धार्मिक आस्था र जैविक विविधताको अनुपम संगम : पार्वती कुण्ड
सारांश
- रसुवाको पार्वती कुण्ड धार्मिक, सांस्कृतिक र पारिस्थितिक रूपमा महत्त्वपूर्ण सिमसार क्षेत्र हो ।
- यस कुण्डमा औषधीय गुण भएको बोजो पाइन्छ, जसले पानीको गुणस्तर कायम राख्नुका साथै जलचर र चराचुरुङ्गीका लागि बासस्थान प्रदान गर्दछ ।
- स्थानीय समुदायको संरक्षण प्रयास, प्रदेश सरकारको बजेट र दिगो व्यवस्थापनले पार्वती कुण्डलाई महत्त्वपूर्ण सिमसार तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकास्थित पार्वती कुण्ड धार्मिक, सांस्कृतिक तथा पारिस्थितिक दृष्टिले महत्त्वपूर्ण सिमसार क्षेत्रका रूपमा परिचित छ । समुद्री सतहबाट २,६०६ मिटर उचाइमा अवस्थित यस तालको क्षेत्रफल करिब १.८७ हेक्टर रहेको छ । पार्वती कुण्डमा पछिल्ला वर्षहरूमा धार्मिक पर्यटक, प्रकृतिप्रेमी तथा अनुसन्धाताहरूको आकर्षण बढ्दो छ ।
स्थानीय किंवदन्तीअनुसार भगवान् शिव गोसाइँकुण्डतर्फ ध्यानका लागि जाँदा माता पार्वती उहाँको खोजीमा यस क्षेत्रमा आइपुगेर कुण्डमा स्नान गर्नुभएको विश्वास गरिन्छ । यही धार्मिक आस्थाका कारण हिन्दू र बौद्ध धर्मावलम्बीहरू नेपालका विभिन्न क्षेत्र तथा विदेशबाट समेत यहाँ पुग्ने गरेका छन् ।
धार्मिक महत्त्वसँगै पार्वती कुण्ड जैविक विविधताका दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । कुण्डभित्र औषधीय गुण भएको बोजो प्रशस्त पाइन्छ । स्थानीयवासीका अनुसार बोजोले कुण्डको पानीको गुणस्तर र सुगन्ध कायम राख्न सहयोग पुर्याउनुका साथै विभिन्न जलचर तथा चराचुरुङ्गीका लागि पनि उपयुक्त बासस्थान निर्माण गरेको पाइन्छ ।
कुण्ड वरपरको वन क्षेत्रमा खस्रु, अङ्गेरी, गुराँस तथा एसरलगायतका वनस्पति पाइन्छन् । यस क्षेत्रमा विभिन्न प्रजातिका सुनाखरी, रङ्गीबिरङ्गी पुतली तथा चराचुरुङ्गीहरूको उल्लेखनीय उपस्थिति रहेको छ, जसले यस क्षेत्रको पारिस्थितिक महत्त्वलाई थप उजागर गरेको छ । कालो पुच्छ्रे कस्दरी जसलाई अङ्ग्रेजीमा ब्ल्याक टेल्ड क्रेक भनिन्छ, सो सिमसार आश्रित चरा पनि यस सिमसारमा देख्न सकिन्छ ।
जाडो याम सुरु भएसँगै रूखहरूका पातहरू झर्ने र पोखरीहरूमा गई एउटा समस्या बन्ने गरेको पाइन्छ । तर स्थानीयका अनुसार सो कुण्डमा समय–समयमा देखिने (प्रवासी चरा) जङ्गली हाँसहरूले पानीमा जम्मा हुने पात तथा अन्य जैविक पदार्थहरू खाएर व्यवस्थापन गरी पारिस्थितिक सन्तुलन कायम राख्न भूमिका खेल्ने गरेका छन् ।
स्थानीय भाषामा 'खडखडे' भनिने हाँस, जसलाई अङ्ग्रेजीमा ‘गडवाल’ भनेर चिनिन्छ, त्यसले पोखरी सफा गर्न मद्दत पुर्याइरहेको स्थानीयको भनाइ छ । कुण्ड आसपासको बोजोयुक्त दलदली क्षेत्रले जलपन्छी तथा अन्य जीवजन्तुका लागि निकै महत्त्वपूर्ण आश्रयस्थलको काम गरिरहेको छ ।

विशेषगरी स्थानीय समुदायको संरक्षण प्रयासले पार्वती कुण्डको मौलिकता जोगाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ । कुण्ड आसपास बसोबास गर्ने बौद्ध समुदायले पालैपालो पूजा–आराधना गर्ने, कुण्ड क्षेत्रमा जम्मा हुने जैविक पदार्थ सफा गर्ने तथा संरक्षण गतिविधिमा सक्रिय सहभागिता जनाउने गरेका छन् ।
स्थानीयवासीहरूका अनुसार मनसुन, खडेरी तथा भूकम्पजस्ता प्राकृतिक घटनाका बाबजुद पनि कुण्डको जलस्तरमा उल्लेखनीय परिवर्तन देखिएको छैन । यसले कुण्डको प्राकृतिक जल प्रणालीको स्थायित्वबारे थप वैज्ञानिक अध्ययनको आवश्यकता औँल्याएको छ ।
प्रदेश सरकारले समेत पार्वती कुण्डको संरक्षण तथा व्यवस्थापनका लागि बजेट विनियोजन गरेको स्थानीय स्रोतले जनाएको छ । धार्मिक आस्था, जैविक विविधता र सामुदायिक संरक्षण अभ्यासको उत्कृष्ट उदाहरणका रूपमा रहेको पार्वती कुण्ड काठमाडौँबाट टाढा भए पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।
साथै लाङटाङ राष्ट्रिय निकुञ्ज, गत्लाङ गाउँ, रुबी उपत्यका जाने पर्यटकहरूको आकर्षण पार्वती कुण्डप्रति बढिरहेको र अझ बढ्न सक्ने सम्भावना देखिन्छ । दिगो व्यवस्थापन र वैज्ञानिक अध्ययनले भविष्यमा यस क्षेत्रको अवस्था र अन्य विशेषताले गर्दा यस क्षेत्रलाई नेपालको महत्त्वपूर्ण सिमसार तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने पनि अपेक्षा गरिएको छ ।
(बुढाथोकी, त्रिभुवन विश्वविद्यालयमा जैविक विविधता तथा वातावरण व्यवस्थापन अध्ययनरत छिन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
-
युरोपमा गर्मीको भयावह कहर, मर्नेकाे सङ्ख्या चुलिँदै
-
'वेलकम टु द जङ्गल'को बक्स अफिसमा दमदार सुरुआत, पहिलो दिनको कलेक्सन कति ?
-
५१ औँ दिनमा ‘लालीबजार’
-
राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण