पारिवारिक शोक र विश्वकपको मैदान : क्यानडाका नयाँ नायक स्टिफन युस्टाकियो
सारांश
- क्यानाडाका स्टिफन युस्टाकियोले इन्जुरी समयमा गोल गर्दै दक्षिण अफ्रिकालाई पराजित गरे र क्यानाडालाई विश्वकपको अन्तिम १६ मा पुर्याए।
- पोर्चुगाली आमाबुबाबाट जन्मेका युस्टाकियोले बाल्यकालदेखि फुटबल खेल्न थाले र पोर्चुगल तथा मेक्सिकन लिगका क्लबहरूमा खेले।
- युस्टाकियोले आफ्नो आमाबुबाको मृत्युको शोकलाई चिर्दै क्यानाडाका लागि महत्वपूर्ण गोल गरे र टोलीको कप्तानी समेत सम्हाले।
लस एन्जलस । यो दृश्य कुनै चलचित्रको कथाजस्तै रोमाञ्चक थियो। हलिउडको मुटु मानिने लस एन्जलस स्टेडियममा फिफा विश्वकप २०२६ को भव्य माहौलबिच खेल भइरहेको थियो।
इन्जुरी समय सकिनै लाग्दा खेल शून्य-शून्यको बराबरीमा रोकिने निश्चितजस्तै देखिन्थ्यो। ठिक त्यति नै बेला क्यानडाका स्टिफन युस्टाकियोले दक्षिण अफ्रिकाको पेनाल्टी बक्स नजिकै बल नियन्त्रणमा लिए।
उनले डाइभ गरिरहेका गोलकिपर रोनवेन विलियम्सलाई चकित पार्दै बललाई सिधै जाली चुमाए। यस गोलसँगै क्यानडा इतिहासमै पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश गर्यो।
युस्टाकियोको यस निर्णायक गोलले आइतबार भएको प्रतियोगिताको पहिलो नकआउट खेललाई निकै रोमाञ्चक मोडमा टुङ्ग्यायो। यो गोल उनको खेल जीवनकै सबैभन्दा महत्त्वपूर्ण र प्रभावशाली बन्न सक्छ।
यस ऐतिहासिक जितका नायक २९ वर्षीय युस्टाकियोका बारेमा केही रोचक तथ्यहरू यहाँ प्रस्तुत छ ।

- क्यानडादेखि पोर्चुगलसम्मको यात्रा
ओन्टारियोको लिमिङ्टनमा पोर्चुगाली आमाबुबाको कोखबाट जन्मिएका युस्टाकियोका लागि फुटबल जन्मसिद्ध अधिकारजस्तै थियो। उनले चार वर्षकै उमेरदेखि फुटबल खेल्न थालेका थिए। आफ्नो खेल जीवनको दौडान उनी आफ्नो जन्मभूमि क्यानडा र आमाबुबाको देश पोर्चुगल आउजाउ गरिरहे।
उनको परिवार पोर्चुगल बसाइँ सर्नुअघि उनले लिमिङ्टन माइनर सकरबाट आफ्नो बाल्यकालीन फुटबल यात्रा सुरु गरेका थिए। सात वर्षको उमेरमा युस्टाकियो र उनका दाइ माउरोले क्लब स्तरमा खेल्न थाले। पछि सन् २०१७ मा उनले पोर्चुगलको दोस्रो श्रेणीको क्लब लिक्सोएससँग सम्झौता गरे र सन् २०१८ मा जिडी चाभेसमा आबद्ध भए।
एक वर्षपछि उनी मेक्सिकन लिगको क्लब क्रुज अजुलमा गए। त्यसपछि उनी लोनमा पाकोस डे फेरेइरामा आबद्ध भए, जहाँ उनले सन् २०२० को जनवरीमा डेब्यु गरे। सोही वर्षको अगस्टमा उनले युरोपेली खेलमा डेब्यु गर्दै यूईएफए युरोपा कन्फरेन्स लिगमा लार्नविरुद्ध ४-० को जित निकाल्ने क्रममा तेस्रो गोल गरे।
सन् २०२२ को जनवरीमा उनी लोनमा पोर्टोमा आबद्ध भएपछि अन्ततः पोर्चुगलको शीर्ष श्रेणीको लिग प्रिमिएरा लिगामा पुग्न सफल भए। पोर्टोले सोही वर्षको मे महिनामा उनलाई पूर्ण रूपमा आफ्नो क्लबमा अनुबन्ध गर्यो।
उनको पछिल्लो व्यावसायिक यात्रा सन् २०२६ फेब्रुअरीमा सुरु भयो। उनी चार महिनाको लागि लोनमा मेजर लिग सकर (एमएलएस) क्लब लस एन्जलस एफसीमा आबद्ध भएका छन्। यस सम्झौतामा उनलाई स्थायी रूपमा अनुबन्ध गर्न सक्ने विकल्प समेत राखिएको छ।
- आमाबुबाको मृत्युको शोक
सन् २०२३ को अप्रिलमा पोर्टोको घरेलु मैदानमा सान्टा क्लाराविरुद्ध खेल भइरहेका बेला युस्टाकियोकी आमा एस्मेराल्डाको मस्तिष्कको क्यान्सरका कारण मृत्यु भयो। त्यसको एक वर्षपछि उनका बुबाको अचानक हृदयघातका कारण निधन भयो।
यस दुःखद घटनाको केही समयअघि मात्र युस्टाकियो र उनकी प्रेमिका कन्स्टान्टाले छोरी बेनेडिटालाई जन्म दिएका थिए। खेल सकिएपछि लस एन्जलस स्टेडियममा अन्तर्वार्ता दिने क्रममा भावुक बन्दै यी मिडफिल्डरले भने, ‘मैले जे जति गर्छु, त्यो सबै मेरो परिवार, मेरा आमाबुबा, प्रेमिका, छोरी, दाजु र घरमा रहेका पुराना साथीहरूका लागि गर्छु।’
सन् २०२४ सेप्टेम्बरमा स्पोर्ट्स नेट क्यानडासँगको अन्तर्वार्तामा इन्टर टोरन्टो एफसीका मुख्य प्रशिक्षक रहेका माउरो युस्टाकियोले आफ्नो र भाइ स्टिफनको बारेमा चर्चा गरे। उनले आफूहरूले पीडालाई स्वीकार गर्दै आमाबुबाको जीवनको सम्मान गर्ने निर्णय गरेको बताए।
माउरोले भने, ‘हाम्रा आमाबुबाले हामीलाई पखेटा दिनुभयो। अब उड्ने पालो हाम्रो हो।’
उनले थपे, ‘हामी दुवैले आफूलाई असाध्यै मन पर्ने काम गर्न पाएकोमा भाग्यमानी छौँ।’
भूतपूर्व फुटबलरबाट प्रशिक्षक बनेका माउरोले सोही अन्तर्वार्तामा लिमिङ्टनको ठूलो पोर्चुगाली समुदायमा परिवारहरू भेला हुने र आफू तथा स्टिफनजस्ता बालबालिकाहरू मिलेर नियमित रूपमा फुटबल खेल्ने गरेको स्मरण गरे।

- क्यानडाका लागि ६० भन्दा बढी खेल
युस्टाकियोले सन् २०१२ को एजीएस कपमा क्यानडाको प्रतिनिधित्व गर्दै आफ्नो अन्तर्राष्ट्रिय युवा खेल जीवनको सुरुवात गरेका थिए। पछि उनले सन् २०१९ को यूईएफए युरोपियन च्याम्पियनसिप छनोटमा पोर्चुगलको यू-२१ टोलीबाट पनि केही समय युवा फुटबल खेले।
युस्टाकियोले सन् २०१९ को फेब्रुअरीमा क्यानडाको सिनियर टोलीबाट खेल्ने प्रतिबद्धता जनाए। सोही वर्षको अक्टोबरमा उनले कन्काकाफ नेसन्स लिगका लागि पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाए। उनले सन् २०२१ को कोन्काकाफ गोल्ड कपमा पहिलो अन्तर्राष्ट्रिय गोल गरे। उनले सन् २०२२ को कतार विश्वकप, २०२३ को कोन्काकाफ नेसन्स लिग फाइनल र पोर्टोका लागि सन् २०२५ को फिफा क्लब विश्वकप समेत खेलेका छन्।
अल्फन्सो डेभिस घाइते भएर मैदान बाहिर रहेका कारण आइतबारको खेलमा युस्टाकियोले कप्तानीको भूमिका सम्हालेका थिए। खेलपछि उनले भने, ‘यो जित हासिल गर्न हामीले निकै मिहिनेत गरेका छौँ। हामी यो जित सम्पूर्ण क्यानेडियाली नागरिकलाई समर्पित गर्न चाहन्छौँ।’
उनले थपे, ‘हामीले विश्वास गुमाएनौँ र निरन्तर प्रयास गरिरह्यौँ। हामीले योभन्दा सुखद अन्त्यको कल्पना पनि गरेका थिएनौँ।’
क्यानडाका लागि ६१ औँ खेल खेल्दै छैटौँ गोल गरेका युस्टाकियोले आफ्नो गोलबारे भने, ‘यो निकै उत्कृष्ट गोल थियो। मैले प्रहार गर्दा मैदानमा रहेका सबैले मलाई साथ दिएको महसुस गरेँ। सबैको सामूहिक शक्तिले गर्दा बल सिधै जाली भित्र छिर्यो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण