बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

५१ हजार तिर्न नसक्दा वीर अस्पतालमै बिरामी ‘बन्धक’

शनिबार, ११ असोज २०७६, १५ : ०४
शनिबार, ११ असोज २०७६

स्थानः वीर अस्पताल ।

बेड नम्बरः १३२

मितिः शुक्रबार दिउँसो २ बजे ।

निमोनियका बिरामी सिन्धुपाल्चोकका ५२ वर्षीय दिलबहादुर सिलवाल वीर अस्पतालको बेड नम्बर १३२ बाट घरी यता र  घरी उता चिह्याउँदै थिए ।  कोही आफन्त आउने पर्खाइमा उनले यसरी आँखा नचाइरहेको सहजै अनुमान लगाउन सकिन्थ्यो । बेड नम्बर १३२ को उनको रेकड फाइल अन्य बिरामीको रेकड फाइलसँगै नराखेर अस्पतालका कर्मचारीले बाहिर टेबलमै राखिछाडेका थिए ।

निमोनियाको उपचार सम्पन्न भइसकेपनि उनको डिस्चार्ज भने हुन सकेको छैन । ५ सातायता वीर अस्पतालमा उपचाररत दिलबहादुरका आफन्तले जम्मा ५१ हजार रुपैयाँको बिल तिर्न नसक्दा डिस्चार्ज हुन नसकेको हो ।

*****

छोरा रविनले सुरुमा बुबालाई निमोनिया देखिएको र त्यो बिग्रिएर शरीरभर फैलिई मिर्गौलामा समेत असर देखिएको बताए । उपचारको क्रममा बुबालाई आईसीयू र भेन्टिलेटरमा लामो समय राख्दा धेरै खर्च भएको भन्दै उनले सोबीचमा ऋणधन गरेर जुटाएर साढे ४ लाख ५० हजार खर्च भएको बताए । भएको रकम सबै सकिएको र अहिले बाँकी रकम तिर्न नसक्दा दुई दिनदेखि डिस्चार्ज हुन नसकेको बताए ।

*****

उनको अवस्थाबारे जानकारी पाएर रातोपाटीकर्मी शुक्रबार दिलबहादुर उपचाररत वीरअस्पतालको बेड नम्बर १३२ पुग्दा दिलबहादुर एक्लै बेडमा सुस्ताइरहेका थिए । परिवारका अनुसार उपचारको क्रममा ऋण धन गरेर जम्मा गरेको ४ लाख ५० हजार खर्च भइसक्यो । अहिले आएर अस्पताललाई तिर्नुपर्ने थप ५१ हजार तिर्ननसक्दा डिस्चार्ज नभइ बस्न बाध्य भएका थिए उनी।

रातोपाटीकर्मी पुगेको धेरैबेरपछि अस्पताल पुगे दिलबहादुरकी श्रीमती र  छोरा रविन । उनीहरु पनि उपचार गरेको बाँकी रकम तिर्न नसक्दा चिन्तित देखिन्थे ।

छोरा रविनले सुरुमा बुबालाई निमोनिया देखिएको र त्यो बिग्रिएर शरीरभर फैलिई मिर्गौलामा समेत असर देखिएको बताए । उपचारको क्रममा बुबालाई आईसीयू र भेन्टिलेटरमा लामो समय राख्दा धेरै खर्च भएको भन्दै उनले सोबीचमा ऋणधन गरेर जुटाएर साढे ४ लाख खर्च भएको बताए । भएको रकम सबै सकिएको र अहिले बाँकी रकम तिर्न नसक्दा दुई दिनदेखि डिस्चार्ज हुन नसकेको बताए । अस्पताललाई रकम मिनाह गरिदिन निवेदन दिएपनि सुनुवाई नहुँदा थप तनाव भोग्न बाध्य भएको उनले रातोपाटीलाई सुनाए ।

राजधानीका सरकारी अस्पतालमा उपचार गराउन प्रायःजसो आर्थिक अवस्था न्यून भएका विकट दुरदराजका बिरामी आउने आउँछन्। सरकारी अस्पतालहरुले पहुँचको आधारका बिरामीहरुलाई छुट दिँदै आए पनि आर्थिक अवस्था कमजोर भएर उपचारको क्रममा समस्या भोगेका बिरामीहरुलाई वास्ता नगरेको बिरामीका आफन्तहरुको गुनासो बेलाबेलामा सुन्न पाइन्छ । यस्तै अवस्था दिलबहादुर पनि भोग्दैछन् ।

‘बुवालाई उपचारको क्रममा ऋण धन गरेर ४ लाख ५० हजार खर्च त जुटायौँ, ५१ हजार रुपैाँया अस्पतालबाट छुट गरि पाउँ भनेर सामाजिक सेवा इकाईबाट चिठी लेखेर निर्देशक केदारप्रसाद सेन्चुरीलाई बुझायौं, त्यसपछि उहाँले ५१ हजार छुट दिने अधिकार छैन भनेर उपकूलपति (भीसी) देवनारायण साहकहाँ पठाउनु भयो । तर भिसीले १० हजार मात्रै छुट गर्न निर्देशन दिनुभयो,’ उनले भने, ‘फेरि निर्देशक सेन्चुरीले १० छुट त म पनि दिन्थेँ नि त्यो भन्दा बढि छुट दिन मिल्ने अधिकार नभएर भिसी साबकोमा पठाएको हो मैले भन्नु भयो ।’

अस्पतालका एक कर्मचारीका अनुसार, रविनले बुवाको उपचारमा खर्चमा छुट गरिदिन बारम्बार सम्बन्धित पक्षमा गए पनि खासै वास्ता गरेका छैन। ‘आर्थिक अवस्था राम्रो भएकाहरुले भन्सुनको आधारमा पनि छुट पाउछन् तर साँच्चिकै अवस्था कमजोर भएकाहरुले छुट पाउन गाह्रो हुन्छ’ उनले भने ।

*****

गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च छुट दिन आग्रह गरी पत्र पठाएको र उनीहरुको अवस्था देखेर आफूले अहिले फेरि उपचार खर्च कटौती गरिदिन पत्रमार्फत भीसीलाई आग्रह गरेको निर्देशक केदारप्रसाद सेन्चुरीले बताए ।

*****

आर्थिक अवस्था कमजोर हुँदा उपचार खर्च जुटाउन नसकेर अस्पतालका भिसी र डाइरेक्टर सेन्चुरीको  कक्षमा धाउदा धाउदा आर्जित भएको रविनले  बताए । ‘पहुँचको आधारमा छुट पाइने रहेछ, हाम्रो बोल्ने मान्छे पनि छैन, उनले निराश हुँदै भने ।

निर्देशक सेन्चुरीले फेरि सिलवालले ५१ हजार तिर्न नसक्ने भनेर भिसीलाई पत्र पठाए पनि कुनै सुनावाइ नभएको रविनले बताए ।

‘बुवा घरबाट हिँडेर आएपनि उपचारको क्रममा भेन्टीलेटरमा राख्नुप-यो, बुवाको बाँच्ने आश मारेका थियौ, अहिले मान्छे चिन्न सक्ने भएपनि उपचार खर्च जुटाउन नसक्दा समस्या भयो,’ उनले भने ।

उपचारको क्रममा आर्थिक अवस्था कमजोर भएर समस्यामा परेकालाई १० हजार भन्दाबढी छुट दिने अधिकार आफूमा नभएकाले भिसीकोमा सिलवाललाई पठाएको निर्देशक सेन्चुरीले बताए ।

गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च छुट दिन आग्रह गरी पत्र पठाएको र उनीहरुको अवस्था देखेर आफूले अहिले फेरि उपचार खर्च कटौती गरिदिन पत्रमार्फत भीसीलाई आग्रह गरेको उनले बताए ।

सरकारी अस्पताल भनेर उपचार खर्च जुटाउन सक्नेभएपनि छुट चाहियो भन्दै आउनेको संख्या बढि भएको उनले स्वीकारे ।  अन्य अस्पतालको तुलनामा वीर अस्पतालमा बिरामीहरुले छुट पाउने गरेको सेन्चुरीले बताए ।

भिसीकोमा पत्र त पुगेको छ तर छुट पाउने नपाउनेमा परिवार ढुक्क छैन । उसमाथि अघि नै ठूलो रकम खर्च भइसकेकाले आर्थिक बोझ त छँदैछ ।

यस विषयमा टेलिफोनबाट उपकुलपति साहको प्रतिक्रिया लिन खोज्दा उनले टेलिफोनमा कुनै पनि प्रतिक्रिया नदिने बताउँदै भेटेर मात्र कुरा गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप