शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् ५ नम्बर प्रदेश प्रमुखमा सिफारिस सिरहाका यादव ?

सोमबार, १८ कात्तिक २०७६, १८ : ००
सोमबार, १८ कात्तिक २०७६

सिरहा – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रदेश नं. ५ को प्रमुखमा सिरहाका धर्मनाथ यादवको नाम सिफारिस गरेको छ । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका यादव यस क्षेत्रका इमान्दार नेताको रुपमा चिनिन्छन् । २००० सालमा सिरहाको सुखिपुर नगरपालीका– ६ खरही टोलमा जन्मेका यादवले सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका थिए । उनले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् ।

विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएको जनाए । उनले भने, ‘पार्टीको सदस्यता लिएदेखि निरन्तर रुपमा कम्युनिष्ट पार्टीमै सक्रिय छु । मेरो प्रदेश प्रमुख सिफासिरले जनतामा राजनीति प्रतिको आस्था पुनः जागेको छ ।’

यादव २०३७ सालमा ३ महिना जेल परेका थिए । सरकारी कामकाजमा आँच पुर्याउने गतिविधि गरेको आरोपमा उनलाई जेल हालेको बताए । त्यसपछि पनि उनी शिक्षण पेसासँगै राजनीतिमा सक्रिय रहेका भए । २०४६ सालमा प्रजातन्त्रको पुनर्वहालीपछि उनी २०४८ को आम निर्वाचनमा शिक्षण पेशाबाट राजीनामा दिई चुनावमा उम्मेद्वारी दिएका थिए । त्यसपछि पनि ७६ वर्षीय यादवले ५१ को मध्यावधी निर्वाचनमा भाग लिए पनि पराजीत भएका थिए ।

राजनीतिमा लागेर सम्पती र जागीर गुमाए पनि उनी राजनीतिप्रति इमान्दार रहेको समकक्षीहरु बताउँछन् । उनकै समकक्षी रामजी यादवले  उमेर र आर्थिक अवस्था कमजार भए पनि उनी पार्टीप्रति इमान्दार रहेको बताए ।

उनले भने, ‘पार्टी राजनीतिकै कारण उहाँँले छोरा–छोरीलाई राम्रो शिक्षा दिन पाउनु भएन । जागिर छोड्नु भयो । भएको सम्पती वेचे, तर पनि उहाँको पार्टीप्रतिको आस्था र निरन्तरता बेजोडको छ ।’

यादव आफैले भने पार्टीले प्रदेश प्रमुख जस्तो गरिमामय पदमा आफ्नो नाम सिफारिस गरेर उचित मूल्याङ्कन गरेको बताए । उनले भने, ‘मैले रानीतिमा लागेर नाम कमाएँ तर आफ्नै जग्गा जमिन र भएको जागिर छोडे, तर आज पार्टीले सहि समयमा मूल्यङ्कन गरेको महसुस भएको छु ।’

आज सोमबार विहानसम्म कुनै जानकारी नभएका यादव गाउँमै थिए । विहान १० बजेको आसपास केही नेताहरुले प्रदेश प्रमुखको नाममा छलफल भएको सूनाएपछि मात्र आफ्नो नाम सिफारिस भएको सुचना पाएको यादवले बताए ।

गाउँमा रहेका यादव सूचना पाएपछि गोलबजार आएका थिए । गोलबजारमा केही वेर वसेपछि उनी पार्टीका नेताहरुले काठमाडौं बोलाएको भन्दै आजै काठमाडौं हिडेका छन् ।
प्रदेश प्रमुखमा सिफारिस भएसँगै उनलाई आफन्त, नेता तथा कार्यकर्ताबाट फोनमार्फत बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप