बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित

बिहीबार, ११ असार २०८३, ०५ : ५०
बिहीबार, ११ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को समूह ‘सी’ बाट ब्राजिल र मोरक्कोले अन्तिम ३२ मा स्थान बनाएका छन् ।
  • ब्राजिलले स्कटल्याण्डलाई ३-० ले र मोरक्कोले हाइटीलाई ४-२ ले पराजित गर्‍यो ।
  • ब्राजिल ७ अंकका साथ समूह विजेता र मोरक्को उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘सी’ को निर्णायक खेलहरूमा जित निकाल्दै ब्राजिल र मोरक्कोले प्रतियोगिताको अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेका छन् । अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० को फराकिलो अन्तरले पराजित गर्‍यो भने एटलान्टामा भएको अर्को प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले हाइटीमाथि ४–२ को रोमाञ्चक जित दर्ता गरेको  छ ।

ब्राजिलको जितमा स्टार स्ट्राइकर भिनिसियस जुनियर नायक बने । उनले खेलको ७ औँ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्राजिललाई बलियो स्थितिमा पुर्‍याए । यो गोलसँगै भिनिसियसले जारी विश्वकपको समूह चरणका तीन वटै खेलमा गोल गर्ने दुर्लभ कीर्तिमान समेत बनाएका छन् । उनले जारी विश्वकपमा ४ गोल गरिसकेका छन् ।  खेलको ६० औँ मिनेटमा म्याथियस कुन्हाले तेस्रो गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।

खेलको अर्को मुख्य आकर्षण ७६ औँ मिनेटमा नेयमारको मैदान प्रवेश रह्यो । जारी विश्वकपमा पहिलो पटक मैदान छिरेका नेयमारलाई समर्थकहरूले भव्य स्वागत गरेका थिए । 

मोरक्कोको सानदार पुनरागमन

अर्कोतर्फ, मोरक्कोले हाइटी विरुद्ध दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै ४–२ को जित निकाल्यो । १० औँ मिनेटमा आत्मघाती गोलबाट पछि परेको मोरक्कोका लागि ३९ औँ मिनेटमा अचराफ हाकिमीले बराबरी गोल गरे । हाइटीले पुनः अग्रता लिए पनि मोरक्कोका इस्माइल सैबारी पहिलो हाफको अतिरिक्त समयमा, सुफियान रहिमि ७८ औँ मिनेट र गेसिम यासिन ८९ औ मिनेटमा गोल गर्दै टोलीलाई सानदार जित दिलाए ।

यस समूहबाट ७ अंकका साथ ब्राजिल गोल अन्तरमा अगाडि रहँदै समूह विजेता बनेको छ । समान ७ अंक भए पनि गोल अन्तरमा पछि पर्दै मोरक्को उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ । ३ अंक जोडेको स्कटल्याण्ड समूहमा तेस्रो स्थानमा रहँदै बाहिरिने सम्भावना बलियो छ भने कुनै पनि अंक नजोडेको हाइटी प्रतियोगिताबाट बिदा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप