शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न

शनिबार, ३० जेठ २०८३, २० : ३३
शनिबार, ३० जेठ २०८३

काठमाडौँ । युलेन्स स्कुलले सन् २०२६ शैक्षिक सत्रमा आवद्ध विद्यार्थीहरूको उपलब्धि, समर्पण र भविष्यप्रतिको आकांक्षालाई सम्मान गर्दै दीक्षान्त समारोह आयोजना गरेको छ ।

कक्षा १२ तथा इन्टरनेशनल ब्याकलोरियट डिप्लोमा प्रोग्रामका विद्यार्थीहरू, विशिष्ट अतिथिहरू, शिक्षकहरू तथा अभिभावकहरूको उपस्थितिमा सम्पन्न उक्त समारोहले विद्यार्थीको शैक्षिक यात्राको महत्त्वपूर्ण उपलब्धिलाई उत्सवका रूपमा मनाएको थियो । 

सन् २००६ मा स्थापना भएको युलेन्स स्कुल आज नेपालकै अग्रणी शैक्षिक संस्थाहरुमध्ये एकका रूपमा स्थापित भएको छ । हाल विद्यालयमा १८ विभिन्न राष्ट्रियता तथा २० भन्दा बढी जातीय समुदायका एक हजार चार सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले शैक्षिक उत्कृष्टतासँगै सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको छ ।

दीक्षान्त समारोह कार्यक्रममा विद्यालयकी प्रिन्सिपल एकता सिंह राणाले स्वागत मन्तव्य दिँदै विद्यालयसँगको आफ्नो दुई दशक लामो यात्राको स्मरण गरिन् र विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको संयुक्त प्रयास र समर्पणको प्रशंसा गर्दै दीक्षित विद्यार्थीहरूलाई जीवनका चुनौतीसँग सामना गर्दै अगाडि बढ्न प्रेरित गर्दै उज्ज्वल भविष्यको लागि शुभकामना दिइन् ।

कार्यक्रममा युलेन्स एजुकेशन फाउन्डेशनका ट्रष्टी डा. मनीष थापाले विशेष सम्बोधन गर्दै प्रमुख वक्ता डा. चक्रराज पाण्डेको परिचय गराएका थिए । डा. पाण्डेले विद्यार्थीहरूलाई जीवनभर सिकिरहन, अर्थपूर्ण नेतृत्व गर्न तथा समाजमा सकारात्मक योगदान पुर्‍याउन प्रेरणा दिए । समारोहको प्रमुख आकर्षणका रूपमा विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस वर्ष राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ का ५६ जना तथा आइबीडीपीअन्तर्गत १३४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । दीक्षान्त समारोह कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा. भोला थापा तथा प्रिन्सिपल एकता सिंह राणालगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा सम्मान गरिएको थियो । 

कक्षा १२ तथा आइबीडीपीका विद्यार्थी प्रतिनिधिहरूले मन्तव्य प्रस्तुत गर्दै विद्यालय जीवनका अनुभव, मित्रता, चुनौतीहरू र भविष्यका सपनाहरू साझा गरेका थिए । कार्यक्रमको समापन मन्तव्य दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा। भोला थापाले दीक्षित विद्यार्थीहरूलाई बधाई ज्ञापन दिदै जीवनमा इमानदारी, सहानुभूति र दृढताका साथ अघि बढ्न प्रेरित गरेका थिए ।

समारोहको अन्त्य परम्परागत ‘ह्याट थ्रोइङ’ कार्यक्रमसँगै गरिएको थियो, जसले विद्यार्थीहरूमा नयाँ सुरुवात र उज्ज्वल भविष्यको प्रतीकका रूपमा उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो । युलेन्स स्कुलले सम्पूर्ण दीक्षित विद्यार्थीलाई बधाई ज्ञापन गर्दै उनीहरूको आगामी यात्राका लागि सफलताको शुभकामना व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप