बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?

बुधबार, १० असार २०८३, १४ : ००
बुधबार, १० असार २०८३

गत साता बेलो होरिजोन्टेमा आयोजित एक कार्यक्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले नेयमारलाई ‘वर्क-फ्रम-होम खेलाडी’ (घरबाटै काम गर्ने खेलाडी) भन्दै उनको मजाक उडाए। 

स्वाभाविक रूपमा यसलाई राम्रो मानिएन। ब्राजिलमा नेयमारलाई राष्ट्रिय टोलीमा समावेश गर्ने कुरा हाँसोको विषय होइन। 

कार्लो एन्चेलोटीले आधा फिट भएका र आफ्नो उत्कृष्ट समय पार गरिसकेका खेलाडीलाई टोलीमा बोलाउनु ठीक वा बेठीक भन्ने विषयमा महिनौँदेखि चर्को बहस भइरहेको छ।

लुलाको व्यङ्ग्य नेयमारले उनका आलोचित अति-दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोलाई सक्रिय समर्थन गरेको कुरासँग जोडिएको हुन सक्छ। यद्यपि, नेयमारको राजनीतिक विचारसँग सहमत नहुने केही ब्राजिलियनहरू पनि बुधबार मियामीमा स्कटल्यान्डविरुद्ध हुने विश्वकपको महत्त्वपूर्ण खेलका लागि उनी फिट हुनेछन् भन्ने गहिरो आशामा छन्।

यस सन्दर्भमा प्रारम्भिक संकेतहरू पक्कै पनि उत्साहजनक छन्। उत्तर अमेरिकामा आफ्नो देशको सुरुवाती दुई खेल गुमाए पनि नेयमारले पिँडुलाको चोटबाट पूर्ण रूपमा स्वास्थ्य लाभ गरेको देखिन्छ। यसै चोटका कारण उनको चौथो विश्वकप सहभागिता जोखिममा परेको थियो। समूह ‘सी’ को शीर्ष स्थान सुरक्षित गर्न ब्राजिलले जित्नैपर्ने र सम्भवतः उत्कृष्ट प्रदर्शनका साथ जित्नुपर्ने खेलमा उनी वैकल्पिक खेलाडीको सूचीमा पर्ने अपेक्षा गरिएको छ।

neymar 2

  • ‘असाधारण इतिहास’

यसै साताको सुरुमा नेयमार प्रशिक्षण मैदानमा फर्किएकोमा ब्राजिल टोलीका सबै जना ‘धेरै खुसी’ भएको लुकास पाक्वेटाले दाबी गरे।

यी अट्याकिङ मिडफिल्डरले पत्रकारहरूसँग भने, ‘उनी राष्ट्रिय टोलीका लागि धेरै महत्त्वपूर्ण खेलाडी हुन्। यो जर्सीसँग उनको असाधारण इतिहास जोडिएको छ र उनले अझै पनि हामीलाई धेरै मद्दत गर्न सक्छन्। टोलीलाई योगदान दिन उनी जतिसक्दो चाँडो उपलब्ध हुनेछन् भन्ने हाम्रो आशा छ।’

पक्कै पनि, यो विशेष समयमा नेयमारले ठ्याक्कै के ‘योगदान’ दिन सक्छन् भन्ने कुरा अझै अस्पष्ट छ।

  • तीन वर्षमा ४५ खेल

ब्राजिलका सर्वाधिक गोलकर्ता वास्तवमा आफ्नो ‘असाधारण इतिहास’ कै कारण मात्र टोलीमा छन्। उनले टोलीमा पर्न लायकको कुनै पनि काम पछिल्लो तीन महिना त परै जाओस्, पछिल्लो तीन वर्षमा पनि गरेका छैनन्।

neymar 3

वास्तवमा, अक्टोबर १८, २०२३ मा उरुग्वेविरुद्ध ब्राजिलका लागि खेलेयता नेयमारले व्यावसायिक फुटबलमा जम्मा ४५ खेल मात्र खेलेका छन् र १७ गोल मात्र गरेका छन्।

यसलाई तुलना गरेर हेर्दा, ब्राजिलको विश्वकप टोलीबाट विवादास्पद रूपमा बाहिर राखिएका अर्का फरवार्ड जोआओ पेड्रोले गत सिजनमा मात्रै ती दुवै तथ्यांकलाई उछिनेका थिए । उनले चेल्सीका लागि ५० खेलमा २० गोल गरेका थिए।

  • मेस्सीको जस्तै प्रभाव ?

पक्कै पनि, नेयमार अझै ३४ वर्षका मात्र छन्। यद्यपि उनी ‘युवा ३४’ भने पक्कै होइनन्। चार वर्षअघि कतारमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन प्रेरणा दिँदा लियोनल मेस्सी उनीभन्दा एक वर्ष जेठा थिए।

neymar 4

यद्यपि नेयमारको जन्मजात प्रतिभालाई उनका पूर्वसहकर्मी र मिल्ने साथी मेस्सीसँग तुलना गर्न सकिएला। मैदानबाहिर भने यी दुईबिच आकाश-जमिनको फरक छ। यही कारणले गर्दा यो ब्राजिलियन खेलाडीले आफ्नो पूर्ण क्षमतालाई मूर्तरूप दिन सकेनन्। अर्कोतर्फ मेस्सी ३८ वर्षको उमेरमा पनि सबै अपेक्षाहरूलाई उछिन्दै अघि बढिरहेका छन्।

यद्यपि, मैदानमा वा बेन्चमै मात्र भए पनि नेयमारको उपस्थितिले उनका सहकर्मीहरूमा मेस्सीको जस्तै प्रभाव पार्न सक्ने सम्भावना भने छ।

  • लोकप्रिय खेलाडी

किशोर सहकर्मीलाई थप्पड हान्ने जस्तो निन्दनीय चरित्र भए पनि नेयमार आफ्नो गृहदेश ब्राजिल र अझ महत्त्वपूर्ण कुरा, राष्ट्रिय टोलीमा निकै लोकप्रिय व्यक्ति हुन्।

neymar 5

यस वर्ष सान्तोसका लागि लिगमा जम्मा आठ खेल खेलेपछि नेयमारलाई विश्वकप टोलीमा बोलाउनुपर्छ भनेर आवाज उठाउनेहरूमध्ये क्यासेमिरो पनि एक थिए। त्यस्तै, एन्चेलोटीको टोलीका धेरै सदस्यहरूमध्ये भिनिसियस जुनियर एक हुन्, जसले अझै पनि यी कुख्यात गैर-व्यावसायिक खेलाडीलाई आदर्श मान्छन्।

रियल म्याड्रिडका यी सुपरस्टारले भने, ‘उनी टोलीमा हुनु हामी सबैका लागि धेरै महत्त्वपूर्ण छ। उनी मेरो आदर्श हुन् र मलाई सधैँ धेरै समर्थन गरेका छन्। मलाई आशा छ उनी अर्को खेल (स्कटल्यान्डविरुद्ध) का लागि फर्कनेछन् र विश्वकपभरि हामीलाई मद्दत गर्नेछन्।’

  • मद्दत आवश्यक

ब्राजिललाई केही मद्दत चाहिएको छ भन्ने कुरामा कुनै विवाद छैन। एन्चेलोटीको टोली समूह ‘सी’ को शीर्ष स्थानमा होला, तर उनीहरूले आफ्ना सुरुवाती दुई खेलमा सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन्।

carlo 2

प्रतियोगिताको पहिलो खेलमा मोरोक्कोविरुद्ध कुलिङ ब्रेकलगत्तै भिनिसियसले जादुयी प्रदर्शन गर्दै खेल बराबरीमा ल्याउँदा सेलेसाओ एकभन्दा बढी गोलले पछि पर्न सक्थ्यो र वास्तवमा पर्नुपर्ने नै थियो। 

खेल अघि बढ्दै जाँदा ब्राजिलले निःसन्देह सुधार गर्‍यो। न्यु जर्सीमा देखाएको प्रदर्शन हेर्दा उनीहरू एक महिनामा छैटौँ विश्वकप जित्न सक्षम छन् भन्ने कुरा पत्याउन निकै गाह्रो छ।

हाइटीविरुद्धको खेलको कथा पनि उस्तै थियो। ब्राजिलले ३-० ले जितेको हुन सक्छ र म्याथियस कुन्हा आक्रमणमा इगोर थियागोभन्दा राम्रो साबित भएका हुन सक्छन्। तर, खेलमा केही नयाँ गर्नका लागि भिनिसियसमाथिको उनीहरूको निर्भरता फेरि एकपटक छताछुल्ल भयो। यो पटक त प्रतियोगिताकै सबैभन्दा कमजोर टोलीमध्ये एकविरुद्ध यस्तो अवस्था देखिएको थियो।

  • अवसरको ढोका

स्वाभाविक रूपमा, ब्राजिलको आक्रमणमा तालमेल र सिर्जनशीलताको कमीका कारण नेयमार फिट हुनेबित्तिकै टोलीमा पर्नुपर्छ भन्ने आवाज झन् बुलन्द भयो। अब उनको पुनरागमनको बाटो पनि खुला भएको छ।

neymar 6

हाइटीविरुद्धको खेलमा एन्चेलोटीले राफिन्हालाई चोटका कारण गुमाए। त्यसलगत्तै यी इटालियन प्रशिक्षकले स्कटल्यान्डविरुद्धको खेलका लागि नेयमार छनोटमा पर्ने कुरा खुलाए। राफिन्हा चाँडोमा अन्तिम १६ सम्मका लागि मैदानबाहिर रहने पक्का भइसकेको छ। यस्तो अवस्थामा यदि नेयमारले मियामीमा केही समय खेल्न पाए भने, हामीले उनलाई अन्तिम ३२ को खेलमा सुरुवाती-११ मै देख्न सक्ने वास्तविक सम्भावना छ।

पछिल्ला केही वर्षहरूमा उनको निरन्तरको चोटको समस्यालाई हेर्दा यो पक्कै पनि एउटा ठूलो सर्त हो, तर ब्राजिलले यसलाई स्वीकार गर्नेछ।

पछिल्लो विश्वकपयता नेयमार वास्तवमा एक पार्ट-टाइम खेलाडीभन्दा बढी केही हुन सकेका छैनन्। तर, ठूलो संख्यामा रहेका उनका देशवासीहरूको नजरमा, उनको विगतको प्रदर्शनले वर्तमान समस्याहरू समाधान गर्न सक्छ भन्ने आशा जगाउँछ।

गोल डटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप