युरोपमा गर्मीको भयावह कहर, मर्नेकाे सङ्ख्या चुलिँदै
सारांश
- युरोपका धेरै देशमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ, जसले गर्दा सार्वजनिक कार्यक्रमहरू रद्द गरिएका छन् र मृत्यु हुनेको सङ्ख्या बढेको छ ।
- जर्मनी, बेल्जियम र नेदरल्यान्ड्समा नयाँ तापक्रम कीर्तिमान कायम भएको छ, भने स्पेनमा गर्मीकै कारण ३२७ जनाको मृत्यु भएको छ ।
- जलवायु परिवर्तनका कारण युरोप विश्वको सबैभन्दा छिटो तात्ने महादेश बनेको छ, जसले गर्दा यस वर्षको तापलहर अहिलेसम्मकै भीषण भएको छ ।
युरोपको घातक तापक्रमले जर्मनी, बेल्जियम र नेदरल्यान्ड्समा समेत रेकर्ड तोड्यो, आइतबारदेखि बिहीबारसम्म गर्मीकै कारण स्पेनमा मात्र ३२७ जनाले ज्यान गुमाए
काठमाडौँ । जर्मनी, बेल्जियम र नेदरल्यान्ड्समा शुक्रबार जुन महिनाको तापक्रमसम्बन्धी नयाँ कीर्तिमान कायम भएको छ । स्पेन र फ्रान्समा ताप लहरका कारण मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला स्वास्थ्य जोखिमका कारण अधिकारीहरूले कन्सर्ट तथा अन्य सार्वजनिक कार्यक्रमहरू रद्द गरेका छन् ।
जर्मनीको दक्षिण पश्चिमी सहर सारब्रुकेनमा ४१.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन देशको इतिहासकै सबैभन्दा उच्च तापक्रम भएको प्रारम्भिक विवरणमा उल्लेख छ । सीमासँग जोडिएको यस सहर नजिकैको फ्रान्सले यसै साता लगातार तीन दिनसम्म इतिहासकै सबैभन्दा गर्मी अनुभव गरेको थियो ।
फ्रान्समा ताप लहरको चरम स्तर पार गरे पनि स्वास्थ्यमन्त्री स्तेफानी रिस्टले ‘घरमै मृत्यु हुनेहरूको सङ्ख्या बढ्नु’ विशेष चिन्ताको विषय भएको बताइन् ।
विश्व मौसम सङ्गठनकी प्रवक्ता क्लेयर नुलिसले स्वास्थ्य, पारिस्थितिक प्रणाली, कृषि र श्रम क्षेत्रमा तापलहरले ‘गम्भीर प्रभाव’ पार्ने चेतावनी दिँदै भनिन्, ‘दुर्भाग्यवश हामीले यस अवस्थासँग बिस्तारै अभ्यस्त हुनुपर्नेछ ।’
जुन महिनाको यो घातक तापलहर बिस्तारै उत्तर र पूर्वी युरोपतर्फ सरेको छ । बेल्जियमका मौसमविद् डेभिड डेहेनाउका अनुसार नेदरल्यान्ड्सको सीमासँग रहेको क्लाइन ब्रोगेलमा अनौपचारिक रूपमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
नेदरल्यान्ड्सको दक्षिणी प्रान्त लिम्बर्गमा ३९.४ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ । त्यस्तै बेलायतको सफोकस्थित काभेन्डिसमा ३७.१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ, जुन जुन महिनाको नयाँ प्रारम्भिक कीर्तिमान हो ।
एएफपी समाचार संस्थाको गणनाअनुसार शुक्रबार युरोपभर कम्तीमा १५ करोड मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गरेका थिए ।
चेक गणतन्त्रका मौसमविद्हरूले शनिबार सन् २०१२ मा कायम भएको ४०.४ डिग्री सेल्सियसको राष्ट्रिय कीर्तिमान तोडिन सक्ने अनुमान गरेका छन् । अस्ट्रियामा आइतबार राष्ट्रिय तापक्रम कीर्तिमान तोडिने पूर्वानुमान गरिएको छ । बाल्कन क्षेत्रका देशहरूमा पनि अत्यधिक गर्मी परेको छ र सर्बियामा सप्ताहन्तमा ३९ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको छ ।
स्विट्जरल्यान्डमा आरे नदीको तापक्रम २५ डिग्री सेल्सियस पुगेपछि बेजनाउ आणविक ऊर्जा केन्द्रले शुक्रबार आफ्ना दुवै रिएक्टर विद्युत् सञ्जालबाट हटाएको छ । नदीको पानी यति तातो भएपछि रिएक्टरलाई पर्याप्त रूपमा चिस्याउन नसकिने जनाइएको छ ।
फ्रान्स, जर्मनी, इटाली, स्पेन र दक्षिणी इङ्ग्ल्यान्डमा तापक्रम मौसमी औसतभन्दा ५ देखि १२ डिग्री सेल्सियससम्म बढी पुगेको छ । वैज्ञानिकहरूको संस्था वर्ल्ड वेदर एट्रिब्युसनका अनुसार यसको प्रमुख कारण लामो समयदेखि कायम रहेको उच्च वायु चाप प्रणाली हो ।
उक्त संस्थाका अनुसार जुन महिना वर्षका अन्य सबै महिनाभन्दा छिटो तातिँदै गएको छ र अध्ययन गरिएको क्षेत्रमा अहिलेको तापलहर ‘अहिलेसम्मकै सबैभन्दा भीषण’ हो ।
जलवायु परिवर्तनका कारण विश्वभर तापक्रम बढिरहेको छ, तर युरोपमा यसको प्रभाव अझ तीव्र देखिएको छ । कोपर्निकस जलवायु सेवाका अनुसार युरोप विश्वको सबैभन्दा छिटो तात्ने महादेश हो र यहाँको ताप वृद्धि विश्व औसतको तुलनामा दोब्बर गतिमा भइरहेको छ ।

अत्यधिक गर्मीका कारण शुक्रबार बिहान कोलोनबाट पेरिस जाँदै गरेको युरोस्टार रेल ब्रसेल्सको पूर्वी क्षेत्रमा बिग्रिएको थियो । करिब ४०० यात्रु सवार रहेको रेलमा तीन यात्रुलाई सावधानीका रूपमा अस्पतालमा उपचार गर्नुपरेको बेल्जियमको बेल्गा समाचार संस्थाले जनाएको छ ।
स्वास्थ्य जोखिम बढेपछि पेरिसमा यस सप्ताहान्त आयोजना हुने दुई ठुला कार्यक्रम रद्द गरिएका छन् । स्थानीय प्रशासनले अस्पताल प्रणाली ‘अत्यधिक चापमा’ रहेको र उपलब्ध स्रोतहरू ‘सबैभन्दा जोखिममा रहेका व्यक्तिहरूको सहायता’ मा केन्द्रित गर्नुपर्ने जनाएको छ ।
शनिबार हुने तय भएको पेरिस प्राइडका आयोजकहरूले र्यालीलाई सेप्टेम्बरमा सार्ने सम्भावना रहेको बताएका छन् । लङसाम्प रेसकोर्समा शुक्रबारदेखि आइतबारसम्म सञ्चालन हुने तय भएको सोलिडेज सङ्गीत महोत्सव पनि प्रभावित भएको छ । गत वर्ष उक्त महोत्सवमा दुई लाख ५० हजारभन्दा बढी दर्शक सहभागी भएका थिए ।
रद्द हुने जोखिममा रहेको अर्को कार्यक्रम डायमन्ड लिग एथलेटिक्स प्रतियोगिता भने आइतबार हुनेछ । आयोजकहरूले खेलको सुरुआत दिउँसो अबेला सार्दै प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको हो ।
नेदरल्यान्ड्सको डिफ्कोन.१ सङ्गीत महोत्सवका लागि हजारौँ मानिस बिहीबार रातिसम्म पुगिसकेका थिए । तर अधिकारीहरूले अत्यधिक गर्मीका कारण इतिहासमै पहिलो पटक ‘रेड कोड’ को चेतावनी जारी गरेपछि आयोजकहरूले महोत्सव रद्द गरेका थिए ।
कार्यक्रम रद्द गर्ने निर्णयप्रति सहभागीहरूले आक्रोश व्यक्त गर्दै हुलदङ्गा गरेपछि सूचना आएसँगै प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।
जर्मनीमा पनि शनिबार हुने ह्याम्बर्ग हाफ म्याराथनसहित धेरै सार्वजनिक कार्यक्रमहरू रद्द गरिएका छन् ।
पेरिसमा अत्यधिक तापक्रमका कारण मानिस मात्र होइन, घरपालुवा जनावरहरूको स्वास्थ्यमा पनि समस्या देखिएको छ ।
फ्रान्सकी स्वास्थ्यमन्त्रीले अत्यधिक गर्मीका कारण थप मृत्यु हुने चेतावनी दिँदै पेरिस क्षेत्रका सबै अस्पतालमा स्वास्थ्य सेवा माथिको ‘बहुआयामिक दबाब’ का कारण आपत्कालीन योजना लागू गरिएको जानकारी दिएकी छन् ।
मार्सेमा १८ महिनाको एक बालकको कारभित्र अत्यधिक शारीरिक तापक्रम भएको अवस्थामा फेला परेपछि मृत्यु भएको छ । पछिल्ला केही दिनमा फ्रान्समा यस्ता घटना लगातार भएका छन् । बुधबार पेरिसमा तीन वर्षका एक बालक कारभित्र थुनिएका थिए भने सोमबार दक्षिणी सहर कार्पन्त्रासमा कारभित्र रहेका दुई साना बालबालिकाको मृत्यु भएको थियो ।
तापलहर सुरु भएयता फ्रान्समा डुबेर मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । तीमध्ये करिब दुई तिहाइ मानिस निगरानीविहीन स्थानमा पौडी खेलिरहेका थिए ।
स्पेनको तापक्रमसम्बन्धी मृत्यु अनुगमन प्रणाली मोमोका अनुसार आइतबारदेखि बिहीबारसम्म गर्मीसँग सम्बन्धित हुन सक्ने ३२७ जनाको मृत्यु भएको छ । तीमध्ये अधिकांश मृत्यु पछिल्ला दुई दिनमा भएका छन् ।
स्पेनमा तापक्रम केही घट्न थाले पनि बार्सिलोनाको उत्तरपूर्वमा लागेको डढेलोका कारण शुक्रबार बिहान १६ हजार मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको थियो । आगजनीको आशङ्कामा एक जनालाई पक्राउ गरिएको छ ।
यस सप्ताहान्त युरोपका अधिकांश क्षेत्रमा उल्लेखनीय राहतको सम्भावना छैन । स्विट्जरल्यान्डका हिमनदी अनुसन्धानकर्ताहरूले पर्वतीय क्षेत्रमा पनि ताप लहरको गम्भीर प्रभाव परेको चेतावनी दिएका छन् ।
जुरिखस्थित अनुसन्धान टोलीका अनुसार हिमनदीहरूमा जाडो याममा सञ्चित भएको लगभग सबै हिउँ सोमबारसम्म सकिने अवस्थामा पुगेको छ । त्यसपछि हिमनदीहरू तीव्र रूपमा पग्लिन सुरु हुनेछन् ।
सामान्यतया यस्तो अवस्था अगस्ट महिनामा आउने गर्छ । तर स्विस अनुसन्धानकर्ताहरूका अनुसार यस वर्ष हिमनदी पग्लिने गति सन् २०२२ पछिकै सबैभन्दा खराब अवस्थामा पुगेको छ । सन् २०२२ मा हिमनदीहरूको कुल भारको करिब ६ प्रतिशत भाग नष्ट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले तथ्य र भ्रम दुवै फैलाउन सक्छ, युवामा आलोचनात्मक चेत आवश्यक : राजदूत मेउली
-
शिव परियारको ‘यो मन अल्लारे’
-
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
-
चिकित्सा शिक्षाको गुणस्तर सुधार्ने आयोगको नीति
-
ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रमको घोषणा, देशभरका उद्यमीबाट आवेदन खुला
-
मल खरिदमा चलखेल : भारतभन्दा झन्डै दोब्बर मूल्य तिर्दै सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण