बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

एआईले बदल्ला क्यान्सरका बिरामीको जीवन ?

बुधबार, १० असार २०८३, १८ : ५१
बुधबार, १० असार २०८३

काठमाडौँ । क्यान्सर यस्तो रोग हो, जसको नाम सुन्नासाथ धेरै मानिस डराउने गर्छन् । सामान्य मानिसहरूका लागि क्यान्सरको उपचार निकै चुनौतीपूर्ण र खर्चिलो हुने गर्छ ।

वास्तवमा क्यान्सरको उपचार मात्र महँगो हुँदैन, यसको प्रारम्भिक परीक्षण र विभिन्न जाँचमा पनि ठुलो रकम खर्च हुने गर्छ । धेरै पटक बिरामीले आफूलाई कुन औषधि वा कुन प्रकारको थेरापी प्रभावकारी हुन्छ भन्ने थाहा पाउन मात्रै लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आउँछ ।

तर अहिले चिकित्सा विज्ञानको क्षेत्रमा एउटा यस्तो समाचार आएको छ, जसलाई वरदानभन्दा कम मान्न सकिँदैन । कृत्रिम बुद्धिमत्ता (एआई)ले क्यान्सरसँग सम्बन्धित अत्यन्त महँगो परीक्षणलाई अब सर्वसाधारणको पहुँचमा ल्याउने सम्भावना देखाएको छ ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्या नाडेलाले हालै एक अन्तर्वार्ताका क्रममा चिकित्सा विज्ञानमा आएको यस ठुलो परिवर्तनबारे चर्चा गरेका छन् । उनका अनुसार मानव शरीर र त्यससँग सम्बन्धित रोगहरूलाई बुझ्नु विज्ञानका सबैभन्दा जटिल कार्यमध्ये एक हो । क्यान्सर उपचारमा प्रयोग हुने ‘इम्युनोथेरापी’ नामक उपचार विधि प्रत्येक बिरामीको शरीर र ट्युमरअनुसार फरक–फरक ढंगले प्रभावकारी हुन्छ ।

अहिलेसम्म कुनै विशेष इम्युनोथेरापी कुनै बिरामीको ट्युमरमा प्रभावकारी हुन्छ कि हुँदैन भन्ने पत्ता लगाउन अत्यन्त जटिल र महँगो परीक्षण गर्नुपर्थ्यो । यस्तो परीक्षणको लागत करिब १ लाख अमेरिकी डलर पर्ने गर्थ्यो । परीक्षणमा धेरै समय लाग्नुका साथै ठुलो आर्थिक भार पनि बेहोर्नुपर्ने अवस्था थियो । 

के हो इम्युनोथेरापी ?

इम्युनोथेरापी यस्तो उपचार विधि हो, जसले शरीरको आफ्नै प्रतिरक्षा प्रणालीलाई रोगसँग लड्नका लागि प्रशिक्षण दिने वा अझ शक्तिशाली बनाउने काम गर्छ । 

बिरामीहरूको लागि यो महत्त्वपूर्ण चुनौतीलाई सम्बोधन गर्न, प्रोभिडेन्स, वाशिंगटन विश्वविद्यालय र माइक्रोसफ्ट रिसर्चका वैज्ञानिकहरू र अनुसन्धानकर्ताहरूले सहकार्य गरेका छन् । यी सबैले मिलेर अति उन्नत एआई मोडल तयार गरेका छन । यसको नाम गिगाटाइम राखिएको छ । यो एआई मोडेल मूलतः त्यो महँगो परीक्षणको डिजिटल सिमुलेशन हो ।

के हो गिगाटाइम एआई मोडल र यसले कसरी काम गर्छ ?

क्यान्सरको उपचार प्रत्येक बिरामीका लागि फरक–फरक हुने भएकाले चिकित्सकहरूका सामु सबैभन्दा ठुलो चुनौती भनेको कुन बिरामीलाई कुन औषधि वा कुन इम्युनोथेरापी उपयुक्त हुन्छ भन्ने निर्णय गर्नु हो । यही चुनौती समाधान गर्न वैज्ञानिकहरूले ‘गिगाटाइम’ नामक एआई मोडल विकास गरेका छन् ।

गिगाटाइम अत्याधुनिक कम्प्युटर भिजन र मेसिन लर्निङमा आधारित एआई प्रणाली हो । चिकित्सा भाषामा यसलाई ‘डिजिटल सिमुलेसन उपकरण’ पनि भनिन्छ ।  यो एआई मोडलले बिरामीको ट्युमर र त्यससँग सम्बन्धित कोशिकाहरूको डिजिटल डाटालाई अत्यन्त सूक्ष्म रूपमा विश्लेषण गर्छ । 

यसअघि कुनै औषधिले क्यान्सरमा असर गर्छ कि गर्दैन भन्ने थाहा पाउन प्रयोगशालामा हप्तौँसम्म जटिल र महँगा बायोमार्कर परीक्षण गर्नुपथ्र्यो । तर गिगाटाइमले त्यही सम्पूर्ण परीक्षणलाई कम्प्युटरमै डिजिटल रूपमा अनुकरण (सिमुलेसन) गरेर औषधिले ट्युमरमा कस्तो प्रतिक्रिया जनाउँछ भन्ने मूल्याङ्कन गर्न सक्छ ।

यसको मद्दतले क्यान्सर विशेषज्ञ चिकित्सकहरूले बिरामीका लागि सबैभन्दा उपयुक्त इम्युनोथेरापी कुन हो भन्ने कुरा छिट्टै थाहा पाउन सक्छन् । यसबाट गलत उपचार वा प्रभावहीन औषधिमा खर्च हुने समय र पैसा दुवै बच्ने अपेक्षा गरिएको छ । 

सर्वसाधारणलाई के फाइदा हुन्छ ?

सत्या नाडेलाका अनुसार यो प्रविधि उपलब्ध भएपछि महँगा परीक्षण गराउनका लागि ठुला सहर वा विदेश धाउनुपर्ने बाध्यता कम हुनेछ । देशका साना शहरका सामान्य वा जिल्ला अस्पतालहरूमा समेत चिकित्सकहरूले यस एआई मोडलको प्रयोग गरेर यस्ता परीक्षण गर्न सक्नेछन् । जब यस्तो परीक्षण सबै प्रकारका अस्पतालमा उपलब्ध हुन्छ, तब उपचारको लागत उल्लेखनीय रूपमा घट्नेछ ।

सही समयमा सही उपचार उपलब्ध हुँदा क्यान्सर बिरामीहरूको जीवन बचाउने सम्भावना पनि बढ्नेछ । चिकित्सा क्षेत्रमा खर्च घट्नु र आधुनिक प्रविधि सबै ठाउँमा उपलब्ध हुनुलाई नाडेलाले एउटा ठुलो उपलब्धि तथा क्रान्तिकारी परिवर्तनका रूपमा वर्णन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप