पञ्चायती कालको उत्तरार्द्धमा भएको ज्यादती : रुपन्देहीको ‘सुरजपुर काण्ड’बारे प्रत्यक्षदर्शीको बकपत्र
सारांश
- २०४० फागुन २० गते रुपन्देहीको देवदहस्थित सुरजपुरमा नेपाली कांग्रेसको आमसभामा तत्कालीन मण्डले समूहले आक्रमण गर्दा दुई कार्यकर्ताको मृत्यु भएको थियो र २७२ जना घाइते भएका थिए।
- तत्कालीन कांग्रेस सभापति पुष्पानन्द गिरीको निवासमा आयोजना गरिएको उक्त कार्यक्रममा गिरिजाप्रसाद कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा लगायतका नेताहरू सहभागी थिए।
- प्रत्यक्षदर्शी युवराज गिरीका अनुसार यो घटना पञ्चायती व्यवस्थाविरुद्धको संघर्षलाई सशक्त बनाउने लोकतान्त्रिक आन्दोलनको एक महत्त्वपूर्ण अध्याय थियो।
बुटवल । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका क्रममा २०१८ सालमा भएको चितवनको गेष्टहाउस चौर काण्ड स्मरण गरेपछि निर्दलीय पञ्चायती कालका प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका अन्य ज्यादतीहरु पनि फेरि सम्झन थालिएको छ ।
त्यस्ता विभिन्न घटनामध्ये रुपन्देहीको देवदहस्थित ‘सुरजपुर काण्ड’ पनि एक महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा सम्झिने गरिन्छ ।
निर्दलीय पंचायती कालको उत्तरार्ध्दतिर अर्थात् २०४० फागुन २० गते प्रतिबन्धित नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेलामा सत्ताद्वारा पालित-पोषित मण्डले समूहले हिंसात्मक आक्रमण गरेको थियो । कार्यक्रम रुपन्देही कांग्रेसका तत्कालीन सभापति पुष्पानन्द गिरीको निजी निवास परिसरमा आयोजना गरिएको थियो ।
कार्यक्रममा कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला, नेताहरू रामचन्द्र पौडेल, शेरबहादुर देउवा लगायतका स्थानीय नेता कार्यकर्ता सहभागी थिए । योजनाबद्ध रूपमा आएका मण्डलेहरू निजी निवासमा आयोजित कार्यक्रमस्थलमा पसेर उनीहरूमाथि हिंसात्मक आक्रमण गरेका थिए ।

आक्रमणमा कांग्रेसका होनहार कार्यकर्ता यादवनाथ आलोक र रामप्रसाद चौधरी मारिए भने २७२ जना घाइते भएका थिए । तीमध्ये २७ जनाको अवस्था गम्भीर रहेको इतिहासमा उल्लेख छ ।
प्रजातान्त्रिक आन्दोलनको विरुद्धमा पंचायती शासकद्वारा पालित-पोषित मण्डलेहरुद्वारा गरिएको यो ज्यादती रुपन्देहीको राजनीतिक इतिहासमा सबैभन्दा दुःखद् घटनामध्ये एक मानिन्छ ।
तत्कालीन कांग्रेस जिल्ला सभापति पुष्पानन्द गिरीका आठ भाइ छोरामध्ये साइँला छोरा शक्तिप्रसन्न गिरीको नाममा छ अहिले उक्त घर । पुष्पानन्द गिरीका काइला छोरा युवराज गिरी त्यसबेला प्रत्यक्षदर्शी थिए ।

सुरजपुर काण्ड नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा महत्त्वपूर्ण अध्याय हो, जसले पञ्चायती व्यवस्थाविरुद्धको संघर्षलाई अझ सशक्त बनाएको थियो ।
त्यो बेला विद्यार्थी नेतासमेत रहेका युवराज गिरीले रातोपाटीसँग कुरा गर्दै सुरजपुर काण्डलाई यसरी स्मरण गरेका छन्–
गिरीको बकपत्र उनकै शब्दमा
२०४० सालमा म बुटवल बहुमुखी क्याम्पसमा आइए पढ्थेँ । म नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष एवं नेविसंघ रुपन्देहीको जिल्ला सदस्यसमेत थिएँ । हाम्रो घर देवदह खैरेनीबाट नजिक रहेको सुरजपुरमा बेला–बेला विभिन्न कार्यक्रम हुने गर्दथे । बुवा पुष्पानन्द गिरी कांग्रेसको जिल्ला सभापति हुनुन्थ्यो ।
२०४० साल फागुन २० गते रुपन्देहीमा नेपाली कांग्रेसका तीन वटा कार्यक्रम तय भएका थिए । तीमध्ये एउटा कार्यक्रम हाम्रो घरमा, अर्को सेमलारमा र तेस्रो कार्यक्रम भैरहवामा तय भएको थियो । ती कार्यक्रममा गिरिजाप्रसाद कोइराला सहितका नेताहरू आउने योजना थियो । कांग्रेस नेताहरू देवदह सुरजपुर, जहाँ बसबाट आउन पनि सहज हुने भएकाले सुरुमा हाम्रो घरमा कार्यक्रम तय भएको थियो । किनकि काठमाडौँबाट देवदहको खैरेनीसम्म सहज रूपमा यातायात चल्दथ्यो । खैरेनीबाट करिब ५ किलोमिटरमा कार्यक्रम थियो ।

हालको देवदह नगरपालिका–३ स्थित सुरजपुरमा रहेको हाम्रो घरको करिब ३ कट्टा जमिनका काठले बारेर कम्पाउन्ड बनाएको थियो । त्यहाँ फलफूलका रुखहरू समेत रहेकाले शीतल समेत हुँदा कार्यक्रम गर्न उपयुक्त ठाउँ थियो । त्यो कार्यक्रम सकेपछि सेमलार, त्यसपछि भैरहवा जाने योजना थियो ।
हाम्रो घरमा कार्यक्रम गर्दा मण्डलेहरूको आउजाउ पनि भएको थियो, तर हामीले वास्ता गरेनौँ । किनकि योजनाबद्ध रूपमा यसरी ठुलो आक्रमण होला भन्ने हाम्रो बुवा र गिरिजा प्रसाद कोइरालालाई पनि नभएको हुन सक्छ ।
कांग्रेस नेताहरू मिनीबस चढेर दिउँसो १ बजे रुपन्देहीको खैरेनी आइपुगे । पञ्चायती शासनको त्यो बेला दलमाथि प्रतिबन्ध लगाइएका कारण खुला रूपमा दलीय कार्यक्रम गर्न छुट थिएन । गिरिजाप्रसाद कोइराला आइपुगेको केही समयपछि गाउँमा कालो झन्डा बोकेर मानिसहरू आइरहेका छन् भनेर हल्ला चल्यो ।
कालो झन्डा देखाउने भनेको विरोधको एउटा शैली हो । प्रजातन्त्रका लागि संघर्ष गरेका योद्धाको विरोधी मण्डलेहरू नै हुन् । गिरिजाप्रसाद कोइरालामाथि मण्डलेहरूले बेला–बेला आक्रमण प्रयास गरिसकेका थिए ।
२०३८ सालमा पनि कपिलवस्तु, जीतपुरमा मण्डलेहरूले आक्रमण गरी कार्यक्रम बिथोलेका थिए । यो बेला गिरिजा कोइरालालाई कांग्रेस नेता त्रैलोक्य प्रताप सेनले बचाएका थिए । सुरजापुरमा पनि आक्रमण गर्ने सङ्केत मिलेपछि बुवा (पुष्पानन्द गिरि)ले कार्यक्रमको स्वरूप छोट्ट्याउँदै गिरिजाप्रसाद कोइरालामात्र बोल्ने र छिटो कार्यक्रम टुङ्ग्याउने भन्ने भयो । कार्यक्रम सकेर घरभित्र खाना खान पुगेको बेला सयौँ सङ्ख्यामा मण्डलेहरू आए । उनीहरूले ढुङ्गा र भाला लिएर आएका थिए । धमाधम आक्रमण सुरु गरे । कांग्रेसका धेरै युवा थिए, तर प्रतिरोध गर्न खुला आदेश भएन । मण्डलेहरू घरभित्र पसेर तोडफोड गर्न थाले । हाम्रो तीन तले घरमा तोरी, घान, गहुँ राख्ने छुट्टाछुट्टै काठका बाकस थिए । ती बाकस समेत तोडेर आँगनमा ल्याए ।
गिरिजाप्रसाद कोइरालालाई धनसारमा लुकाइएको थियो । हामीमाथि आक्रमण भयो । हाम्रो घरमा लाइसेन्स प्राप्त बन्दुक थियो । अन्य छिमेकी समेतको गरी ३ वटा बन्दुक हामीसँग थिए, तर हामीले बन्दुक चलाएनौँ । किनकि हामीलाई बन्दुक चलाउन आदेश थिएन ।
पहिला घरको पर्खाल बाहिरबाट ढुंगामुढा प्रहार गरेका आक्रमणकारीहरूले पछि भित्रै पसेर आक्रमण र तोडफोड गरे । बन्चरोले हानेर ढोका फोडेपछि भुइँतलामा भएका कार्यकर्तामाथि उनीहरूले आक्रमण गरे । नेताहरूलाई बचाउन तेस्रो तलामा पु¥याएर घोप्टे (भ¥याङको मुखमा घोप्टो पारेर लगाइने काठको ढोका) लगाइएको थियो ।
शेरबहादुर देउवालाई समेत त्यो बेला चोट लागेको थियो । त्यो बेला उहाँको मुखमा लागेको चोटको खत अहिले पनि प्रस्टसँग देखिन्छ ।
त्यो बेला मण्डलेहरूले अञ्चालाधीश, सीडीओ, तत्कालीन डीएसपी रामकाजी बान्तवा, पञ्चायतका समर्थक निरञ्जन थापा, दीपक बोहरासहितको योजनामा आक्रमण भएको थियो । त्यो बेला गिरिजाप्रसाद कोइरालामाथि आक्रमण गर्ने मुख्य उद्देश्य थियो । हाम्रो घरमा भएका गरगहना सबै सामान, अन्न लुटपाट एवं नष्ट गरे ।
मण्डलेको आक्रमणमा यादवनाथ आलोक र रामप्रसाद चौधरीको मृत्यु भएको थियो । २७० जना घाइते भएका थिए भने हरि प्रसाद पोखरेल, कलाधर गैरे, परमानन्द भट्टराई लगायत २७ जना गम्भीर घाइते भएका थिए ।
मण्डलेले आलोकलाई नियन्त्रणमा लिएर खुकुरी र भाला प्रहार गरेर मारेका थिए । चौधरीको उपचारका क्रममा ९ दिनपछि मृत्यु भएको थियो । त्यो समयमा अहिले जस्तो सवारी साधन नपाइने भएकाले घाइतेलाई गाडामा हालेर उपचारका लागि अस्पताल लगिएको थियो । केहीलाई हालको तिलोत्तमामा पर्ने सेमरा बजारसम्म गाडामा हालेर पु¥याएपछि गोपालमान श्रेष्ठ (पूर्वमन्त्री तथा कांग्रेस नेता)को ट्रकमा हालेर उपचारका लागि बुटवल अस्पताल ल्याइएको थियो ।

उक्त घटनापछि कांग्रेस महामन्त्री गिरिजाप्रसाद कोइरालाको सोही दिन रुपन्देहीमा हुने र अर्को दिन भैरहवामा हुने कार्यक्रम मात्रै नभएर देश दौडाहा कार्यक्रम स्थगित गरेका थिए ।
घटनाको एक महिनापछि तत्कालीन गृहसचिव टेक बहादुर खत्री घटनास्थल आएका थिए । उनले राजा वीरेन्द्रको तर्फबाट क्षतिपूर्ति दिने प्रस्ताव गरेका थिए । तर, पुष्पानन्द गिरीले क्षतिपूर्ति भन्दा पनि दोषीलाई कारबाही र लोकतन्त्र चाहिने माग गरे ।
सुरजपुर काण्ड प्रजातान्त्रिक आन्दोलनमाथि गरिएको सत्तापरिचालित क्रुर हिंसाको उदाहरण थियो ।
सुरजपुर काण्डलाई नेपाली कांग्रेसले पञ्चायती शासनको दमन र राजनीतिक हिंसाको एउटा प्रतिनिधि घटनाका रूपमा स्मरण गर्दै आएको छ ।
(ऐतिहासिक तस्बिरहरू कांग्रेस नेता युवराज गिरीले रातोपाटीलाई उपलब्ध गराएका हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन
-
ओपनएआईले च्याटजीपीटीका लागि बनायो आफ्नै चिप
-
५० प्रतिशतले घट्यो फिल्म निर्माण, दोषी कलाकार !
-
चल्दा चल्दैको फोन किन हुन्छ ह्याङ ?
-
१४ नगरपालिका समय सीमाभित्र बजेट ल्याउन असफल, मधेसका धेरै
-
आज पनि घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण