बौराको मेलो, असार पन्ध्र र स्याखु
सारांश
- असार महिनाको सुरुवातमै भारी वर्षाका कारण हिले खोला उर्लिएर तार्दी खोलामा मिसिँदा खोलाको सुसाहट बढेको छ।
- किसानहरूले चैते धान भित्र्याउने र बेँसीका खेतहरूमा वर्षे धान रोप्ने चटारोका साथै असार १५ को कृषि उत्सव मनाइरहेका छन्।
- डम्बरे काकाको बौरा खेतमा गोरुले जोत्ने काममा सघाउँदै गर्दा असारे गीत गाउने, माछा मार्ने र दुई पटक खाजा खाने परम्पराको स्मरण गरिएको छ।
असारको महिना सुरु भयो । आकाशमा बादलको लुकुमारी चल्दै छ । हिले खोलाको शिर राइनासको कुवापानी, कुँडुल र सिमघारीतिर अन्धाधुन्ध पानी प¥यो । हिले खोला उर्लेर आयो । यो खोला तार्दी खोलामा मिसियो । त्यसैले तार्दी खोलाको सुसाहट बढेको छ । मानौँ कुनै पूर्ण वयस्क युवती आफ्नो रूप र यौवनको मातमा सुसाइरहेकी छे ।
तार्दी खोलाको त्यही चिसो पानीले खेत सिञ्चित हुन्छ । किसानले हिउँदभरि दुःख गरेर धान हुर्काएका छन् । लाकुरे, खोलाखेत, देवीथान, बौरा र गैह्रीका फाँटहरूमा यतिबेला चैते धान पहेँलै भएका छन् । धानका बालाहरू झुलेका छन् ।
चैते धान भित्र्याउने हतारो भएको छ । गाउँका खेतहरूमा मकै छिप्पिन थालेका छन् । पाखे खेतहरूमा रोपाइँ अलि ढिलो हुन्छ । भर्खरै मूल फुट्दै छन् । जरिन समय लाग्छ । बेसीका बाँझा खेतहरूमा वर्षे धान रोप्ने चटारो छ ।
यस वर्ष पानी कम परेकाले असारको ७ गते मात्रै हिलो पसेको । एक हप्ता बितेछ । आज त झन् असारको पन्ध्र । यो मेलापात गर्ने र कृषि कर्ममा अहोरात्र खटिने तमाम किसानहरूको दिन हो । यो वर्षकै सबैभन्दा ठूलो उत्सवको दिन हो !
गाउँमा पर्म र निमेकमा खेतला जाने परम्परा छ । आजको मेलो अलि टाढा छ । डम्बरे काकाको बौरा खेतको सिरानमा । चैते दसैँमा मेला लाग्ने देवीथानको मन्दिर यसकै नजिक छ । यस मन्दिरको आफ्नै इतिहास र किम्बदन्ती छ ।
बौरा खेतको कुलोको मुहान पनि मन्दिर तल छ । तार्दी खोलामा रह बारेर पानी ल्याइएको छ । पुर्खाहरूले पहरामा ढुङ्गा काटेर कुलो बनाएका थिए । यस कुलोलाई भेल बाढीले केही गर्न सक्दैन । कुलोमाथिको पहरामा एउटा ढुङ्गा छ । त्यहाँ अधिकारीहरूको पुर्खाको शिलालेख छ । अहिले लेउ लागेर पढ्न अलि गाह्रो छ ।
डम्बरे काका गाउँका शिक्षक । समाजसेवी पनि । माटोसँग उहाँको साइनो अटुट छ । उहाँ सधैँ घरमा हल गोरु पाल्नुहुन्थ्यो । उहाँका लामा–लामा सिङ भएका चिल्ला गोरु थिए । एउटा रातो र अर्को कालो थियो । पाका गोरु भए पनि हिलोमा जोत्न थालेपछि तिनीहरूको अगाडि कोही टिक्दैनथ्यो । तिनीहरू अत्यन्तै छिटो जोत्थे । साउँदा आँठो काट्ने गर्थे ।
मेलामा निस्कने बेलामा सिमसिमे पानी परिरहेको थियो । पानी ओतका लागि प्रायः स्याखु र प्लास्टिक प्रयोग गरिन्थ्यो । मेरा बा चोयाको काम गर्न सिपालु हुनुहुन्थ्यो । उहाँले निगालोको चोयाले स्याखु बुन्नुभएको थियो । साजबोट देवे दाइको घर नजिकबाट ल्याएको भोर्लाको पातले त्यसलाई छापेको थियो ।
जत्रो पानी परेपछि त्यसले ओत्थ्यो । न्यानो पनि । कोदालेलाई अलि असिजलो भएपनि रोपारेलाई सजिलो र न्यानो पनि हुने ।
मैले त्यही स्याखु ओढेँ । काँधमा एक धार्नी फलाम पगालेर बनाएको गह्रौँ कोदाली भिरेँ । अनि म ओराली झरेँ । गाउँको गोरेटोमा मेला जानेहरूको ताँती लागिसकेको थियो । सबैका काँधमा कोदाली र हलो–जुवा थिए । प्रायः सबैको मेलो खोलाखेततिर थियो । एकैछिन आइडाँडाको चौतारीमा बस्यौँ । शीतल हावा खाँदै सुस्ताएपछि हामी फेरि ओरालो झर्यौँ ।
डम्बरे काकाको घर विहीखर्क हो । यो हाम्रो घरभन्दा अलि तल छ । विहीखर्क अत्यन्तै सुन्दर ठाउँ । त्यहाँ पानी र मलिलो माटो छ । त्यो राम्रो उब्जाउ हुने जमिन हो । त्यहाँका घरहरू ढुङ्गाले छाएका छन् । ती अत्यन्तै आकर्षक देखिन्छन् । सबैको घरमा मेवा, सुन्तला र कागती बगैँचा ।
खेमचन्द्र काकाको त सुन्तलाको व्यावसायिक खेती नै थियो । भीरकुनामा बाख्रा चराउन जाँदा हामी विहीखर्क पुग्थ्यौँ । त्यहाँ हामी मेवा, सुन्तला र निबुवा मागेर खान्थ्यौँ ।
बौरा खोल्साबाट कुलो बनाएर पानी ल्याइएको थियो । त्यो पानीले गराका सबै आँठो भिजिसकेका थिए । पुच्छर गराको कान्लामा हलो अड्याएको छ । हलोलाई पानीले नभिज्ने गरी हलिसको टुप्पोले अड्याइएको छ ।
दाँदे भने उपल्लो गरामा छ । जुवाको काठ क्यामुनोको थियो । कटुसका हाँगाका सोइला थिए । भैँसीको छालाबाट बनेको हडम्लोलाई तेरीको तेल हालेर नरम बनाइएको थियो । डम्बरे काकाले जुवा हातमा लिनुभयो । उहाँले राते र काले गोरु नार्नुभयो ।
जेठमा बाँझो जोतेर आलीकुना खनेर राखिएको हुनाले माटो पाकेको थियो । पानी लगाउँदा माटो खुकुलो भयो । त्यसैले जोत्न र साउन सजिलो भयो । आफ्नो मेलो भएकाले गोरु जोत्ने काम डम्बरे काका आफैँ गर्नुहुन्थ्यो । एक हल गोरुको पछि बाउसे गर्नेमा म एक्लै थिएँ । रोपारे तीन जना थिए ।
मैले कमरमा पटुकी बाँधेँ । हातको कोदाली घुमाउँदै आली निकै छिटो लगाउँथेँ । आलीकुना र बाउसेसमेत गर्दा काममा नलिधपेडी नै हुन्थ्यो । भर्खरैको युवा जोस र जोसिल्लोपन थियो म मा ।
तार्दी खोलाको पारिपट्टि खेत थियो । त्यहाँ पनि सुगराबासका थापा दाजुको मेलो थियो । तार्दी खोला सुसाएकाले वारिपारि बोलेको सजिलै सुन्न सकिन्थ्यो । तैपनि गोरुलाई ‘हँ हँ’ गरेर धपाएको आवाज आउँथ्यो ।
असार किसानको मञ्च हो । यहाँ सबै दिन रोपाइँ गरिन्छ । १५ गतेको मेलो भने विशेष हुन्छ । सबैजना उत्साहित हुन्छन् । बाउसे, रोपाहार अनि हली गोरुसमेत फुरुङ्ग हुन्थे । हिलोमा खेल्ने, गीत गारउने, नाच्ने, गोरु कुदाउने प्रतिस्पर्धा चल्यो वारिपारिका मेलामा ।
डम्बरे काकाको घरमा मालुवा केरा रहेछ । एक हप्ता अघि केरा काटेर पकाउन हालेको थियो । आज ठिक्क खान मिल्ने भएछ । लैनो भैँसीको दही थियो । मोही नमोथीकन राखिएको रहेछ । काकीले पकाउनु भएको सेलरोटी पनि तयारी अवस्थामा थियो ।
हिल्याएर ठिक्क पारेको गरा थियो । त्यहाँ बिस्तारै दाँदेले हिलो माड्दै गयो। सम्याउने बेलामा गोरु कुदाउँदा हिलो चाँडै फाटने । पानी तालिने भएकाले रोपे राम्रे हुने भएकाले विशेषा ध्यान दिने गरिन्छ । बाउसे गरेपछि समा काट्यो । रोपारेले व्याडबाट बीउ काड्दै रोप्न व्यस्त ।
असार पन्ध्रमा खाजा पनि दुई पटक खाने प्रचलन । पहिलो झमेट खाजा खाने बेला भयो । गोरुलाई ओभानो ठाउँमा राखियो । जुवा मात्र काँधमा थियो । बौराको खरबारीमा बन्सो घाँस र ढड्डी थियो । एक मुठा घाँस काटेर गोरुलाई हालिदिएँ ।
हात खुट्टाका हिलो जती पाखेल पनि एकिछन न हो पखालिने । भनिन्थ्यो असारके हिलो चैतमा मात्रै निखारिन्छ । गराको आलीमा बसेर पहिले दही, चिउरा, केरा र रोटी खायौँ ।
रातिभरि पानी परेको थियो । तार्दी खोलाका माछाहरू खेतका गराको छिरेर पानीमा यत्रतत्र छरिएका थिए । हामीसँग ढडिया थिएन । त्यसैले बीउ बोक्न प्रयोग गरिने थुन्से काममा ल्यायौँ । थुन्सेलाई गराको समामा झर्ने पानीको छाँगोमा थापियो । यो माछा समात्ने हाम्रो आफ्नै तरिका थियो ।
दिउँसोको घाम चर्को लागेको थियो । त्यसैले तार्दी खोलामा केहीछिन पौडी खेलियो । खोलाको ढुङ्गामा दाउरा बाल्यौँ । अघि समातेका माछालाई गुन्द्रुकसँग मिसाएर पकायौँ । यो दोस्रो खाजाका लागि तिहुँन थियो ।
फेरि सबै काममा व्यस्त । छिनछिनमा रमाइलो पनि । असारे गीतको केही श्लोक अहिले पनि याद छ
असारै खाउला दुधिलो मकै, साउने खाउला खीर
घरमा छैन शितलु बचन, मनमा छैन थीर
दोस्रो झमटको खाजा खाने बेला भयो । यसपालि खाजामा भात, तरकारी र माछासहितको गुन्द्रुक थियो । पन्ध्र असारको मेलो यसरी रमाइलो र उत्साहका साथ सकियो ।
कृषिमा आधुनिकीकरणको नाममा ट्र्याक्टर प्रयोग हुन थाले । गोरु र हलोले जोतेको जस्तो राम्रो त नहुने । साना सुर्का पनि सजिलै गोरुले जोत्न मिल्ने भएकाले हाम्रो पुर्खाको परम्परालाई केही परिष्कृत गर्दा उत्तम हुने थियो ।
हल गोरु पाल्नाले खेत पनि जोतिने । मल पनि हुने । उब्जनी पनि राम्रो हुने । विषादी र रासायनिक मल नचाहिने ।
अहिले धेरै खेत बाँझा छन् । पर्खिएका छन् हामीलाई ती पाखोबारी र खेतले ।
गाउँमा बसाइँ सर्ने क्रम बढ्न थाल्यो । हामी अध्ययन र रोजगारीका लागि गाउँबाट हिँड्यौँ । अझै पनि असार र मङ्सिरमा त खेतीपातीको काम गरिन्छ । डम्बरे काकाको मेलो र असार पन्ध्रको स्मृति अझै ताजा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइएम जीतबहादुर’ को पहिलो साताको आम्दानी ३१ लाख
-
असार १५ मा महासचिव पोखरेलेको सन्देश– किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ
-
सुटिङका क्रममा कंगनाले वीर दासको ओठ टोकेर रक्ताम्मे बनाएको दाबी
-
करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ
-
फिल्म ‘जलाकी’ मङ्सिर ४ बाट प्रदर्शनमा आउने
-
देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण