शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियामा अलपत्र नेपाली भन्छन्– ‘प्लेन चार्टर र क्वारेन्टाइन खर्च तिर्न तयार छौँ, हाम्रो उद्धार होस्’

सोमबार, १२ जेठ २०७७, १६ : ३०
सोमबार, १२ जेठ २०७७

कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउन र विमानस्थल बन्दले भिसा सकिएर स्वदेश फर्कने तयारी गरेका नेपाली पनि प्रभावित बनेका छन् । 

ईपीएस रोजगार प्रणालीमार्फत दक्षिण कोरिया पुगेका नेपाली कामदार भिसा सकिएपछि स्वदेश फर्कन नपाउँदा अलपत्र परेका छन् । 

दक्षिण कोरियामा भिसा सकिएर नेपाल फर्किन नपाएका ३५ सयभन्दा बढी कामदार रहेको ईपीएस प्रणालीबाट ५ वर्षअघि त्यहाँ पुगेका सुवास ढकालले रातोपाटीलाई जानकारी दिए । 

कोरियाको राजधानी सियोलमा रहेको नेपाली राजदूतावासमा हरेक दिन नेपाली कामदार राहत वा उद्धारका लागि जाने गरेका छन् । 

आइतबार पनि भिसा अवधि सकिएर नेपाल फर्किन बाटो हेरेर बसेका एक समूहले दूतावासमा ज्ञापनपत्र बुझाएको छ । तर दूतावासका कार्यवाहक राजदूत रामसिंह थापाले अहिले दूतावासले केही गर्न नसक्ने भन्दै एनआरएनका प्रतिनिधिलाई भेट्न भनेको अर्का कामदार नवराज बस्ताकोटीले बताए । 

बस्ताकोटीले भने– ‘भिसा सकिएर यहाँ अलपत्र पर्ने धेरै छौँ, हामी तीस  चालीस जना गएर उद्धारका लागि ज्ञापन पत्र बुझायौँ तर कार्यवाहक राजदूत एनआरएनलाई देखाउँछन् ।   एनआरएनलाई गुनासो सुनाउँदा दूतावास जाऊ भन्छन् ।’

ईपीएस प्रणालीबाट जाने कामदारलाई दक्षिण कोरियाले ४ वर्ष १० महिनाको मात्र भिसा दिने र त्यसपछि स्वदेश फर्कनुपर्ने व्यवस्था रहेको उनीहरुले बताए । 
भिसा सकिएकाले अहिले कम्पनीले काम दिएको छैन भने आफ्नै खर्चमा खाने बस्ने व्यवस्था गर्नुपरेको उनीहरुले बताए । 

कोरियामा खान बस्न महँगो परेकोले पैसा पनि सकिन लागेको र दूतावासले उद्धारका लागि कुनै पहल नगरेको उनीहरुको गुनासो छ । 

दूतावासले समस्या हुने, पैसा सकिएकाले दूतावासमा निवेदन दिनु भने पनि पैसा सकिएकाहरु रेल चढेर निवेदन दिन सिओलसम्म पुग्न पनि समस्या रहेको बस्ताकोटीले बताए । 

दूतावासले एनआरएनमार्फत सहयोग गर्ने बताए पनि बस्नका लागि सामूहिक सेल्टरको व्यवस्था गरेको तर खानाको पैसाको तिर्नुपर्ने व्यवस्था गरेको छ । दुई छाक खानाको नेपाली रुपैयाँ ८ सय तिर्नुपर्ने उनले बताए ।

यस्तो छ कोरियामा कामदारहरुको अवस्था 
दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप केही कम भएको छ । कतिपय कम्पनीहरुले  कामदारलाई बेतलबी बिदा दिएको छ भने कसैलाई १ हप्ताको फरकमा काम गर्न दिएको छ ।  

कोरोनाका कारण मानिसहरु आवश्यक कामबाहेक बाहिर निस्कँदैनन् । लकडाउन गरिएको छैन भने स्कुलहरु खुलिसकेका छन् । कम्पनीभित्रै बसेर गर्ने काम हुनेहरुले धमाधाम काम पनि गरिरहेका छन् । 

भिसा सकिएका कामदारका त्यहाँको राहदानी विभागले १ महिने  शरणार्थी भिसा जारी गर्ने गरेको छ । जुन भिसाले काम गर्न नपाए पनि आफ्नै खर्चमा कोरियामा बस्न सहज हुन्छ ।

ईपीएसबाट कोरिया जाने कामदारको भिसाको अवधि ५ वर्ष पुग्यो भने उनीहरुले ग्रिन कार्डका लागि दाबी गर्न पाउने व्यवस्था भएका कारण ४ वर्ष १० महिना अवधिको भिसा दिने र त्यसपछि उनीहरुलाई शरणार्थी भिसा दिने गरेको छ । 

भिसा सकिनेहरुले काम गर्न पनि नपाउने, तलबको पैसा पनि घर पठाइसकेकाले धेरै नेपाली तनावमा रहेको उनीहरुको भनाइ छ ।

ईपीएस प्रक्रियाबाट १६ देशका नागरिक कोरिया पुगेका छन् । कोरोना सङ्कटपछि सबै देशका कामदारको अवस्था उस्तै रहेको उनको भनाइ छ ।

काभ्रेका सुवास ढकाल नेपाल आउने तयारी गर्दागर्दै नेपालमा लकडाउन भई विमानस्थल बन्द भयो । 

भिसा सकिएपछि उनी ४० दिनदेखि खानेबस्ने आफ्नै खर्चमा कोरिया बसिरहेका छन् । 

खान बस्न १ महिनाको ५५ हजार नेपाली रुपैयाँ  खर्च हुने, बाहिर गएर खायो भने ८५ हजारसम्म लाग्ने उनले बताए । 

कार्यवाहक राजदूतले रामसिंह थापाले सुरुमा बेखर्चीलाई दूतावासमा निवेदन दिन भने पनि अहिले केही गर्न सक्दिनँ भन्ने गरेको र फोन पनि काट्ने गरेको उनले बताए । 

उनले भने– ‘कार्यबाहक राजदूतलाई समस्या परेर फोन ग¥यो भने फोन काटिदिन्छन् । दूतावासका कर्मचारीलाई फोन गर्दा समाचार हेर्दै गर्नू, हामीलाई थाहा हुने पनि समाचारबाटै हो, उताबाट केही आयो भने तपाईंहरुलाई नै पहिला थाहा हुन्छ भन्छन् ।’ 

कञ्चनपुरका पवन प्रकाश जोशी दक्षिण कोरियामा काम गरेका ५ वर्ष पुगिसक्यो । भिसा सकिएपछि दुई महिना बेरोजगार भई आफ्नै खर्चमा कोरिया बसेको उनले सुनाए ।  

उनलाई कम्पनीको साहुले बस्ने व्यवस्था त गरिदिएको छ तर बसेको पनि भाडा तिर्नुपर्छ । खाना र कोठा भाडा गरेर महिनामा ५० हजार हाराहारी पर्ने उनले बताए । उनले नेपालमा परिवार पनि आत्तिएका र नेपालबाट कोरियामा पैसा पठाउन सक्ने अवस्था पनि नरहेको उनले बताए ।  

काभ्रेको देउपुरका नवराज बस्ताकोटीको पनि भिसा सकिएको  छ । अहिले उनी महिनाको ५० हजार खर्च गरेर कोरियामा बसिरहेका छन् । सरकारले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन डाटा सङ्कलन गर्न सरकारले निर्देशन दिए पनि कति घर जान चाहन्छन्, को कामदार कुन अवस्थामा छ भनेर दूतावासले कुनै चासो नलिएको उनले बताए । 

कोरोना परीक्षण गरेर जाने व्यवस्था होस्, क्वारेन्टाइनको खर्च तिर्छाै
अहिले भिसा सकिएर कोरियामा बसिरहेका कामदारले हेल्थ इन्स्योरेन्स बापतको मासिक ८ हजार रुपैयाँ तिरिरहेका छन् । जुन पैसा उनीहरुलाई फिर्ता हुँदैन । 

महँगो खर्चमा कोरियामा अलपत्र परेर बस्नुभन्दा कोरोना परीक्षण गरेर भिसा सकिएका कामदारलाई सरकारले उद्धार गर्नुपर्ने उनीहरुको माग छ । चार्टर विमानको खर्च र नेपालमा गएपछि आफ्नै खर्चमा क्वारेन्टाइजमा बस्न तयार रहेको उनीहरुले बताएका छन् । 

नवराज बस्ताकोटीले भने– ‘यहाँ बस्दा जति खर्च हुन्छ, त्यो हामी नेपालको क्वारेन्टाइनमा बसेर खर्च गर्न तयार छौँ । यहाँ कोरोना परीक्षण गरेर स्वस्थ रहेको प्रमाणपत्र लिएकालाई मात्रै उद्धार गरियोस् । सरकराले हामीलाई बाटो खोलिदिनुप¥यो । सुन्ने मात्रै गर्नुभयो । सदासायता केही देखाउनुभएन ।’

कोरियामा समस्यामा परेका कामदारको दूतावासम्म पुग्ने अवस्था नभएको उनले बताए । दूतावासले कहाँ कुन अवस्थामा नेपाली कामदार छन्, त्यसमा चासो नदिएकोमा उनको गुनासो छ । 

अर्का कामदार पवन प्रकाश जोशीले भने– ‘दूतावासले खान बस्न पनि समस्या भएकालाई नेपाल पठाउने व्यवस्था गर्नुप¥यो ।  यहाँ त कस्तो भयो भने दूतावासमा समस्या सुनाउँदा एनआरएनलाई भन्नु भन्छन् ।

नआरअएनले दूतावासलाई देखाउँछ । पैसा सकिएको अवस्था छ । २ महिना पुग्दा पनि केही निकास निकालेको छैन । फेरि कोरियामा रहेका नेपालीमा कोरोना सङ्क्रमण जिरो छ । लकडाउन मात्र कोरोना सङ्क्रमणको रोकथाम हैन भन्ने कोरियाले देखाएको छ ।’

उनीहरुले विदेशमा रहेका नेपालीको उद्धार गर्न सर्वोच्च अदालतले दिएको निर्देशन सरकारलाई कार्यान्वयन गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप