बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

नेपालमा संसदीय प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै विकल्प : वामदेव गौतम

बुधबार, १७ असार २०८३, १४ : ५७
बुधबार, १७ असार २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले नेपालमा संसदीय शासन प्रणाली असफल भइसकेको दाबी गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै उपयुक्त विकल्प भएको बताएका छन् । बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

नेता गौतमले २०१५ सालदेखि हालसम्म देशमा कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको र संसदसमेत पूर्ण कार्यकाल चल्न नसकेको उल्लेख गर्दै संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको तर्क गरे । निर्वाचित सरकारलाई पाँच वर्षसम्म अविच्छिन्न रूपमा काम गर्ने सुनिश्चितता हुनुपर्ने भन्दै बिचमै सरकार परिवर्तन हुने कानुनी व्यवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

उनले कार्यक्रममा भने, ‘संविधान संशोधनको विषयमा मैले एउटा किताब लेखेको छु । त्यसमा मैले नेपालमा असफल भएको प्रधानमन्त्री प्रणाली भन्छु, अहिलेका प्रधानमन्त्री कति सफल हुने हुन् थाहा छैन । तर २०१५ सालदेखि अहिलेसम्म कुनै पनि प्रधानमन्त्री ५ वर्ष प्रधानमन्त्री हुनै सकेन । संसद् पनि पाँच वर्ष चल्नै सकेन । यो हटाउनु पर्दैन ? यसको विकल्प के हुन्छ त भन्दा निर्वाचित हुने बित्तिकै पाँच वर्ष काम गर्ने हुनुपर्‍यो । बिचमा हटाउनुपर्ने व्यवस्था हुनुभएन । त्यसो भएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै उपयुक्त हुन्छ ।’

नेता गौतमले संविधानले महिलालाई दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ प्रतिशत महिला उम्मेदवारलाई विजयी गराएर ल्याएको भन्दै त्यसको प्रशंसा गरे । ‘अहिले पनि महिलालाई दिइएको अधिकार प्रयोग भइरहेको छैन । तर यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ प्रतिशत महिलालाई जिताएर ल्यायो । यो राम्रो भयो,’ उनले भने ।

यसका साथै उनले सरकारले पूर्वसांसदहरूको सम्मान र उनीहरूको अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्नका लागि विकास निर्माण र अनुगमनको जिम्मेवारी दिनुपर्ने सुझाव समेत दिए । उनले भने, ‘सरकारले यदि पूर्व सांसदहरूलाई सम्मान गर्न चाहन्छ भने कुनै न कुनै क्षेत्रमा निरीक्षण गर्न पठाओस् । कुनै ठाउँको विकास निर्माणका कार्यको जिम्मा नै देओस् । यस्तो परम्परा संसारभरी छ, गर्छन् । एक पटक युरोपको एउटा टिम आएको थियो, जर्मनबाट आएका ती साथीहरू मलाई भेट गर्नुभयो र अनुभव साटासाट भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप