शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डा. गोविन्द केसी आकस्मिक कक्षमा भर्ना

बिहीबार, २१ असार २०७५, ०९ : ०४
बिहीबार, २१ असार २०७५

सुर्खेत - स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ । 

पाँच दिनदेखि जुम्लामा अनशनरत डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लाको आकस्मिक कक्षमा बुधबार साँझ भर्ना गरिएको हो । स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेपछि एम्बुलेन्सबाट केसीलाई अस्पताल पु¥याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिए । 

“अनशनस्थल नै जोखिमपूर्ण भएको र उनको समस्या बल्झिन थालेपछि हामी अस्पताल लैजान बाध्य भयौँ,” डाइरेक्टर रोकायाले भने । डा केसीलाई अस्पताल पु¥याएसँगै सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले उनीसँग भेट गरेका थिए । 

स्वास्थ्यजस्तो संवेदनशील कुरामा ध्यान दिएर डा केसीको उपचारका लागि कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी बुढ्थापाले बताए । 

डा विनोद अर्यालले एक्कासि डा केसीको मिर्गौला र छातीमा समस्या आएपछि अस्पताल लैजानुको विकल्प नरहेको जानकारी दिए । 

डा अर्यालले भने, “निषेधाज्ञालाई तोडेर भएपनि उपचारार्थ डा केसीलाई प्रतिष्ठानमा पु¥याएका छौँ, आशा गरौँ स्वास्थ्यमा सुधार आउला ।” उनका अनुसार चिकित्सकको निरन्तर प्रयासले मात्र अस्पताल लान सम्भव भएको हो । नत्र डा केसीको जीवन झनै खतरायुक्त बन्दै जाने अवस्था रहेको उनको भनाइ थियो । 

उनलाई सघन उपचार कक्षमा राखिएको प्रतिष्ठानले जनाएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसीले विभिन्न व्यवधानको बीच जुम्लाको विद्युत् लगायत कुनै सेवा नभएको कभर्डहलमा १५ औँ पटकको अनशन शनिबारदेखि शुरु गरेका थिए । 

आइतबारदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि सरकारले मागको सुनुवाइ नगरुञ्जेल अनशन नतोड्ने अडान डा. केसीले राख्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप