बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
समाचार

तार भूमिगत गर्ने विद्युत् प्राधिकरणको योजना : ३ महिनाभित्र पूरा गर्ने लक्ष्य

बुधबार, १० असार २०८३, १४ : ३०
बुधबार, १० असार २०८३

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आठ वर्ष पहिला सुरु गरेको विद्युतीय तार भूमिगत (अन्डरग्राउन्ड) गर्ने योजना अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्राधिकरणले काठमाडौँ उपत्यकालाई ‘ताररहित र सुरक्षित सहर’ बनाउने उद्देश्यका साथ आठ वर्ष अघि २०७६ फागुन ५ गते सुरु गरेको थियो । काठमाडौँ उपत्यका लगायत सहरी क्षेत्रमा जेलिएका तार, सडक पेटीमा ढल्नै लागेका पुराना पोलहरूले कुरुप हटाउने अभियान प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले सुरुवात गरेका थिए ।

‘अन्डरग्राउन्ड केबुलिङ सिस्टम’ले काठमाडौँ उपत्यकालाई सौन्दर्य र विद्युत् प्रवाहलाई सुरक्षित बनाउने विश्वास प्राधिकरणको छ । प्राधिकरणले एसियाली विकास बैंकको १०० मिलियन डलर सहुलियत ऋणमा तार भूमिगत गर्ने काम अगाडि बढाएको थियो ।

यो काम सुरुमा ३ वर्षभित्र सम्पन्न गर्ने भनिएको थियो । निर्धारित समयमा नसकिएपछि प्राधिकरणले आयोजनाको म्याद करिब ३ वर्ष थप गरेर काम गर्दै आएको छ । यद्यपि आयोजना भने अझै सम्पन्न हुन सकेको छैन । प्राधिकरणले अब आगामी तीन महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ ।

कोभिड, स्थानीय अवरोध, सरकारी निकायसँग समन्वयमा ढिलासुस्ती लगायत कारण तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको प्राधिकरणको आयोजना विकास निर्देशनालयले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले अगाडि बढाएको विद्युतका तार भूमिगत गर्ने काम अब ४ प्रतिशतमात्र बाँकी रहेको बताए । उनले सरकारले त्यसलाई प्रमुख प्राथमिकतामा राखेर चाँडै सक्ने योजना बनाएको जानकारी दिए ।

उनले अन्तर निकायहरूबिच समन्वयको अभावमा लामो समयदेखि रोकिएको यो कामलाई तीव्रता दिन अहिले भौतिक पूर्वाधार, सहरी विकास र अन्य सरोकारवाला निकाय सम्मिलित एउटा समिति सक्रिय बनाइएको बताए । उनले भने, ‘तार भूमिगत गर्ने पहिलो चरणको काम ४ प्रतिशतमात्र बाँकी छ । अब काठमाडौँभित्रका सम्भावना भएका ठाउँहरूमा यो कामलाई गति दिइनेछ ।’

प्राधिकरणका परियोजना व्यवस्थापन निर्देशनालयका प्रमुख दुर्गानन्द बरियातले विद्युतीय तार अन्डरग्राउन्ड गर्ने काम केही स्थान सम्पन्न भइसकेको र केही प्याकेज अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले काठमाडौँको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा तार भूमिगत गर्ने काम सकिएको बताए ।

उनले तार बिछ्याउने काम धेरै ठाउँमा सकिए पनि विभिन्न समस्याका कारण लाइन चार्ज र बत्ती जडान गर्ने लगायतका केही काम बाँकी रहेको प्रस्ट पारे ।

बरियातले भने, ‘काठमाडौँ पश्चिम (बानेश्वर, कीर्तिपुर, कलङ्की, थानकोट, बालाजु, जोरपाटी) समेटिएको प्याकेजमा ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । कीर्तिपुर क्षेत्रमा पनि काम सम्पन्न भई लाइन चार्जसमेत भइसकेको छ ।’

प्राधिकरणले विद्युतीय तार भूमिगत गर्न सुरुगरेसँगै कोभिड सुरु भएको र त्यो समयमा सामग्री नहुँदा दुई वर्ष काम हुन नपाएको बताएको छ ।

दुई वर्षपछि सरकारी निकायहरूबिच समन्वय नहुँदा थप समस्या हुँदा पनि समयमा काम सम्पन्न गर्न नसकिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार सडक खनेर तार बिछ्याउनु पर्ने हुँदा सडकको अनुमति समयमा नपाउँदा पनि समस्या भएकोे थियो ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार भूमिगत गर्ने ठाउँमा खानेपानी पाइपदेखि अन्य थुप्रै किसिममा समस्याले गर्दा आयोजना तोकिएको समयमा सम्पन्न गर्न नसकिएको हो । उनले थप भएको समयमा काम सम्पन्न हुने बताए ।

प्रवक्ता ढकालले तार भूमिगत गर्ने काम सुरुगरेसँगै कोभिड सुरु भएकाले आयोजनाका लागि आवश्यक सामग्री ल्याउन समस्या हुँदा काम हुन नपाउँदा काम लम्बिएको स्वीकार गरे ।

  • रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा ९५ प्रतिशत भौतिक प्रगति

काठमाडौँको रत्नपार्क र महाराजगन्ज क्षेत्रमा विद्युतीय तार अन्डरग्राउण्ड बनाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

महाराजगन्ज क्षेत्रमा आयोजनाको काम पनि भारतीय ठेकदार कम्पनी ‘केईआई इन्ड्रष्ट्रिज लिमिटेड’ले सन् २०१९ को मार्चमा ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो ।

केन्द्र अन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुसी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली र शिक्षण अस्पताल लगायतका स्थानहरूमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिएको छ । त्यहाँ करिब २१४ किलोमिटर हाइटेन्सन लाइन र ३५२ किलोमिटर लोटेन्सन लाइन भूमिगत भइसकेको छ ।

साथै, आधुनिक सञ्चार पूर्वाधारका लागि करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि सँगै बिछ्याइएको छ । जसले भविष्यमा ‘स्मार्ट ग्रिड’ र इन्टरनेट सेवा प्रवाहमा सहजता ल्याउने प्राधिकरणले जनाएको छ । 

रत्नपार्क वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा तार भूमिगत गर्ने काम करिब–करिब सम्पन्न भएको छ । भारतीय ठेकदार कम्पनी ‘केईआई इन्ड्रष्ट्रिज लिमिटेड’ ले जिम्मा पाएको यो प्याकेजमा अब लाइन चार्ज गर्ने र बत्ती जडान गर्ने लगायतका केही काममात्र बाँकी छन् ।

काठमाडौँ मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गतका कामको भौतिक प्रगति ९४ प्रतिशत पुगेको छ । यस अन्तर्गत हालसम्म २४६ किलोमिटर ३३ केभीका तार भूमिगत गरेपछि ११ केभी र ३६० किलोमिटर १२ केभी (एलटी) तार बिछ्याउने काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रअन्तर्गत २८३ किलोमिटर हाइटेन्सन लाइनमध्ये २८० किलोमिटर तार भूमिगत भइसकेको छ । लोटेन्सन लाइनमा ३८२ किलोमिटरमध्ये ३६५ किलोमिटर काम सम्पन्न भइसकेको छ । सिंहदरबार प्याकेज पनि अन्तिम चरणमा छ ।

काठमाडौँ पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाको पनि प्रगति सबैभन्दा बढी अर्थात् ९७ प्रतिशत छ । यसमा २८८ किलोमिटर एचटी र ३६७ किलोमिटर एलटी लाइनको काम सकिएको छ ।

कतिपय स्थानमा पोलहरू हट्न बाँकी रहेकाले काम नसकिएको जस्तो देखिए पनि भूमिगत केबुलबाट ११ केभी लाइन चार्ज गर्ने काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ ।

विशेषगरी न्युरोड क्षेत्रमा यो आयोजना पूर्ण रूपमा सफल देखिएको छ । त्यहाँ हाइटेन्सन र लोटेन्सन दुवै लाइन चार्ज भई भूमिगत प्रणालीबाटै विद्युत् प्रवाह भइरहेको छ । पर्यटकीय क्षेत्र ठमेल, नयाँ बजार, लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा पनि भूमिगत लाइन सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ ।

  • पश्चिम काठमाडौँमा तीव्र प्रगति

काठमाडौँ पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाको प्रगति पनि करिब ९५ प्रतिशत भइसकेको छ ।

काठमाडौँको पश्चिमी क्षेत्र (बानेश्वर, कीर्तिपुर, कलङ्की, थानकोट, बालाजु, जोरपाटी) समेटिएको प्याकेजमा यस्तो प्रगति भएको प्राधिकरणले जनाएको छ । यो क्षेत्रमा एल एण्ड टी कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको छ ।

यो आयोजना अन्तर्गत २९० किलोमिटर एचटी र २४० किलोमिटर एलटी तार भूमिगत गर्ने कार्य सम्पन्न भएको छ ।

विशेषगरी कीर्तिपुर क्षेत्रमा काम सम्पन्न भई लाइन चार्जसमेत भइसकेको प्राधिकरणले जनाएको छ । त्रिवि प्रवेशद्वारदेखि कीर्तिपुर प्रवेशद्वार, त्रिवि वरिपरिका क्षेत्र, कीर्तिपुर रिङरोड, मैत्रीनगर, बल्खु कोरिडोर, भत्केपाटी, नगाऊँ र ढाल्पाचोक क्षेत्रमा अहिले भूमिगत तारबाटै विद्युत् उपलब्ध गराउन थालिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, कलंकी–थानकोट खण्डमा सडकको एक तर्फको काम सकिएको छ भने अर्कोतर्फ काम भइरहेको छ । बालाजु क्षेत्रको काम पनि अन्तिम चरणमा पुगेको छ । कालिमाटी चोकबाट बल्खु चोक हुँदै चोभार गेटसम्मको क्षेत्रमा पनि नयाँ प्रणाली जडान भइसकेको प्राधिकरणले जनाएको छ । पश्चिम क्षेत्रकै गौशाला–शङ्खमूल खण्डमा पनि काम तीव्र रूपमा भइरहेको जनाइएको छ ।

  • काठमाडौँभन्दा भक्तपुर–ललितपुरमा काम सुस्त

उपत्यकालाई विभिन्न प्याकेजमा बाँडेर काम गरिरहेको प्राधिकरणले काठमाडौँको तुलनामा ललितपुर र भक्तपुरमा कामको गति अलि कम रहेको जनाएको छ । ललितपुर तथा भक्तपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत उपत्यकाका अन्य क्षेत्रको तुलनामा यसको प्रगति केही कम अर्थात् ५५ प्रतिशतमात्र छ । यहाँ हालसम्म १८० किलोमिटर एचटी र १०८ किलोमिटर एलटी लाइनको काम भएको छ ।

प्राधिकरणले काठमाडौँका प्रमुख तीनवटा प्याकेजहरू मध्य–उत्तर, पूर्व–दक्षिण र पश्चिम आयोजना आगामी ३ महिनाभित्र (सेप्टेम्बर–अक्टोबरसम्म) सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ । ललितपुर र भक्तपुरको काम भने आगामी ६ महिनाभित्र सम्पन्न गर्ने गरी तयारी भइरहेको प्राधिकरणले जानकारी दिएको छ । 

  • अन्तर निकायबिच समन्वय अभाव मुुख्य चुनौती

प्राधिकरणले सुरु गरेको उक्त आयोजना कार्यान्वयनमा चुनौतीपूर्ण देखिएको छ। सहरवासीले विगत ३ वर्षदेखि धुलो र खाल्डाखुल्डीको सास्ती भोगिरहेका छन् । त्यस्तै, विद्युत्, खानेपानी, टेलिकमको तार जमिन मुनि हुँदा अर्को थप समस्या भोग्नु परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार घरको अगाडि वा छेउमा पोल गाड्न, ट्रान्सफर्मर राख्न र वितरण बक्स राख्न स्थानीय बासिन्दाले अवरोध गर्ने गरेका छन् । सडक विभाग र स्थानीय नगरपालिकाहरूबाट समयमै काम गर्ने अनुमति नपाउँदा योजनाअनुसार काम अघि बढ्न सकेको छैन । विशेषगरी काठमाडौँ महानगरपालिकाले सर्भिस तार जडानका लागि अनुमति नदिँदा समस्या भएको छ ।

काठमाडौँको व्यस्त सडकमा ट्राफिक समस्याका कारण दिउँसो काम गर्न कठिन हुने र रातिको समयमा मात्र काम गर्नुपर्ने बाध्यता छ । तार बिछ्याउने क्रममा जमिनमुनि रहेका खानेपानीका पाइप, ढल र टेलिकमका तारहरूले गर्दा काममा निकै बाधा पुग्ने गरेको छ ।

अन्य निकायहरू (सडक, ढल आदि) ले काम गर्दा प्राधिकरणले सम्पन्न गरिसकेको भूमिगत संरचनामा क्षति पुर्‍याउने र त्यसको क्षतिपूर्ति समेत नपाउने अवस्था रहेको प्राधिकरणले जनाएको छ ।

नयाँ प्रणाली कमिसनिङ गर्न विद्युत् काट्नुपर्ने (सटडाउन) हुन्छ । तर, लामो समय विद्युत् काट्दा ग्राहकलाई असुविधा हुने र संवेदनशील क्षेत्रहरू (जस्तै सिंहदरबार) मा सटडाउन मिलाउन निकै कठिन भइरहेको छ ।

विभिन्न चुनौतीका बाबजुद पनि प्राधिकरणले उपत्यकाको विद्युत् वितरण प्रणालीलाई आधुनिक र सुरक्षित बनाउन भूमिगत गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाइरहेको जनाएको छ ।

आयोजना अघि बढाउन सरकारी निकायबिचको समन्वय अभावमा चुनौतीपूर्ण रहेको पनि प्राधिकरणको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप