बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीले उब्जाएको प्रश्न : केन्द्रमा ओलीसँग कति सांसद छन् ?

राजनीति विश्लेषक भन्छन्, ओलीलाई अब महँगो पर्न सक्छ
शुक्रबार, ०३ वैशाख २०७८, १८ : ३४
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा बहुमत जुटाउन जनता समाजवादी पार्टी(जसपा) का नेता महन्थ ठाकुरसँग सघन सम्वादमा छन् । आफूसँग १२० सांसद रहेका र जसपाका १७/१८ जना सांसदले सघाएमा बहुमत जुटाउन सकिने प्रधानमन्त्री ओलीको हिसाब छ । तर, उनको यो हिसाबमा कर्णाली प्रदेशले झट्का लगाइदिएको छ ।

 

कर्णाली प्रदेशमा माओवादी नेता महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेका थिए । शाहीको पक्षमा काँग्रेस र माओवादी मिल्दा पनि बहुमत जुट्ने अवस्था थिएन । शुक्रबार प्रदेशसभामा भएको मतदानमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए ।

तर, माधव नेपाल पक्षका चारजना एमाले सांसदले ओली पक्षको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर शाही सरकारलाई जोगाइदिएका छन् ।

 

एमालेभित्र बढ्दो अन्तरविरोधका कारण माधव–झलनाथ पक्षका सांसदहरुले अरु प्रदेश र केन्द्र सरकारको हकमा पनि केपी ओली पक्षलाई मतदान नगर्ने स्पष्ट सन्देश कर्णालीले दिएको छ । यही नजिर अब प्रधानमन्त्री ओलीको हकमा समेत लाग्ने देखिएको छ । त्यो अवस्थामा केपी ओलीले सिंगै जसपाको साथ लिँदा पनि बहुमत नजुटाउने सम्भावना बढेको छ ।

एमालेसँग प्रतिनिधि सभामा १२० सांसद रहेपनि माधव–झलनाथ पक्षमा करिव ३८ जना सांसद रहेका छन् । यस्तो अवस्थामा फ्लोर क्रस गरेको खण्डमा ओलीको पक्षमा ८२ हाराहारीमा मात्रै बच्न सक्ने देखिएको छ ।

 

उता, गण्डकी प्रदेशमा पनि एमालेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । त्यहाँ पनि माधव नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गर्ने सम्भावना बढेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षीहरुले हस्ताक्षर अभियान चलाइसकेका छन् । र, त्यहाँ पनि एमालेले फ्लोर क्रस गर्ने देखिएको छ ।

यसैबीच नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङले कर्णालीमा आफ्नो पार्टीका सांसदहरुले ह्वीप उलंघन गरेर फ्लोर क्रस गर्नु अराजनीतिक र गलत भएको टिप्पणी गरेका छन् ।

रातोपाटीसँग संक्षिप्त कुरा गर्दै भने, ‘कर्णालीमा हाम्रो पार्टीका केही सांसदहरुले फ्लोर क्रस गरेका छन् । यो अराजनीतिक, अनैतिक र गलत हो ।’

नेपाली राजनीतिमा कर्णाली घटनाले के संकेत गर्छ ? भन्ने प्रश्नमा नेता नेम्वाङले राजनीतिक पार्टी र तिनका नेता कार्यकर्ताहरुले यस्ता कुराहरुलाई भरसक विस्तार हुन दिने छैनन् भन्नेमा आफु विश्वस्त रहेको बताए ।

 

फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले तत्काल कारवाही गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको पनि नेता नेम्वाङले बताए ।

‘अरु धेरै कुराहरुमा म लचिलो ढंगले प्रस्तुत हुने मान्छे हो । अलिक उदार हुनुपर्छ भन्ने हो । तर यो यस्तो. विषय हो इफ, बट हुदैन । सवै हिसावले यसस घटनालाई भत्र्सना गर्नुपर्छ’, नेम्वाङको भनाइ छ ।

त्यस्तै एमाले प्रवक्ता समेत रहेका नेता प्रदीप ज्ञवालीले कर्णालीमा फ्लोर क्रसलाई अराजकताको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘कर्णालीमा भएको अराजकता क्षम्य छैन । फ्लोर क्रस गर्नेमाथि कारवाही हुन्छ ।’

वाम विश्लेषक हरि रोक्का कर्णाली प्रकरणपछि नेपालको राजनीति प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोचेजस्तो मात्रै नहुने संकेतका रुपमा विश्लेषण गर्छन् ।

‘नेपालको राजनीतिमा प्रधानमन्त्री अ‍ोलीले जे सोच्यो त्यो मात्रै हुन्छ र सेटिङबाटै सवै चलाउँछु भनेर व्यवहार देखाएका थिए, त्यो असफल हुन्छ भन्ने कुरालाई पुष्टि गर्छ र ओलीजीलाई अव धेरै महंगो पर्न सक्छ’, रोक्काले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप