सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

सोमबार, १५ असार २०८३, १० : ४५
सोमबार, १५ असार २०८३

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन र माछापालनलाई आम्दानीको भरपर्दो स्रोत बनाएका छन् । सिद्धनाथ माध्यमिक विद्यालय बेलडाँडीमा लेखापालका रूपमा कार्यरत चौधरीले जागिरसँगै व्यावसायिक पशुपालन र मत्स्यपालन गर्दै वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

पाँच वर्षअघि करिब १० लाख रुपैयाँ लगानी गरी बंगुरपालन सुरु गरेका चौधरीले यस वर्ष मात्रै ६० वटा बंगुरका पाठापाठी बिक्री गरेका छन् । प्रति पाठापाठी पाँच हजार रुपैयाँका दरले बिक्री हुँदा करिब रु तीन लाख आम्दानी भएको उनले बताए ।

“यस वर्ष ६० वटा पाठापाठी बिक्री गरेका छौँ,” उनले भने, “तीन वटा माउ बंगुर पनि रु एक लाखभन्दा बढीमा बिक्री भएका छन् ।”

हाल उनको फार्ममा १५ वटा माउ बंगुर र १९ वटा पाठापाठी रहेका छन् । बंगुरपालनका लागि चारो र स्वास्थ्योपचारमा वार्षिक करिब दुई लाख रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए ।

बंगुरपालनसँगै चौधरीले फार्मसँगै माछापोखरी निर्माण गरी माछापालनलाई पनि निरन्तरता दिएका छन् । बंगुरको मलमूत्र सिधै पोखरीमा जाने व्यवस्था मिलाएकाले माछाको प्राकृतिक आहाराको व्यवस्थापन हुने गरेको उनले बताए ।

माछापालनबाट पनि वार्षिक करिब रु दुई लाख आम्दानी हुने गरेको उनको भनाइ छ । उत्पादन भएको माछा स्थानीय बजारमै बिक्री हुने गरेको छ भने बंगुर कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा मागअनुसार नगदमा बिक्री गर्ने गरिएको उनले बताए ।

विद्यालयको काममा व्यस्त रहने दिउँसोको समयमा श्रीमतीले फार्मको व्यवस्थापन सम्हाल्ने र बिहान–साँझ आफैँले चारो हाल्ने तथा अन्य आवश्यक काम गर्ने गरेको चौधरीले बताए ।

“विद्यालयबाट पाउने तलबले मात्रै परिवारको खर्च धान्न सकिँदैन,” उनले भने, “त्यसैले विकल्पका रूपमा बंगुर र माछापालन सुरु गरेको हुँ, अहिले यही व्यवसायले राम्रो साथ दिएको छ ।”

बंगुर बिक्रीबाट भएको आम्दानी बचत गरेर गाउँमै पक्की घर निर्माण गरेको उनले बताए । बालबालिकाको शिक्षा, घरायसी खर्च तथा आकस्मिक आवश्यकतामा पनि बंगुर र माछापालनबाट आएको आम्दानीले ठूलो सहयोग पुगेको उनको अनुभव छ ।

ग्रामीण क्षेत्रमा सीमित तलबमा निर्भर नहुँदै वैकल्पिक व्यवसाय अपनाए राम्रो आम्दानी लिन सकिने उदाहरणका रूपमा चौधरीको बंगुर र माछापालन व्यवसाय स्थापित हुँदै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप