमा अमेरिकी सैन्य अड्डा राख्न दिएको भएपनि, उनीहरू आफ्नै भूमिमाको सुरक्षा गर्न त्यसले सघाउ पुर्याएको महसुस गर्नै पाएनन् । यो अपमानले दीर्घकालमा खाडी बुर्जुवा वर्गलाई साम्राज्यवादवाट टाढिन र बहुध्रुवीय विश्वको खोजी गर्न प्रेरित गर्नेछ ।
उनीहरूले पहिले नै युक्रेनसँग रक्षा सम्झौता गरिसकेका छन् र भविष्यमा चीन तथा रूससँगको सम्बन्ध विस्तार गर्नेछन् । यो साम्राज्यवादको प्रभुत्व घट्दै जाने प्रक्रियाको एउटा थालनी हो ।
नेतन्याहुः साम्राज्यवादको अग्रपंक्तिको दलाल
ट्रम्पको बहुलठ्ठीपनको मुख्य लाभान्वित इजरायल भयो । मार्क्सवादी कोणबाट हेर्दा यहाँ विरोधाभास देखिन्छ । इजरायली राज्य आफैँ अमेरिकी साम्राज्यवादको ‘स्ट्राइक फोर्स’ हो, तर ट्रम्पले जे भन्यो त्यही मान्नुपर्छ भन्ने व्यवहारले इजरायली बुर्जुवालाई पनि अपमानित गरेको छ ।
नेतन्याहुलाई ट्रम्पले सार्वजनिक रूपमा ‘उनले जे भन्यो त्यसको पालना गर्नुपर्छ’ भन्ने टिप्पणी गर्नु एउटा उदाहरण मात्र हो । मार्क्सवादी दृष्टिले, बहुलठ्ठीपनको अर्को पाटो पनि छ साम्राज्यवादको संकटले यसको गुण्डागर्दीपूर्ण चरित्रलाई नाङ्गो बनाउँछ ।
भेनेजुयलाका संवैधानिक राष्ट्रपतिलाई दिनदहाडै उनकै देशबाट अपहरण गर्नु, इरानी सर्वोच्च नेताको हत्या गर्न सार्वजनिक सिसिटीभी क्यामेराको फुटेज प्रयोग गर्नु, रूसी राष्ट्रपति पुटिनलाई समेत ‘तिमी पनि त्यसैगरि मारिन सक्छौ’ भन्ने त्रास पैदा गराउनु, यो सबै केवल ‘ट्रम्पको बहुलठ्ठीपन’ होइन, यो डिजिटल साम्राज्यवादको नयाँ मनोवैज्ञानिक अस्त्र पनि हो ।
सैन्यवाद र हतियार उद्योगको मुनाफा
युद्धको समाप्तिमा एउटा तथ्य स्पष्ट छ— सैन्य रूपमा अमेरिका–इजरायलले जित्यो तर यो युद्धको वास्तविक विजेता को हो ? हतियार उत्पादक एकाधिकार पुँजीपतिका युद्धका क्रममा अमेरिकी हतियारको भण्डार रित्तियो, तर त्यसको प्रतिस्थापनका लागि नयाँ ठेक्का लकहिड मार्टिन, रेथियोन, बोइङ जस्ता कम्पनीलाई दिइयो ।
यी कम्पनीहरूले युद्ध समाप्त भएपछि सरकारलाई अझ बढी मूल्यमा हतियार बेचे किनभने ‘राष्ट्रिय सुरक्षा’ को नाममा पुँजीवादी राज्यले कहिल्यै मोलभाब गर्दैन । ट्रम्प आफैँ एउटा व्यापारी राष्ट्रपति भएकाले उनले यी कम्पनीहरूको प्रत्यक्ष वकालत गरिरहेका छन् । यो उनको बहुलठ्ठीपन मात्र होइन, यो त ‘मिलिट्री इन्डस्ट्रियल कम्प्लेक्स’को वास्तविक नमुना हो ।
फरक कति मात्र हो भने परम्परागत राष्ट्रपतिहरूले युद्धलाई ‘अन्तिम विकल्प’का रूपमा प्रस्तुत गर्थे, ट्रम्पले त युद्धलाई ‘जन्मदिनको उपहार’का रूपमा घोषणा गरे । यो नै ‘बहुलठ्ठीपन’को पुँजीवादी तमासा हो ।
चीन र रूसः बहुलठ्ठीपनको पूरक प्रतिस्पर्धी
ट्रम्पले युद्ध समाप्तिको सहमति घोषणा गर्दा चिनिया राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति पुटिनको प्रशंसा गरे । यो मार्क्सवादी दृष्टिले अत्यन्त चाखलाग्दो छ । किनकी साम्राज्यवादी शिविर भित्रको बहुलठ्ठी व्यवहारले वास्तवमा पूँजीवादी विश्व व्यवस्थाको ‘कम्प्राडोर’ पक्षलाई उजागर गर्छ ।
ट्रम्पले युद्ध सुरु त गरे, तर त्यसको मध्यस्थता गर्न कतार, स्विट्जरल्यान्ड, र चीन–रूसको भूमिका आवश्यक प¥यो । यसले बहुध्रुवीय विश्वको यथार्थ देखाउँछ, जहाँ अमेरिकी साम्राज्यवाद एक्लै सबै समस्या समाधान गर्न सक्दैन । तर ट्रम्पको बहुलठ्ठीपनसँग दैव पनि डराउँछ भनेझैँ चीन र रूस पनि डरायो ।
पुटिनले मस्कोको हरेक सिसिटीभी क्यामेरा जाँच गराए भन्ने समाचार यसैको प्रमाण हो । उनीहरूलाई थाहा भयो कि ट्रम्प जस्तो ‘अनियन्त्रित’ साम्राज्यवादी नेताले अन्तर्राष्ट्रिय कानुन, सम्झौता, सीमा, सबै तोड्न सक्छ । यो डर नै नयाँ शीतयुद्धको आगोमा घीउ बन्ने सम्भावनालाइ पनि नकार्न सकिँदैन ।
सर्वहारा वर्गको पीडा र प्रतिरोधको सम्भावना
यी सबैको वास्तविक बोझ कसले बोक्ने ? उत्तर स्पष्ट छ, विश्वको सर्वहारा वर्ग, किसान, लुम्पेन, र उपनिवेशित जनता । इरानमा आक्रमण हुँदा तेलको मूल्य बढेर नेपाल जस्तो अतिकम विकसित राष्ट्रमा दैनिक उपभोग्य बस्तुको मूल्य आकासियो । पेट्रोलको मूल्यले सामानको ढुवानी लागत बढायो, त्यसले खाद्यान्नको मूल्य बढायो, त्यसले वास्तविक ज्याला घटायो ।
गरिब देशको गरिब तप्का अझ धराशायी भयो । साउदी, युएईमा रहेका प्रवासी मजदुरहरू (जसमध्ये लाखौँ नेपाली, भारतीय, बङ्गलादेशी) जसको रेमिट्यान्सले गरिब देशको अर्थतन्त्र चल्छ, तिनीहरू आफ्नो रोजगारी गुमाउने, कामको समय बढ्ने, अर्थात् शोषण तीव्र हुने डरले बाँचिरहेका छन् । ट्रम्पको बहुलठ्ठीपनले साम्राज्यवादको असली अनुहार देखाएको छ ।
उनीहरूको ‘सभ्य पुँजीवाद’ को मुकुन्डो छताछुल्ल पारिदिएको छ । जनताले वर्गीय सङ्घर्षको आवश्यकता महसुस गर्न थालिसकेका छन् । अमेरिकामा कम्युनिस्ट पार्टीको आयोजनामा भएका ठुला–ठुला जुलुसले यो पुष्टि गरी सकेको छ । मध्यपूर्व, युरोप र अमेरिकामा पनि ट्रम्प–विरोधी आन्दोलन बलियो बन्दै गएको छ ।
आणविक हतियार र विनाशको उत्पादन सम्बन्ध
ट्रम्पले इरानलाई आणविक हतियार कार्यक्रम त्याग्न दबाब दिए, तर आफैँले अमेरिकी आणविक शस्त्रागारलाई ‘प्रभावकारी बनाउने’ घोषणा गरे । आणविक हतियार उत्पादन पूँजीवादी उत्पादन सम्बन्धको सबैभन्दा विरोधाभासी उपज हो, जसले सम्पूर्ण मानव सभ्यतालाई नष्ट गर्न सक्छ, ।
तैपनि यसलाई व्यापारिक वस्तुको रूपमा उत्पादन र बिक्री गरिन्छ । ट्रम्पको ‘बहुलठ्ठीपन’सँगै अमेरिकी आणविक सिद्धान्त पनि पहिलो प्रहारका लागि खुला भयो । यसले संसारलाई अझै खतरनाक बनाइरहेको छ ।
निष्कर्ष
ट्रम्पको बहुलठ्ठीपन व्यक्तिगत विसङ्गति होइन यो उनीहरूको आवश्यकता हो । जब पुँजीवादी उत्पादन सम्बन्धले उत्पादन शक्तिको विकासमा बाधा पुर्याउँछ, तब शासक वर्ग अझ हिंसक, अप्रत्याशित र ‘बहुलठ्ठे’ बन्दै जान्छ ।
अमेरिकी साम्राज्यवादले अब कूटनीति, अन्तर्राष्ट्रिय कानुन, र नेतृत्वको आभा गुमाइसकेको छ । ट्रम्पको उदय यसै क्षयको अभिव्यक्ति हो । हर्मुजको सङ्कट, इरान युद्ध, खाडी राष्ट्रको हेपाइ, रूस–चीनको डर, र विश्वव्यापी महँगी, यो सबै एउटै प्रक्रियाका विभिन्न पाटा हुन् ।
तर इतिहासको द्वन्द्वात्मकता यही छ, पुँजीवादको संकटले यसको विनाशको सामग्री सिर्जना गर्छ । बढ्दो असमानता, युद्ध, र वातावरणीय सङ्कटले जनतालाई वैकल्पिक व्यवस्थाको आवश्यकता सिकाउँछ । ट्रम्पको बहुलठ्ठीपनको वास्तविक ‘जित्ने’ को हो भन्ने प्रश्नको उत्तर के हो भने अहिले त अस्थायी रूपमा हतियार उद्योग र तेल एकाधिकार पुँजीपति लाभान्वित भए, तर दीर्घकालमा पुँजीवादी व्यवस्था आफैँ पराजित हुनेछ ।
बहुलठ्ठीपनको अन्त्य तब मात्र हुन्छ, जब उत्पादनका साधनहरू जनताको सामूहिक नियन्त्रणमा आउँछन्, । विश्वका स्रोतहरू पुँजीको नाफाका लागि होइन, मानवताको आवश्यकताका लागि परिचालित हुन्छ ्। यसैबिच, हामीले हरेक युद्धलाई, हरेक महँगीलाई, हरेक ‘बहुलठ्ठे’ राष्ट्राध्यक्षको कार्यलाई वर्गीय चेतनाको नजरले हेर्नुपर्छ । इतिहासको सही पक्षमा उभिनुपर्छ । अन्तर्राष्ट्रिय सर्वहारा वर्गको एकता नै ट्रम्पको बहुलठ्ठीपनको अचुक औषधि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण