सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि फेला परेपछि बजार अनुगमन तीव्र
सारांश
- सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बजारमा फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ।
- अनुगमनका क्रममा बनेपास्थित एक औषधि पसलबाट २१ थान नक्कली औषधि बरामद भएको छ भने १५ भन्दा बढी फार्मेसीलाई कारबाहीका लागि निर्देशन दिइएको छ।
- सेवाग्राहीले गुणस्तरीय र सुरक्षित औषधि प्राप्त गर्न सहज हुने तथा अवैध औषधि कारोबार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौँ । सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बजारमा फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा बिदाको दिनसमेत निरन्तर अनुगमन सञ्चालन गरिएको हो।
औषधि व्यवस्था विभागका अनुसार विभिन्न औषधि पसलमा गरिएको अनुगमनका क्रममा महाराजगन्ज क्षेत्रमा १५ वटा, वीर अस्पताल तथा चाबहिल आसपास १८ वटा, पाटन तथा जावलाखेल क्षेत्रमा ११ वटा, बसपार्क बालाजु क्षेत्रमा १४ वटा र बनेपामा ८ वटा गरी जम्मा ६६ वटा फार्मेसीको निरीक्षण गरिएको छ।
अनुगमनका क्रममा बनेपास्थित एक औषधि पसलबाट सेरोफ्लो रोटाक्याप्स २५० नामक २१ थान नक्कली औषधि बरामद भएको औषधि व्यवस्था विभागले जनाएको छ। उक्त पसललाई तत्कालका लागि बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
त्यसैगरी, अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्री गरिरहेका, फार्मासिस्टबिनै औषधि बिक्री वितरण गरिरहेका तथा सरसफाइ र मापदण्ड पालना नगरेका १५ भन्दा बढी फार्मेसीलाई कारबाहीका लागि औषधि व्यवस्था विभाग, बिजुलीबजार, काठमाडौँमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागका अनुसार बजार अनुगमन आगामी केही दिनसम्म निरन्तर सञ्चालन हुनेछ। यसबाट सेवाग्राहीले गुणस्तरीय र सुरक्षित औषधि प्राप्त गर्न सहज हुने तथा अवैध औषधि कारोबार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विभागले उक्त नक्कली औषधिको भण्डारण, आपूर्ति तथा अनधिकृत बिक्री वितरणमा संलग्न व्यक्ति, संस्था र उत्पादकको पहिचान गरी कानुनबमोजिम कारबाही गर्ने प्रक्रिया समेत अघि बढाएको जनाएको छ।
साथै, सर्वसाधारणलाई औषधि खरिद गर्दा आधिकारिक तथा दर्ता भएका फार्मेसीबाट मात्र खरिद गर्न र कुनै शङ्का लागेमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
-
कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ
-
भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण मिति तय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण