बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मेटाले सार्वजनिक गर्‍यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा

बुधबार, १० असार २०८३, १४ : ४७
बुधबार, १० असार २०८३

काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी मेटाले कृत्रिम बौद्धिकता (एआई) प्रविधियुक्त आफ्नै डिजाइनको नयाँ स्मार्ट चस्मा सार्वजनिक गरेको छ । 

कम्पनीले मङ्गलबार घोषणा गरेको नयाँ ‘मेटा ग्लासेस’ हाल बजारमा उपलब्ध रे–ब्यान ब्रान्डसँग मिलेर सस्तो मूल्यमा उपलब्ध हुने जनाएको छ । नयाँ चस्माको प्रारम्भिक मूल्य २९९ अमेरिकी डलर तोकिएको छ । रे–ब्यान स्मार्ट चस्माको प्रारम्भिक मूल्य ३७९ अमेरिकी डलर छ ।

कम्पनीका प्रमुख प्रविधि अधिकृत एन्ड्र्यु बोस्वर्थले विभिन्न मूल्य समूहका उपभोक्तासम्म पुग्न सस्तो विकल्प आवश्यक रहेको बताए । उनका अनुसार रे–ब्यानको लोकप्रियता र ब्रान्ड मूल्यका कारण उपभोक्ताहरू त्यसका लागि बढी मूल्य तिर्न तयार भए पनि कम्पनीले थप विकल्प उपलब्ध गराएर बजार विस्तार गर्न खोजेको हो ।

नयाँ मेटा ग्लासेस कम्पनीले आफैँ डिजाइन गरेको भए पनि केही पक्षमा भने रे–ब्यानको मातृ कम्पनी एसिलोरलक्जोटिकासँगको सहकार्य जारी राखेको छ । कम्पनीले नयाँ चस्मा तीन फरक डिजाइनमा ल्याएको छ ।

‘एडभेन्चरर’ मा सानो फ्रेम हुनेछ । ‘फ्युरी’ मा केही ठुलो र गोलाकार फ्रेम हुनेछ भने तेस्रो चाहिँ चर्चित अमेरिकी सञ्चार व्यक्तित्व काइली जेनरले डिजाइन गरेको अण्डाकार आकारको विशेष मोडेल बजारमा उपलब्ध हुनेछ ।

यी चस्माले संगीत बजाउने, विभिन्न भाषाको अनुवाद गर्ने, वरपरको वातावरणबारे प्रश्नको उत्तर दिने तथा क्यामेराबाट खिचिएका तस्वीरका आधारमा वस्तु पहिचान गर्ने क्षमता राख्छन् । 

मेटाले नयाँ ‘म्युज स्पार्क’ एआई मोडेल प्रयोग गरिएको जनाएको छ, जसले तस्बिरबाट थप विस्तृत जानकारी निकाल्न र प्रयोगकर्ताका व्यक्तिगत रुचि तथा प्राथमिकता सम्झन सहयोग गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार नयाँ मोडेल सुरुमा मेटा ग्लासेसमा उपलब्ध हुनेछ भने पुराना रे–ब्यान र ओक्ली स्मार्ट चस्मामा सफ्टवेयर अद्यावधिकमार्फत समावेश गरिनेछ।

समाचार संस्था सीएनएनले सार्वजनिक कार्यक्रमका क्रममा चस्माको परीक्षण गर्दा यसले स्ट्रबेरीको एक कचौरामा कति क्यालोरी हुन सक्छ भन्ने अनुमान गर्न, अरबी भाषाको संकेतपाटीलाई अंग्रेजीमा अनुवाद गर्न तथा नजिकका सङ्ग्रहालयहरूको सिफारिस गर्न सकेको जनाएको छ। प्रदर्शनका क्रममा चस्माले सजावटका लागि राखिएका नक्कली चेरी वास्तविक नभएको पनि पहिचान गरेको थियो।

यस्ता सुविधाहरू मेटाका हालका स्मार्ट चस्मामा पनि उपलब्ध भएकाले केवल यी विशेषताले मात्र नयाँ ग्राहक आकर्षित गर्न पर्याप्त नहुन सक्ने विश्लेषकहरूको भनाइ छ । विशेष गरी काइली जेनरद्वारा डिजाइन गरिएको मोडेललाई कम्पनीले फरक पहिचान दिन खोजेको छ। 

उक्त मोडेल लगाउँदा विशेष ध्वनि बज्ने व्यवस्था गरिएको छ भने प्रयोगकर्ताले मेटाको सामान्य एआई आवाजको सट्टा काइली जेनरको आवाजमा आधारित कृत्रिम आवाज पनि प्रयोग गर्न सक्नेछन् ।

बजार अनुसन्धान संस्था ओम्डियाका विश्लेषक रुनार ब्योरहोभ्डेका अनुसार प्रविधि कम्पनीहरूले स्मार्ट चस्मा वा अन्य पहिरनयोग्य उपकरण स्मार्टफोनभन्दा किन उपयोगी छन् भन्ने कुरा उपभोक्तालाई स्पष्ट रूपमा बुझाउन सङ्घर्ष गरिरहेका छन्।

उनका अनुसार क्यामेरा र एआईको प्रयोगमार्फत वास्तविक संसारको सन्दर्भ बुझ्ने क्षमता भए पनि त्यसको दैनिक उपयोग के हो भन्ने प्रश्न अझै कायम छ । 

मूल्य घट्दै जाँदा स्मार्ट चस्माको लोकप्रियता बढ्न सक्ने अपेक्षा गरिएको छ । बजा अनुसन्धाता संस्था आईडीसीका अनुसार स्मार्ट चस्माको औसत बिक्री मूल्य २०२६ मा ३७६ अमेरिकी डलरबाट घटेर २०३० सम्म २२९ अमेरिकी डलरमा झर्ने अनुमान गरिएको छ।

मेटाले यसअघि स्मार्टफोन, स्मार्ट होम उपकरण तथा भर्चुअल रियालिटी हेडसेटजस्ता विभिन्न हार्डवेयर उत्पादनमार्फत बजारमा प्रभाव जमाउने प्रयास गरेको भए पनि अपेक्षित सफलता हासिल गर्न सकेको थिएन ।

कम्पनी अहिले स्मार्ट चस्मालाई स्मार्टफोन र स्मार्टवाचजत्तिकै सर्वसुलभ प्रविधि बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ । बोस्वर्थका अनुसार कम्पनी चस्मा नलगाउने मानिसहरूका लागि पनि एआई क्षमता उपलब्ध गराउन सकिने नयाँ प्रकारका उपकरणबारे अध्ययन गरिरहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप