मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप

मङ्गलबार, ०९ असार २०८३, १६ : ५१
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • पुणे प्रहरीले व्यवसायी केतन विशाल अग्रवालको हत्यामा उनकी मङ्गेतर सिया गोयल र प्रेमी चेतन चौधरीलाई पक्राउ गरेको छ।
  • प्रहरीका अनुसार सिया र चेतनले मिलेर केतनलाई लोहगढ किल्लाको ४०० फिट गहिरो खाडलमा धकेलेर हत्या गरेका हुन्।
  • हत्यापछि उनीहरूले यसलाई भवितव्य दुर्घटना देखाउने प्रयास गरेका थिए।

पुणे । भारत एउटा सनसनीपूर्ण मामला सार्वजनिक भएको छ। व्यवसायी केतन विशाल अग्रवालको शङ्कास्पद मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले मंगलबार उनकी मङ्गेतर २० वर्षीया सिया गोयल र प्रेमी २२ वर्षीय चेतन चौधरीलाई पक्राउ गरेको हो। 

यी दुवै जनामाथि सुनियोजित योजना बनाएर केतनको हत्या गरेको आरोप लागेको छ।

केतन गत जुन १८ मा आफ्नी मङ्गेतर सियासँग पुणेको लोहगढ किल्लामा ट्रेकिङका लागि गएका थिए। पछि उनको शव किल्ला नजिकैको गहिरो खाडलबाट बरामद भएको थियो। 

प्रहरीका अनुसार सिया र उनका प्रेमी चेतनले मिलेर केतनलाई किल्लाको ४०० फिट गहिरो खाडलमा धकेलेका थिए। हत्या गरेपछि उनीहरूले यसलाई भवितव्य दुर्घटना देखाउने प्रयास समेत गरेका थिए।

यसअघि इन्दौरका राजा रघुवंशीको हत्या पनि उनकी पत्नी सोनम रघुवंशीले आफ्ना प्रेमीसँग मिलेर शिलोङको एउटा गहिरो खाडलमा धकेलेर गरेकी थिइन्। सो घटनापछि प्रहरीले सोनमलाई पक्राउ गरी जेल पठाएको थियो भने उनी हाल धरौटीमा बाहिर छिन्। अहिले पुणेमा ठ्याक्कै त्यस्तै प्रकृतिको घटना दोहोरिएको हो।

२६ वर्षीय मृतक केतन पुणे जिल्लाको गहुँजेका बासिन्दा थिए र आफ्नो पारिवारिक रियल एस्टेट कम्पनीमा निर्देशकका रूपमा कार्यरत थिए। अर्कोतर्फ, पक्राउ परेकी सिया पुणेका एक मसला व्यवसायीकी छोरी हुन्। 

यी दुवैको आगामी नोभेम्बर महिनामा राजस्थानको उदयपुरस्थित एउटा शाही दरबारमा विवाह हुने तय भएको थियो। दुवै परिवारको सहमतिमा तय भएको यो विवाहका लागि घरमा तयारी समेत सुरु भइसकेको थियो। 

विवाहमा आउने पाहुनाहरूका लागि दुईवटा चार्टर्ड प्राइभेट विमानको व्यवस्था समेत गरिएको थियो। सञ्चारमाध्यमहरूका अनुसार यो विवाहमा परिवारले करिब १७ करोड भारु खर्च गर्ने तयारी गरेका थिए।

नोभेम्बरमा हुने विवाहअघि केतन र सिया बाली घुम्न जाने योजनामा थिए र त्यसका लागि बुकिङ समेत भइसकेको थियो। तर सियाले आफ्नो राहदानी हराएको बहाना बनाएर सो ट्रिप रद्द गराएकी थिइन्। 

यसैबिच, केतनले सियाको जन्मदिन मनाउनका लागि महाबलेश्वरको एउटा विलासी रिसोर्टमा ४० वटा कोठा बुकिङ गरेका थिए भने लोहगढ किल्लामा उनीहरूको प्रि-वेडिङ फोटोसुटको तयारी समेत चलिरहेको थियो।

प्रहरी अनुसन्धानका क्रममा सिया र उनका प्रेमी चेतनले यसअघि जुन १४ मा पनि लोहगढ किल्लामै केतनको हत्या गर्ने योजना बनाएको खुलेको छ। उनीहरूले केतनलाई सर्पको डर देखाएर खाडलमा धकेल्ने प्रयास गरेका थिए, तर पहिलो पटकको त्यो योजना असफल भएको थियो। 

त्यतिबेला केतनले सियामाथि कुनै शङ्का गरेनन्। पहिलो योजना असफल भएको पाँच दिनपछि अर्थात् जुन १९ मा सियाले पुनः ट्रेकिङको योजना बनाइन् र सोही क्रममा केतनलाई किल्लाबाट तल धकेलेर हत्या गरियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप