बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

रुपाको बजेट साढे ५५ करोड, किसानका लागि प्राथमिकता

बुधबार, १० असार २०८३, १७ : ३२
बुधबार, १० असार २०८३

सारांश

  • कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५५ करोड ३८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
  • गाउँपालिकाले आगामी वर्ष उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक विकास र पूर्वाधार निर्माणलाई मुख्य जोड दिएको छ ।
  • कृषि तथा पशुपालनको उत्पादन र आत्मनिर्भरतामा पालिकाले ठुलो बजेट खर्च गर्ने जनाएको छ, जसमा एकीकृत कृषि विकास कार्यक्रमका लागि १ करोड ८० लाख विनियोजन गरिएको छ ।

पोखरा । कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब साढे ५५ करोडको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष लालसुब्बा गुरुङले गाउँसभामा ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

पालिकाले आगामी वर्ष उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक विकास र पूर्वाधार निर्माणलाई मुख्य जोड दिएको छ । पालिकाको पूरा बजेटमध्ये चालुतर्फ ४१ करोड ८२ लाख र पूँजीगतमा १३ करोड ५५ लाख ७१ हजार विनियोजन गरिएको छ ।

सबैजसो बजेट माथिल्ला सरकारको अनुदानमा निर्भर छ । नेपाल सरकारले आगामी वर्ष रुपालाई वित्तीय समानीकरणमा ७ करोड ७८ लाख, राजस्व बाँडफाँटबाट ७ करोड ५९ लाख, सशर्त अनुदान २९ करोड २९ लाख दिनेछ । यस्तै, समपूरक अनुदानमा १ करोड ७५ लाख, विशेष अनुदान ३० लाख दिनेछ ।

प्रदेश सरकारले राजस्व बाँडफाँटमा ८१ लख, समपूरक अनुदान ६० लाख, वित्तीय समानीकरण ९३ लाख, विशेष अनुदान ४० लाख दिनेछ । पालिकाले चालू वर्षमा खर्च गर्न नसकेको ४ करोड ६२ लाख आगामी वर्षको प्रमुख हिस्सा बन्नेछ । आन्तरिक रूपमा पालिकाले १ करोड २७ लाख उठाउने प्रक्षेपण गरेको छ ।

आगामी वर्षका लागि कृषि तथा पशुपालनको उत्पादन र आत्मनिर्भरतामा पालिकाले ठुलो बजेट खर्च गर्ने जनाएको छ । ‘मेहनती कृषकको हातः गाउँपालिकाको साथ’ भन्ने नारासहित एकीकृत कृषि विकास कार्यक्रमका लागि १ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । सबै कृषि क्षेत्रको लागि २ करोड ५ लाख र पशुमा ७८ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

हरेक वर्ष रुपाले नयाँ कृषि उत्पादनलाई जोड दिएर पैसा विनियोजन गर्ने गरेको छ । आगामी वर्ष पालिकाले साइलेज उद्योग सञ्चालन र निःशुल्क पशु बिमा जस्ता कार्यक्रम सञ्चालनको घोषणा गरेको छ । सामाजिक विकास क्षेत्रका लागि १९ करोड ४३ लाख, शिक्षामा १५ करोड २४ लाख बजेट छ । सामाजिक क्षेत्रको रकम सामाजिक सुरक्षा भत्ता समेत हो ।

शिक्षाको बजेटबाट शिक्षा क्षेत्रको विकास, मेगा नमुना विद्यालय सञ्चालन तथा शिक्षक–कर्मचारीको क्षमता अभिवृद्धिका कार्यक्रम समावेश हुनेछन् । एकीकृत स्वास्थ्य प्रणालीको विकास, निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर परीक्षण र निःशुल्क एम्बुलेन्स सेवा लगायतका स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि ३ करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाभित्रका सडक, पुल, झोलुङ्गे पुल र प्रशासनिक भवन निर्माण लगायतका भौतिक पूर्वाधार विकासका लागि ११ करोड १८ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्ष रुपाले प्रसिद्ध रोयल ट्रेकको प्रवर्द्धन गर्ने अध्यक्ष नवराज ओझाले जानकारी दिए । यस्तै, ल्याण्डफिल साइट निर्माण पनि प्राथमिकतामा राखिएको छ । पहिले देखि नै सञ्चालन हुँदै आएको छोरीहरूको हितका लागि ७ लाख बजेट विनियोजन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप