कालापानी क्षेत्रमा यसरी बढ्दैछ भारतीय सैनिकको गतिविधि
दार्चुला – भारतले त्रिदेशीय सिमाक्षेत्र दार्चुलाको कालापानी क्षेत्रमा आफ्नो सैनिक गतिविधि बढाएको छ । पछिल्लो केही दिनयता भारतीय सेनाले विवादास्पद कालापानीमा सैनिक गतिविधि बढाएपछि सर्बसाधारणमा त्रास फैलिएको छ । चीनले विवादास्पद कालापानी र कस्मिरमा चिनियाँ सैनिकको उपस्थिती बढाउनेबारे चर्चा भइरहेका वेला भारतीय पक्षले आफ्नो उपस्थिती र सक्रियता बढाएको हो ।
अहिले भारतको धारचुलामा रहेको गार्खा रेजिमेण्टको ब्यारेकबाट भारतीय सेनाको हेलिकोप्टरबाट दैनिकजसो सैनिक ओसार्ने गरेको स्रोतको भनाई छ । सो क्षेत्रमा पछिल्ला दिनमा अस्भाविक गतिविधि हुन थालेको स्थानीय पत्रकार नरेन्द्र कार्कीले बताए ।
भारतीय दैनिक पत्रिका नव भारत टाईम्सले पनि डोकलाम विवादपछि भारतले चीनसंग जोडिएका क्षेत्रमा सैनिकको संख्या बढाएको पुष्टि गरेको छ । डोकलाम विवाद उत्कर्षमा पुगिरहेका बेला चिनियाँ सैनिकको आक्रामक गतिविधिलाई मध्यनजर गर्दै भारतले एक हजार चार सय किलोमिटर लामो चीनभारत सिमा क्षेत्रमा सैनिकको संख्या बढाएको हो ।
सामरिक महत्वको सो क्षेत्रमा सन १९६२ मा चीन र भारतबीच युद्ध भएको थियो । सो युद्धमा भारतले ठूलो क्षती समेत बेहोरेको थियो । कालापानी क्षेत्रमा भारतीय सेनाका अतिरिक्त ईण्डिया तिब्बत बोर्डर पुलिस आईटीबीपिको पनि ठूलो संख्यामा तैनाथी छ ।
नेपाली पक्षबाट बिभिन्न समयमा ‘कालापानी छोड’ जस्ता अभियान र चर्का नारा जुलुस प्रदर्शन भएपनि राज्यले कुटनीतिक रुपमा ठोस पहल गर्न नसक्दा अहिले बिस्तारबादी सोच भएको भारत नेपाली भुमिप्रति आखाँ गाड्दै गएको स्थानीयको भनाई छ ।