सुनसरीमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ, पुराना आपराधिक रेकर्डसमेत खुल्यो
सारांश
- सुनसरीमा प्रहरीले पेस्तोल, म्याग्जिन र ३ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा मोरङका ५१ वर्षीय नुर महमद र ३२ वर्षीय इमरान खान भन्ने मो.अहमदद छन्।
- उनीहरूको पुराना आपराधिक रेकर्डसमेत प्रहरी अनुसन्धानका क्रममा खुलेको छ।
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले पेस्तोल, म्याग्जिन र ३ राउण्ड गोलीसहित दुई जना मानिसहरूलाई पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सुनसरी जिल्लाको गढी गाउँपालिका वडा नं.०१ मधेली झण्डा चोकस्थित सडकमा पैदल हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट हतियार फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं.१७ रानी बस्ती बस्ने ५१ वर्षका नुर महमद र सोही महानगरपालिकाको वडा नं. ०८ अशोक चोक बस्ने ३२ वर्षका इमरान खान भन्ने मो.अहमदद रहेका छन्।
प्रहरीले उनीहरूको खानतलासी गर्दा साथबाट चाइनिज पेस्तोल जस्तो देखिने १ थान पेस्तोल, सो पेस्तोलमा लाग्ने १ थान म्याग्जिन र ३ राउण्ड गोली बरामद गरेको छ। हतियारसहित समातिएका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहवीमा ल्याई आवश्यक कार्य अगाडि बढाइएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूको पुराना आपराधिक पृष्ठभूमि समेत खुलिसकेको छ। जसअनुसार नुर महमदको हकमा मिति २०६४ साल कार्तिक ०८ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट हातहतियार तथा खरखजाना र जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भई १२ वर्ष कैद सजाय भुक्तान गरेर छुटेको पाइएको छ।
त्यसैगरी इमरान खान भन्ने मो। अहमददको हकमा मिति २०७५ साल पुस १९ गते जिल्ला प्रहरी कार्यालय मोरङबाटै चोरी मुद्दा चलेको रेकर्ड फेला परेको प्रहरी विज्ञप्तिमा उल्लेख छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण