सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

खाद्य सुरक्षा र किसानको हितका लागि जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्छ: गगन थापा

सोमबार, १५ असार २०८३, ११ : २९
सोमबार, १५ असार २०८३

सारांश

  • कांग्रेस सभापति गगन थापाले राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै खाद्य सुरक्षा र आत्मनिर्भर अर्थतन्त्रका लागि किसानको श्रमलाई सम्मान गर्नुपर्ने बताएका छन् ।
  • थापाले संविधानले प्रत्याभूत गरेको खाद्य अधिकारको मर्म अनुसार धान उत्पादकत्व वृद्धि गर्नु नागरिकको जीवन रक्षाको सुनिश्चितता भएको उल्लेख गरे ।
  • उनले जलवायु सङ्कट र आकाशे पानीमा निर्भर खेतीको चुनौती सामना गर्न जलवायुमैत्री प्रविधि अपनाउनुपर्नेमा जोड दिए ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना व्यक्त गर्दै नेपालको खाद्य सुरक्षा सुनिश्चित गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न किसानको श्रमलाई उच्च सम्मान गरिनुपर्ने बताएका छन् । २१औं राष्ट्रिय धान दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले असार १५ लाई नेपाली किसानको श्रम, सङ्घर्ष र आशाको उत्सवका रूपमा चित्रण गरेका हुन् । 

 थापाले नेपालको संविधानले प्रत्येक नागरिकका लागि 'खाद्य सम्बन्धी हक' लाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको स्मरण गराउँदै देशको मुख्य खाद्यान्न धानको उत्पादकत्व वृद्धि गर्नु नागरिकको जीवन रक्षाको सुनिश्चितता र संविधानको मर्म पालना गर्नु रहेको उल्लेख गरे। यद्यपि, हरेक वर्ष किसानले बीउ, मल, सिँचाइ र उचित मूल्यको अभावमा सङ्घर्ष गरिरहनुपरेको यथार्थप्रति उनले चिन्ता व्यक्त गरे । 

नेपालको धान खेती अझै पनि ठूलो मात्रामा आकाशे पानीमा निर्भर रहनुपरेको र जलवायु सङ्कटले थप चुनौती थपेको बताउँदै थापाले यस वर्षको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ लाई सार्थक तुल्याउनुपर्नेमा जोड दिए । उनले परम्परागत र जोखिमपूर्ण खेती प्रणालीको सीमालाई नाघेर मौसम अनुकूल एवं पर्यावरणमैत्री प्रविधिको प्रवर्द्धन गर्नु आजको प्राथमिक आवश्यकता भएको बताए । 

आफ्नो शुभकामना सन्देशमा उनले भनेका छन्, "प्रविधिमैत्री रूपान्तरणले एकातिर प्रतिकूल मौसमी जोखिमका बीच पनि धानको उत्पादन बढाउन ऊर्जा प्रदान गर्नेछ भने अर्कोतिर वर्षेनी बढ्दो चामल आयातको चक्रलाई तोड्दै राष्ट्रिय स्वाधीनता र खाद्य सम्प्रभुताको मार्ग प्रशस्त गर्नेछ।"

थापाले सिँचाइको विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग, उन्नत बीउ र गुणस्तरीय मलको सहज उपलब्धताका साथै किसानका लागि भण्डारण र उचित मूल्यको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप