बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

विश्वकप उत्सवका क्रममा मेक्सिको सिटीमा ३ जनाको मृत्यु

बुधबार, १७ असार २०८३, १७ : ०१
बुधबार, १७ असार २०८३

सारांश

  • मेक्सिकोले इक्वेडरलाई २-० ले पराजित गरेपछि राजधानी मेक्सिको सिटीमा भएको उत्सवका क्रममा भीडमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा १९ वर्षीया युवती, ४८ वर्षीया महिला र ४४ वर्षीय पुरुष रहेका छन् ।
  • मेक्सिकोले १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित हासिल गरेपछि १० लाखभन्दा बढी मानिस सडकमा उत्रिएका थिए ।

मेक्सिको सिटी । फिफा विश्वकपको नकआउट चरणमा मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गरेपछि राजधानी मेक्सिको सिटीमा भएको विशाल उत्सवका क्रममा भीडमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीया एक युवती, ४८ वर्षीया महिला र ४४ वर्षीय पुरुष रहेका छन् । 

सहरको स्वास्थ्य प्राधिकरणले बुधबार उनीहरूको मृत्यु भीडका कारण निसास्सिएर भएको पुष्टि गरेको हो ।

मेक्सिकोले सन १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित हासिल गरेपछि उत्सव मनाउन १० लाखभन्दा बढी मानिस सडकमा उत्रिएका थिए । अधिकांश भीड सहरको केन्द्रमा रहेको एन्जेल अफ इन्डिपेन्डेन्स स्मारक वरिपरि जम्मा भएको स्थानीय सरकारले जनाएको छ । सहर सरकार प्रमुख क्लारा ब्रुगाडा मोलिनाले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

स्वास्थ्य प्राधिकरणका अनुसार घाइतेहरूलाई घटनास्थलमै प्राथमिक उपचार र सीपीआर दिएपछि थप उपचारका लागि अस्पताल लगिएको थियो । तर पछि तीनै जनाको मृत्यु भएको पुष्टि गरिएको हो । अधिकारीहरूले मृतकहरूको पहिचान परिवारमार्फत पुष्टि भएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप