बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

एमाले पुनर्गठनबारे ४ थरी मत : प्रतिवेदनमा सहमति जुटाउन सकस

बुधबार, १७ असार २०८३, १६ : ५७
बुधबार, १७ असार २०८३

सारांश

  • एमालेभित्रको असन्तुष्टि व्यवस्थापनका लागि गठित कार्यदलले प्रदेशस्तरीय सुझाव सङ्कलन अन्तिम चरणमा पुर्याएको छ ।
  • सुझाव सङ्कलनका क्रममा पार्टी पुनर्गठनको पक्षमा धेरै मत आए पनि पुनर्गठनको मोडलमा भने चार थरी मत प्रकट भएको छ ।
  • कार्यदलमा पार्टी पुनर्गठन पक्षधर नेताको बहुमत भए पनि संयोजक रामबहादुर थापा 'बादल' भने अहिलेको नेतृत्वको विकल्पमा जान नहुने पक्षमा रहेकाले प्रतिवेदन तयार गर्न सकस पर्ने देखिएको छ ।

काठमाडौँ । एमालेभित्रको असन्तुष्टि र भद्रगोल व्यवस्थापनको निकासका लागि सुझाव दिन गठित कार्यदलले सुझाव सङ्कलनको काम अन्तिम चरणमा पु¥याएको छ । पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले जेठ ३० गते बागमती प्रदेशबाट निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे प्रदेशस्तरीय सुझाव सङ्कलन थालेको थियो ।

कार्यदलले भुगोलका सातै प्रदेशबाट सुझाव लिइसकेको छ । फागुन २१ को निर्वाचन समीक्षा र पार्टी पुनर्गठनलाई मुख्य आधार बनाएर थालिएको सुझाव सङ्कलनमा खासगरी चार थरी मत प्रकट भएको कार्यदलका सदस्यहरूले बताएका छन् ।

आएका सुझावमध्ये पुनर्गठनको पक्षमा धेरै मत भए पनि पुनगर्ठनको मोडलका सन्दर्भमा भने मतभेद देखिएको छ । यद्यपि प्रकट भएका मतबारे सार्वजनिक रूपमा बाहिर बोल्न कार्यदलका सदस्यहरूलाई प्रतिबन्ध लगाइएको छ ।

‘प्रतिवेदन तयार नभई कसैले पनि नबोल्ने सहमति छ,’ कार्यदल सदस्य तथा सचिव भानुभक्त ढकालले भने, ‘असार २२ गते कार्यदलको बैठक बस्छ । त्यसपछि सबै कुरा भनौँला ।’

कार्यदलले जेठ ३० गते बागमती, असार २ गते कोशी, असार ४ गते लुम्बिनी, असार ६ गते सुदूरपश्चिम, असार ८ कर्णाली, असार १३ गते मधेस र असार १६ गते राजधानी प्रदेशबाट सुझाव सङ्कलन गरिसकेको छ । त्यस्तै असार १७ (आज बुधबार) सम्पर्क समन्वय कमिटीबाट सुझाव सङ्कलन गरिएको छ । असार १८ गते बिहीबार जनसंगठन र असार १९ गते शुक्रबार विभाग प्रमुख र पदाधिकारीहरूबाट सुझाव सङ्कलन गर्ने कार्यदलको तयारी छ ।

‘अधिकांश प्रदेशको सुझाव आइसकेको छ । अहिलेसम्मको सुझावलाई विश्लेषण गर्दा चार थरी मत प्रकट भएको देखिन्छ,’ कार्यदलका एक सदस्यले रातोपाटीसँगको अनौपचारिक कुराकानीमा भने, ‘बहुमत मत अहिलेको एमाले केन्द्रीय कमिटीलगायत सबै कमिटी पुनर्गठन हुनुपर्छ भन्ने नै छ ।’

ती नेताका अनुसार दोस्रो थरीको मत तत्काल अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्ने र शंकर पोखरेल वा विष्णु पौडेलमध्ये एकले पार्टी नेतृत्व गर्नुपर्ने पक्षमा छ ।

‘तेस्रो पक्षको मत पार्टी पुनर्गठन गर्दा अहिलेका पदाधिकारीभन्दा बाहिरबाट अर्थात् तेस्रो पुस्ताबाट नेतृत्व ल्याउनुपर्छ भन्ने छ,’ ती नेताले भने, ‘चौथो मत विष्णु पौडेल र शंकर पोखरेल पनि असफल हुन् । उनीहरूलाई किन नेतृत्व सुम्पने भन्ने छ ।’

पोखरेल र पौडेलले ११औँ महाधिवेशनमा ओलीलाई साथ दिएकाले उनीहरू पनि ‘अयोग्य’ ठहरिएको मत चौथो लाइनबाट आएको उनको भनाइ छ ।

‘ओली, पौडेल र पोखरेलमा कुनै फरक छैन । ओलीसँगै उनीहरू पनि असफल भइसकेका हुन्,’ ती नेताले प्राप्त सुझाव सुनाउँदै भने, ‘उनीहरूले पनि एमालेको भविष्य देख्न सकेनन् । विधान संशोधन गर्न गरेर २ वर्षे कार्यकाल र ७० वर्षे उमेरहद हटाउन उनीहरूले नै ओलीलाई सहयोग गरेको दृष्टान्त बिर्सन मिल्दैन ।’

सुझाव सङ्कलनको काममा सम्बन्धित भूगोलमा रहेका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्लाका पदाधिकारीहरू समेत सहभागी हुँदै आएका छन् । थापा नेतृत्वको कार्यदलमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र सातै प्रदेश अध्यक्ष सदस्य छन् । कार्यदलको सदस्यसचिवका रूपमा महासचिव शंकर पोखरेलले काम गरिरहेका छन् । उपाध्यक्ष पौडेल हाल सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरी हिरासतमा छन् । उनलाई सुझाव सङ्कलनकै क्रममा सुर्खेतमा पुगेका बेला प्रहरीले असार ८ गते पक्राउपछि काठमाडौँ ल्याएको थियो ।

सहमतिको प्रतिवेदन लेख्न सकस

कार्यदलका एक सदस्यका अनुसार अनुसार सुझाव सङ्कलनको रिपोर्टका आधारमा कार्यदलले प्रतिवेदन तयार पार्नेछ । असार १९ गतेसम्म सुझाव सङ्कलनको कार्यतालिका रहेकाले त्यसपछि प्रतिवेदनको ड्राफ्ट तयार पारिने छ । उक्त ड्राफ्टसहित २२ गते बस्ने कार्यदल बैठकमा कार्यदल सदस्यहरूको समेत राय सुझाव समेटिनेछ ।

‘असार २२ को कार्यदलको बैठक पहिले नै तय भएको हो । त्यो बैठकपछि प्रतिवेदनको सार के रहन्छ भन्ने अनुमान गर्न सकिन्छ,’ कार्यदलका अर्का सदस्यले भने, ‘मिश्रित सुझाव आएका छन् । २२ गतेको बैठकमा कार्यदलका सदस्यहरूको राय परामर्श पनि पेस हुन्छ । त्यो परामर्शमाथिको छलफल एक दुई दिन लाग्न पनि सक्छ ।’

कार्यदलमा पार्टी पुनर्गठन पक्षधर नेताको बहुमत छ । कार्यदल संयोजक बादल र भानुभक्त ढकालबाहेक अन्य नेता पुनर्गठनको पक्षमा खुलिसकेका छन् । संयोजक बादल अहिलेको केन्द्रीय नेतृत्वको विकल्पमा जान नहुने पक्षमा छन् । बहुमत सदस्य एकातिर र संयोजक अर्कातिर हुँदा कार्यदल सदस्यहरूकै मत बाझिने भएकाले प्रतिवेदन तयार पार्न सकस पर्ने एक नेताले बताए ।

‘पार्टीलाई एकतावद्ध बनाउनुपर्छ भन्ने त सबैको मत छ, तर अहिलेकै नेतृत्वलाई कायम राखेर त्यो सम्भव छैन भन्ने पनि प्रस्टै छ । प्रदेशबाट आएको सुझाव पनि मिश्रित नै भएकाले प्रतिवेदनको निष्कर्षमा के लेख्ने भन्ने जटिलता हुनसक्छ,’ कार्यदलका ती सदस्यले भने, ‘रस्साकस्सी त प्रतिवेदन तयार गर्ने समयमा पो हुने देखिन्छ ।’

ओली पक्षीय नेताहरूले कार्यदलले जे सुझाव दिए पनि निर्णायक नहुने तर्क गरिरहेका छन् । ओली पक्षीय एक नेताका अनुसार प्रतिवेदन सुझावका रूपमा मात्र पार्टीले ग्रहण गर्ने हो । ‘छलफल र सुझावहरू जे आए पनि निर्णायक तहमा कार्यदल हुँदैन, त्यो प्रस्तावमात्र हो,’ ती नेताले भने, ‘तर प्रतिवेदन तयार गर्ने सवालमा पार्टी एकताबद्ध भएर जान्छ कि राय विभाजित हुन्छ भन्ने हो ।’

असार महिनाभित्र कार्यदलले प्रतिवेदन तयार पारेर केन्द्रीय सचिवालयलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । थापा नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाएपछि केन्द्रीय कमिटी बैठक बोलाउने एमाले अध्यक्ष ओलीको तयारी छ ।

१९ सदस्यीय एमाले केन्द्रीय सचिवालयमा ओली पछिल्लो समय अल्पमतमा पुगेका छन् । सचिवालयमा अल्पमतमा परे पनि केन्द्रीय कमिटीमा आफ्नो बहुमत रहने ओलीको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप